पर्यटनमन्त्री उमाशंकरद्वारा राममन्दिर पुनःनिर्माणको शिलान्यास

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले भूकम्पबाट क्षतिग्रस्त पशुपति क्षेत्रस्थित राम मन्दिर परिषरको शिलान्यास गरेका छन् ।

आइतबार पशुपति विकास कोषअन्तर्गत रहेको राम मन्दिर परिषर पुग्दै नवनियुक्त मन्त्री उमाशंकरले मन्दिरको शिलान्यास गरेका हुन् ।

मन्त्रीसँगै शिलान्यास कार्यक्रममा विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, पूर्व मुख्य सचिव तथा पूर्वराजदूत लिलामणि पौडेल, तारा गाउँ विकास समितिका कार्यकारी निर्देशक झपिन्द्र ज्ञवालीलगायतको उपस्थिति थियो ।

पशुपतिनाथको दर्शन लगत्तै राम मन्दिर पुगेका मन्त्रि उमाशंकरले धार्मिक विधि विधानअनुसार शिलान्यास गरेका थिए । त्यस क्रममा भागवत सन्यास आश्रम एवं गुरुकुलका बटुकहरुले मन्त्रोच्चारण गर्दै शिलान्यास सम्पन्न भएको थियो ।

राममन्दिर परिषरको पुनःनिर्माणको जिम्मा पशुपति विकास कोषले भागवत सन्यास आश्रम एवं गुरुकुललाई दिएको छ । विकास कोषको समन्वय तथा निर्देशनमा बन्ने मन्दिरको पुनःनिर्माणको काम करिब ७ करोड लागतमा सम्पन्न हुने बताएको छ । भागवत संन्यास आश्रम एवं गुरुकुलका स्वामी भागवतानन्द गिरिले मन्दिर आफ्ना भक्तजन तथा दाताहरुको सहयोगमा निर्माण गर्न लागेका हुन् ।

मन्त्री उमाशंकरले भूकम्पपछिको निर्माणमा सरकार एक्लैले मात्र नभएर सरोकारवाला निकाय संलग्न हुनु सह्रानीय कार्य भएको बताए ।

मन्त्री उमाशंकराले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताउँदै समयमै निर्माण कार्य सम्पन्न गर्नसमेत निर्देशन दिएका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै कोषका सदस्य सचिव ढकालले भागवत सन्यास आश्रमको संलग्नतामा मन्दिर निर्माण सम्पन्न हुने भन्दै मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा पुनःनिर्माण हुने बताए ।

‘मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार, परम्परागत शैलीमा बन्नेछ । विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन हुने छैन ।’ सदस्य सचिव ढकालले भने ।

७२ सालको भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनःनिर्माणको काम नहुँदा दैनिकी दर्शन गर्ने भक्तहरुले दर्शन गर्न पाएका थिएनन् । भूकम्पबाट क्षतिग्रस्त भएसँगै मन्दिरको दर्शन कार्यमा दर्शनार्थीले असुविधा भोग्दै आएको बताउँदै आएका थिए । त्यस्तै शिवरात्रीका अवसरमा भारतबाट आउने साधुसन्तले बसोबास गर्न समस्या भएको थियो । पुनःनिर्माणपछि अभ्यागतहरुले सो समस्याबाट छुटकारा पाउने बताइएको छ ।

पछिल्लो समय मन्दिर प्राङ्गणमा लागुऔषध, गाजा व्यापार कार्य बढ्दै गएपछि पशुपति विकास कोषले त्यस क्षेत्रमा कडाइ गर्दै केही बाबाहरुलाई रंगेहात समेत समाएको थियो ।

पुनःनिर्माणपछि त्यस्ता गतिविधिपूर्ण कार्य बन्द हुने र मन्दिर परिषरलाई ज्ञान, विज्ञान र आत्म चिन्तन गर्ने स्थलका रुपमा विकास गर्ने योजना रहेको वैरागी अखडाका महन्त लक्ष्मण दास बैरागीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *