मनाङ्गेसँग बाबुरामको भेटः भने- जन्मजात कोही अपराधी हुँदैन

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कुनै पनि मान्छे जन्मजात अपराधी नहुने बताएका छन् । आफूले राजीव गुरुङ (दिपक मनाङ्गे’लाई भेटेको स्वीकार गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।

मनाङ्गे मन्त्री बनेकामा पूर्वाग्रह नराख्न पनि बाबुरामले अनुरोध गरे । ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ । साथै वर्गीय/जातीय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ । अतः अपराध/अपराधी एक सापेक्ष अवधारणा हो ।’

जेल तथा बन्दीगृह सुधारको पक्षमा रहेको भन्दै उनले नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका तथा खुला रूपमा रहनुपर्ने मान्छे जेलमा रहेका बताए । ‘त्यही सोचका साथ आफू प्रम छँदा मैले जेल सुधार निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुन सकेको छैन,’ उनले भनेका छन् ।

रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेको भन्दै डा. भट्टराईले भने, ‘दिपक मनाङ्गेहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *