हेलम्बु बाढीबाट १७ सयभन्दा बढी स्थानीय बासिन्दा विस्थापित

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारलाई एक एक लाख रुपैयाँ राहत दिने भएको छ ।

बाढीपहिरोमा परी गाउँपालिकाका एकजनाको ज्यान गएको छ भने १५ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको छ ।

बेपत्ता हुनेमा १० जना पुरुष र ५ जना महिला छन् । बाढी पहिरोमा परी हेलम्बु गाउँपालिका- १ हल्देका ४३ वर्षीय सुनिल तामाङको मृत्यु भएको हो ।

बाढी पहिरोमा परी पूर्ण तामाङ, कामी तामाङ, नोर्की तामाङ, गिता थापा, सुदिप थापा, माधव भण्डारी, गणेश ज्योती, सुरेन्द्र नेपाल, दिलकुमारी खड्का, च्याङग्रा तामाङ, काली तामाङ, भिमप्रसाद भण्डारी, तस्वीर तामाङ, ज्ञानेन्द्र कक्षपती, सिरसानी तामाङ बेपत्ता भएका छन् ।

पूर्णरुपमा विस्थापित भएकाहरुलाई गाउँपालिकाको त्रिपाललगायत राहत सामग्री वितरण गरी व्यवस्थापन भइरहेको पनि गाउँपालिकाले जनाएको छ । बाढीपहिराले पुर्‍याएको क्षतिको विवरण सकंलन भइरहेको छ ।

किउल तिम्बु आङवाथाङ ५ किमी सडक बाढीले बगाएर बगर बनाएको छ । बाढीका कारण थुप्रै बस्तीमा क्षति भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार वडा नम्बर १ स्थित च्युरीखर्क, तिम्बु, हल्दे, आङ्वाथाङ्मा २६ घर बगाएको र १०० घर आशिंक रुपमा क्षति भई १२६ घरका ५९६ जना विस्थापित भएका छन् ।

वडा नम्बर २ स्थित पुरानो चनौटे बजार मुक्तिटार, गणेशबगर, किउलटारमा ४५ घर बगाएको ९७ घर आंशिक क्षति भई १४२ घरपरिवारका ६६० जना विस्थापित भएका छन् ।

साथै सोहि वडाको किउलमा रहेको नवनिर्मित इलाका प्रहरी कार्यलय हेलम्बु बाढीले बगाएको छ ।

यस्तै वडा नम्बर ३ स्थित सेरावेसी, गौरीवेसी, इसिङ, पाल्चोक, तोरीश्वरमा २२ घर बगाएको छ भने २७ घरमा आंशिक क्षति भई ४९ घरपरिवारका १४९ जना विस्थापित भएका छन् ।

यस्तै वडा नम्बर ४ मा ११७ घर आंशिक रुपमा क्षति भएको गाउँपालिकाले जनाएको छ । सोही वडामै रहेको आर्स्ट प्वाइन्ट एकेडेमी विद्यालय बाढीले बगाएको छ । वडा नम्बर ६ स्थित चालिसेमा ८ घर बगाएको र १५ घर आंशिक क्षति भई २३ घरपरिवारका १०८ जना विस्थापित भएका छन् ।

यसैगरी वडा नम्बर ७ स्थित चालिसेमा ९ घर बगाएको र ३९ घर आशिंक रुपमा क्षति भई ४८ घर परिवारका २३३ जना विस्थापित भएका छन् ।

गाउँपालिकामा रहेका ८ वटा ट्राउट माछा फारममा पूर्णरुपमा क्षति भएको छ ।

बाढीले हेलम्बु १ तम्बुमा रहेको मेलम्ची खोलाको पक्की पुल, दङतोम्वा पक्की पुल तथा चोक्पु र मेलम्चिघ्याङ जोड्ने नवनिर्मित पुल बगाएको गाउँपालिकाले जनाएको छ ।

यस्तै वडा नम्बर २ को चनौटे चुरेटार रातोपुल उच्च जोखिममा रहेको छ ।

यस्तै वडा नम्बर १ को च्यामभेदो झुलुङ्गेपुल, वडा नम्बर ४ र ३ जोड्ने ग्लाथुङ तोरिधारा झोलुङ्गेपुल, वडा नम्बर १ र ६ जोड्ने चालिसे च्युरीखर्क झोलुङ्गेपुल, वडा नम्बर २ र ६ जोड्ने थापाटार झोलुङ्गेपुल, वडा नम्बर ३ र ४ जोड्ने सेराकुडुले झोलुङ्गेपुल बाढीले बगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *