विपक्षी गठबन्धनको बैठक शुरु

काठमाडौं । सरकारविरुद्ध मोर्चाबन्दी बनेर लडिरहेको विपक्षी गठबन्धनको बैठक शुरु भएको छ । बैठक साँझ ५ बजेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शुरु भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । बैठकले थप रणनीति बनाउने पौडेलको भनाइ छ । ‘बैठकले थप रणनीति बनाउनेछ,’ पौडेलले भनिन्— ‘पछिल्लो समय विकसित राजनीतिक परिवेशका बारेमा छलफल हुँदैछ ।’

गत सोमबार पनि गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकले प्रधानमन्त्री ओलीलाई दीर्घकालीन असर गर्ने काममा नसघाउन संवैधानिक आयोगहरुलाई आग्रह गर्नेलगायतका निष्कर्ष निकालेको थियो । बैठकमा नेता नेपालले संस्थापन पक्षसँग एकता गर्न नसक्ने बताएका थिए । ओलीसँग मिल्न लाग्नुभएको हो ? भन्ने नेताहरुको प्रश्नमा नेता नेपालले भनेका थिए— ‘संस्थापन पक्षको सर्तमा मिल्न सकिन्न । लगभग एकता कायम रहने सम्भावना सकिएको छ ।’

यसअघि हिजो सर्वोच्च अदालतले महन्थ ठाकुरपक्षीज जसपाका ११ जना मन्त्रीसँगै २० मन्त्रीलाई पदमुक्त गरिदिएको छ । अब यसपछिको राजनीतिक ‘सिनारियो’ कस्तो बन्ने र कस्तो रणनीति अपनाउने भन्नेबारे आजको बैठकमा छलफल भइरहेको छ । एक कांग्रेस नेताले भने— ‘थप रणनीति बनाउन बैठक बसिरहेको हो । पछिल्लो पटक विकसित राजनीतिक परिवेश निको छैन । नेताहरुले यसै विषयमा छलफल गर्दै हुनुहुन्छ ।’

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विपक्षी एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरु सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *