अस्मिता मृत्यु प्रकरण : न्याय माग्दै स्थानीय सडकमा

धनगढी । डडेल्धुराको एक जंगलमा मृत फेला परेकी स्वास्थ्य केन्द्रमा कार्यरत महिलाको न्यायका लागि स्थानीय आन्दोलित बनेका छन् ।

जिल्लाको परशुराम नगरपालिकाका—८ स्थित जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीका लागि न्याय माग्दै स्थानीय सडकमा आएका छन् । उनीहरुले धामीको हत्या भएको र त्यसमा संलग्नलाई कारबाहीको माग गर्दै जोगबुढाको लाढुङ्गा बजारमा प्रदर्शन गरेका हुन् ।

आन्दोलनकारीले ‘धामीलाई न्याय दे, घटनाको सत्य तथ्य छानबिन गर, महिला हिंसा अन्त्य गर, धामीको बलात्कार गरी हत्या गर्नेलाई फाँसी दे, स्थानीय सरकार कान खोल’ लगायतका नारा लगाएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । मृतक महिलाको शरीरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो देखिएकाले हत्या गरेको स्थानीयको दाबी छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको छ ।

असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको हो । धामीको शवको पोस्टमार्टम तीन दिनपछि जोगबुढा अस्पतालमा भइरहेको छ । रिपोर्ट आउन बाँकी छ ।

नगरपालिकालाई ६ बुँदे ज्ञापनपत्र
मृतक धामीको न्यायको लागि माग गर्दै स्थानीयलेृ परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरुले हत्याराको सत्य तथ्य र निश्पक्ष छानबिन गर्न तथा हदैसम्मको कारबाहीका लागि सम्बद्ध पक्ष समक्ष पहल कदमी गर्नुपर्ने, पीडित परिवारलाई उचित राहतको व्यवस्था गरिनुपर्ने, पीडित परिवारको एक जना व्यक्तिलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने माग आफन्तले राखेका छन् ।

यस्तै जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम परिवर्तन गरी अस्मिता स्मृति आधारभूत स्वास्थ्य केन्द्र नामाकरण गरिनुपर्ने, पीडितको बालबालिकाहरूलाई मावि तहसम्म प्रतिबालबालिका मासिक एक हजारका दरले छात्रवृत्तिको ग्यारेन्टी गरिनुका साथै उच्च शिक्षा निःशुल्क अध्ययनको ग्यारेन्टी गरिनुपर्ने, कोभिडसम्बन्धी स्वास्थ्य बिमा उपलब्ध गराउन नगरपालिकाले पहल गर्नुपर्ने माग पनि आफन्तले राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *