खोप उपलब्ध नभएको भन्दै पेट्रोल मजदुर आन्दोलनमा

काठमाडौं । कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्ने भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघलगायत मजदुरहरु आन्दोलित हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

मंगलबार पेट्रोलियम पदार्थ ढुवानी नभएको भन्दै अधिकांश पेट्रोल पम्पहरू बन्द गरिएका छन् । पटक–पटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकलगायत मजदुरहरु आन्दोलित भएका हुन् । आइतबारदेखि ढुवानी बन्द गरेका उनीहरुले मंगलबार पनि आयल निगमको थानकोट डिपोमा ट्याङ्कर तेर्स्याएर नाराबाजी गरेका छन् । उनीहरुले छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप दिनुपर्ने आफूहरुको माग रहेको बताए । सम्बन्धीत निकायमा पटक पटक ध्यानाकर्षण गराउदा पनि आफुहरुको माग पूरा नभएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको अखिल नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष शिव पोखरेलले बताए ।

त्यस्तै नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष इश्वर लामाले आइतबारदेखि बरौनी, अमलेखगञ्ज क्षेत्र तथा आन्तरिक ढुवानी रोकिएको बताए । उनले अत्यावश्यक क्षेत्रमा काम गर्ने आफुहरुलाई खोप दिन सरकारले आनाकानी गरिरहेको आरोपसमेत लगाएका छन् । उनले आफूहरुको स्वास्थ्य जोखिममा परेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको धारणा राखे ।

ढुवानीकर्ताको अवरोधका कारण मंगलबार पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको बागमती प्रादेशिक डिपो थानकोटले जनाएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा १७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन् । यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तु तथा सेवा प्रवाह गर्ने व्यवसायीलाई खोप उपलब्ध गराउन माग गर्दै कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *