चन्द्रमा भ्रमणमा जान नयाँ ‘स्पेस सुट’को लागत ३० करोड डलर

वाशिङटन । अन्तरिक्षयात्रीहरुले पृथ्वी बाहिरको भ्रमणमा जाँदा अत्याधुनिक प्रविधियुक्त पहिरन, ‘स्पेस सुट’ लगाउनुपर्ने हुन्छ । हलिउड फिल्महरुमा ती पहिरन जसरी प्रयोग भएको देखाइन्छ त्यसलाई हेर्दा उक्त ‘हाइ-टेक स्पेस सुट’ केही घण्टाको काम जस्तो लाग्न सक्छ ।

तर, वास्तवमा असली अन्तरिक्ष भ्रमणमा जाँदा लगाइने सुट डिजाइन गर्न एकदमै धेरै समय लाग्छ भने यसको लागत पनि धेरै गुणा बढी हुन्छ । स्पेस सुटले अन्तरिक्षयात्रीहरुलाई ‘कस्मोस’ सम्बन्धी विकिरणलगायत कठिन अवस्था र प्रतिकूल वातावरणबाट जोगाउने गर्दछ । यसका साथै स्पेस सुटको निर्माण गर्दैगर्दा ध्यान दिनुपर्ने अर्को कुरा भनेको, यसमार्फत वैज्ञानिकहरुलाई अन्तरिक्ष यान बाहिर अध्ययन एवम् अवलोकन गर्न हिँडडुलमा पनि सहज हुनुपर्ने हुन्छ ।

स्पेस सुट सम्बन्धी अर्को रोचक कुरा अन्तरिक्षयात्रीहरुलाई यो पहिरन लगाउन नै चार घण्टा लाग्छ । ‘स्पेस वाक’ अर्थात यानभन्दा बाहिर हिँडडुल गर्न जानु अगाडि उनीहरुले यो सुटको प्रत्येक भाग ठीक छ कि छैन भनेर जाँच गर्नुपर्ने हुन्छ भने अक्सिजन, पानीलगायत अतिआवश्यक सामग्रीको आपूर्ति पर्याप्त भएको पनि सुनिश्चित गर्नुपर्छ । स्पेस सुट निर्माण गर्न ६ फरक वस्तुहरु चाहिन्छ र यस पहिरनको सतह १६ वटासम्म हुन सक्छ ।

हाल नासाको चन्द्रमा मिसनका लागि पठाइने भनिएको पहिलो महिला अन्तरिक्षयात्रीका लागि नयाँ स्पेस सुट तयार भइरहेको छ जसलाई ‘एक्सप्लोरेसन एक्सट्राभेइकुलर मोबिलिटी युनिट, एक्सइएमयु’ नाम दिइएको छ । उक्त स्पेस सुट चन्द्रमामा लगाइनु अगाडि त्यसका पूर्जाहरु अन्तरिक्षस्थित इन्टरनेस्नल स्पेस स्टेसनमा लगेर जाँच गरिनेछ ।

एक्सइएमयुका प्रमुख रिचार्ड रोड्सका अनुसार यो सुटको मुख्य पूर्जा भनेको ‘कुलिङ गार्मेन्ट’ अर्थात चिसो पार्ने कपडाको भाग हुनेछ जुन ट्युबले बनेको हुन्छ । त्यस ट्युबमार्फत अन्तरिक्षयात्रीको शरीर बाहिर पानी बगिरहनेछ र यसले शरीरको तापमान नियन्त्रित गरि अतिरिक्त तातोलाई हटाइदिनेछ भने उनीहरुको काममा रोकावट नल्याइ सजिलो बनाइदिनेछ ।

प्रत्येक स्पेस सुटमा, जिवित रहन आवश्यक ‘सपोर्ट सिस्टम’ पनि जडान गरिएको हुन्छ, जसमा लुगालाई चिसो पार्ने, कार्बन डाइअक्साइड बाहिर निकाल्ने प्रणाली हुने नासाले बताएको छ । त्यस्तै यसमार्फत अन्तरिक्षयात्रीहरुले आफ्ना सहकर्मीसँग कुराकानी पनि गर्ने गरेका छन् ।

पहिलो मानव चन्द्रमा मिसन अपोलोमा प्रयोग भएको स्पेस सुट यत्तिको आधुनिक र सहज थिएन । नासाका अन्तरिक्षयात्री माइक फिंक भन्छन्, “अपोलो मिसनमा अन्तरिक्षयात्रीहरुले चन्द्रमामा पाइला टेक्दा उनीहरुले निहुरिएर ढुङ्गा टिप्न सकेका थिएनन् । उनीहरुले अरु नै टुलको माध्यमले उठाउनु परेको थियो ।” अहिलेका स्पेस सुटहरुमा भने विशेष किसिमका सहज संरचना जडान गरिएको उनले बताए ।

यसमा पनि स्पेस सुटको सबैभन्दा जटिल भाग पन्जालाई मानिन्छ । अन्तरिक्षयात्रीहरुले सबैभन्दा धेरै गुनासो यसैका बारेमा गर्ने गरेको इन्टरनेस्नल स्पेस प्रोग्रामकी क्युरेटर केथलिन लेविस बताउँछिन् ।

पन्जा डिजाइन गर्न अत्यन्तै कठिन हुने गरेको र यसलाई सुरक्षित गरि निर्माण गर्न अनि अन्तरिक्षयात्रीहरुलाई अर्थपूर्ण रुपमा काम गर्न सजिलो बनाइदिने कुरा वास्तवमै धेरै जटिल भएको उनले बताइन् । अन्तरिक्षमा घण्टौँसम्म काम गरिसकेपछि ‘प्रेसर’ कायम गरिएका पन्जा धेरैलाई असजिलो लाग्ने गर्दछ । त्यस्तै उनीहरुको औला चिसो हुने समस्या पनि हुन्छ जसकारण पन्जामा तातो महसुस गराउने तत्व राख्न जरुरी छ ।

वैज्ञानिकहरु अन्तरिक्षमा जानु अगाडि उनीहरुको सबैभन्दा प्रमुख ट्रेनिङ भनेको स्पेस सुट लगाएर पानी मुनिबाट सिक्का टिप्नु हो । यो पहिले नै कठिन कार्य हो जसलाई पन्जाले झन जटिल बनाइदिने गरेको लेविस बताउँछिन् ।

यसरी वैज्ञानिकहरुले समयसँगै विभिन्न थरीका उपकरण र वस्तुहरु प्रयोग गरि उपयुक्त स्पेस सुट निर्माण गर्न सफल भइरहेका छन् । एउटा समय त उनीहरुले पन्जाको औँलामा ‘केभ्लार’ राखेरसमेत परीक्षण गरेको लेविस बताउँछिन् । लेविसले भनेकी छन् , “केभ्लारले बन्दुकको गोलीलाई पनि छिर्न दिँदैन तर यसलाई चक्कु जस्तो अति धारिलो वस्तुले चाहिँ सजिलै काट्न सक्छ ।” अन्तरिक्ष यात्रीहरुले हाल सिन्थेटिक प्लाष्टिकको पन्जा प्रयोग गरिरहेको भए पनि वैज्ञानिकहरुले यसको अझ राम्रो विकल्पको लगातार खोजी गरि नै रहेका छन् । त्यस्तै स्पेस सुटको बाहिरी स्वरुप पनि सबैमा फरक–फरक हुने गर्दछ जसले उनीहरुलाई को यान बाहिर गएको छ भन्ने थाहा पाउन मद्दत दिलाउँछ ।

स्पेस सुट डिजाइन गर्दा ध्यानमा राख्नुपर्ने अर्को मुख्य कुरा त्यो कसका लागि निर्माण गरिएको हो र त्यो लगाएर उनीहरुले के–के काम गर्न सक्नेछन् र कहाँ लगाउनेछन् भन्ने हो । चन्द्रमा मिसन अर्थात आर्टेमिस कार्यक्रमका लागि नासाले सुरक्षित रुपमा चन्द्रमाको सतहको अवलोकन गर्न सक्ने किसिमले सुट डिजाइन गर्नुपर्ने हुन्छ ।

नासाले यसका लागि पछिल्लो चार वर्षमा ३० करोड डलरभन्दा बढी खर्च गरिसकेको रोडेसले बताए । उनको टोलीले त्यसमा प्रयोग गर्नकै लागि दर्जनौँ सामग्री एवम् वस्तुहरुको परीक्षण गरि कुनको फाइदा बढी छ भन्नेमा अध्ययन गरिरहेका छन् ।

आर्टेमिस सुट बनाउनुको सबैभन्दा ठूलो चुनौति भनेको यसलाई चन्द्रमाको वातावरणसँग अनुकूल हुने प्रकारले निर्माण गर्नु हो । उनले भने, “यसमा हामीले सुटलाई चन्द्रमाको सतहमा मजाले काम गर्न सकिने किसिमले यसलाई हलुका बनाउनुपर्छ भने अर्कोतर्फ त्यहाँको कडा वातावरणबाट सुरक्षित रहेर काम गर्न सक्ने गरि बलियो पनि बनाउनुपर्ने हुन्छ ।

आर्टेमिस सुट बनाउनमा हजारौँ सामग्रीको आवश्यकता परेको उनले बताए । यसका कुनैकुनै भागहरु निर्माण गर्न एउटा पूरै वर्ष लागेको पनि उनले बताए तर नासाले यो काम छिटोभन्दा छिटो सिध्याउन काम गरिरहेको उनको भनाइ छ ।

हालको चन्द्रमा मिसनका लागि वैज्ञानिकहरुले स्पेस सुटमा थुप्रै नयाँ अपग्रेड र सुधार ल्याएको बताइएको छ । सो सुट लगाएर हलचल गर्न मिल्ने डिजाइन सबैभन्दा महत्वपूर्ण मानिएको छ । आर्टेमिस मिसनमा जाने अन्तरिक्षयात्रीहरुले चन्द्रमाको कठिन वातावरणमा काम गर्नुपर्ने हुन्छ । र, सो सुट उनीहरुले सजिलोसँग सम्हाल्न सक्नुपर्ने हुन्छ जसले सहज हलचल गर्न दिनुका साथै उनीहरुलाई सुरक्षित राख्न पनि जरुरी हुनेछ । –सीएनएन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *