२४ घण्टा नपुग्दै उल्टियो सांसदलाई निलम्बन गर्ने संसदीय दलको निर्णय

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सोमबार बेलुका ओली पक्षका सात जना सांसदलाई निलम्बन गर्ने निर्णय गर्‍यो । जुन निर्णय समाचारमा पनि छ्यापछ्याप्ती भयो ।

तर, सांसदलाई निलम्बन गर्ने संसदीय दलको निर्णय २४ घण्टा पनि टिक्न पाएन । अहिले भने ओली पक्षका सांसदलाई संसदीय दलको बैठकमा सहभागी हुन नपाउने गरेर मात्रै केही दिनका लागि कारबाही गरिएको कुरा बाहिर ल्याइएको छ ।

एमाले संसदीय दलकी प्रमुख सचेतक दर्गा कामीले सात जना सांसदलाई सांसद नरहने गरेर नभई दलको बैठकमा सहभागी हुन नपाउने गरेर मात्रै निलम्बन गरिएको बताइन् । ‘समाचारमा आएजस्तो होइन,’ उनले भनिन्, ‘बुझाई गलत भएको हो । सांसद पदबाट निलम्बन गरिएको होइन । उहाँहरुको सांसद पद कायमै छ ।’

उनले भविष्यमा संसदीय दलको ह्वीप उल्लंघन गर्दै गए थप कारबाही गर्ने बारेमा निर्णय हुने बताइन् । सोमबारको दलको बैठकले ओली पक्षका प्रदेशसभा सदस्य पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, लीलाधर भट्ट र बलदेव रेग्मीलाई १० दिन तथा नेपालु चौधरी, माया तामाङ बोहरा र ग्याल्बु बोहरालाई सात दिन निलम्बन गरेको थियो ।

पार्टी एकता जोगाउनका निम्ति उक्त निर्णय तत्काल कार्यान्वयन नगरिएको बताइएको छ । प्रदेशसभामा एमालेको माधवकुमार नेपाल पक्षका प्रदेशसभा सदस्यहरूको बहुमत छ । प्रदेशसभामा नेकपा एमालेको सभामुखसहित २५ प्रदेशसभा सदस्यमध्ये १७ जना माधव नेपाल र सात जना ओली पक्षमा छन् ।

संसदीय दलले ओली पक्षीय सात जनामाथि संसदीय दलको निर्देशनअनुसार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिएको, पटक–पटक ह्वीप उल्लंघन गरेकोलगायतका आरोप लगाएर सोमबार निश्चित समयका लागि भन्दै निलम्बन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *