कस्तो हुन्छ अबको निषेधाज्ञा ?

काठमाडौं । गत वैशाख १६ गतेयता गरिएको निषेधाज्ञा अझैसम्म खुलेको छैन । भावी जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा जारी निषेधाज्ञा अझैसम्म खुलेको छैन । उपत्यकाभित्रका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा निर्णय गरी लागू गरेका निषेधाज्ञाको स्वरुप अब भने परिवर्तन हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले मकालु खबरलाई जानकारी दिए । निरौलाकाअनुसार प्रजिअहरुको बैठक आइतबार (आज) साँझ ५ बजे बस्दैछ । उक्त बैठकले अबको निषेधाज्ञाको स्वरुप र नीति तय गर्नेछ । ‘केही न केही परिवर्तन हुन्छ । बैठकपछि थाहा पाइन्छ,’ निरौलाले भनेका छन् ।

विज्ञहरुले यसअघि नै ‘लूजडाउन फर्म्याट’मा आउन प्रजिअहरुलाई सुझाव दिइसकेका छन् । तर, जोखिम नघटेको बताउँदै प्रजिअहरुले उही स्वरुपको निषेधाज्ञा थप्दै आएका छन् । ‘जोखिम नघट्दा हामी पनि उही स्वरुपको निषेधाज्ञा गर्न बाध्य छौँ । अबको निषेधाज्ञा भने केही खुकुलो हुन्छ । यसबारे अहिले पनि छलफलमै छौँ,’ निरौलाले भनेका छन्— ‘उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने कि भन्ने मोटामोटी सरसल्लाह भएको छ । यस विषयमा निष्कर्षमा पुगिसकेको छैनौँ । जोर–विजोर प्रणालीमा चल्न दिने कुरा पनि आएको छ । हेरौँ के हुन्छ । यी छलफलरत विषयहरु हुन् ।’

तीन जिल्लाका कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारी साधनलाई चल्न दिनुपर्ने सुझाव दिएको एक अधिकारीले बताएका छन् । यसअघि काठमाडौं डीडीएमसीको बैठक बसेको थियो । डीसीसीएमसीमा सहभागी एक अधिकारीले भने— ‘निजी सवारीलाई चल्न दिने भन्ने सहमति भएको छ । त्यही सुझाव सीडीओसाबहरुलाई दिइएको छ ।’

यसअघि एक साता लम्ब्याउने निर्णय गरेको प्रजिअहरुको बैठकले नै होटल, पसल, पुस्तकालयलगायतका सार्वजनिक स्थलहरु बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको थियो । सोहीअनुसार अहिले यी स्थलहरु खुल्न थालेका छन् । अबको निषेधाज्ञामा भने खाद्यान्न पसलहरु अपराह्न ४ बजेसम्म खोल्न सुझाव डीडीएमसीले दिएको छ ।

तर, प्रजिअहरुले भने गृह मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग पनि परामर्श गरेर मात्रै निर्णय लिनुपर्ने हुनाले निषेधाज्ञाबारे अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताएका छन् । निरौलाले भने— ‘डीडीएमसी, सीसीएमसी, गृह मन्त्रालय सबै सबैको सुझाव र आवश्यक्ताअनुसार निर्णय लिनुपर्ने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *