दक्षिण अफ्रिकी महिलाले १० सन्तान जन्माएको खबर असत्य

काठमाडाैँ । दक्षिण अफ्रिकाकी एक जना महिलाले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको एउटा आधिकारिक अनुसन्धानले पत्ता लगाएको छ । खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको हो ।

स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको देखाएको थियो । ती ३७ वर्षिया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने भनिएको छ । विज्ञप्तिमा झुट्टा समाचार दिनुको कारणबारे भने खुलाइएको छैन ।

प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो । आफ्नो समाचार सही रहेको उसले यसअघि बताएको थियो । उक्त अनलाइनले सिथोलेले जुन ७ मा स्टिभ बिको एकेडेमिक हस्पिटलमा उनले बच्चा जन्माएको उल्लेख गरेको थियो ।

प्रिटोरियाका स्वास्थ्यकर्मीहरूको तयारी कमजोर रहेको भन्दै उसले अस्पताल र स्वास्थ्य अधिकारीहरूले आफ्नो लापरबाही ढाक्न खोजेको उल्लेख गरेको थियो । पछिल्लो विज्ञप्तिमा भनिएको छ, ‘यी आरोपहरू झुट्टा, अप्रमाणित र स्टिभ बिको एकेडेमिक हस्पिटलको राम्रो छवि धमिल्याउने उद्देश्यले आएका हुन् ।’ प्रिटोरिया न्यूजका सम्पादक पिट रामपेडी र आइओएल अनलाईनविरूद्ध कानुनी कारबाही गरिने पनि विज्ञप्तिमा भनिएको छ । –बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *