अबको निषेधाज्ञा मोडालिटी ‘लुजडाउन’

उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न तीन जिल्लाका प्रजिअको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने विषयमा छलफल गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को बैठक बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने तय भएको हो ।

बैठकले असार १ देखि फरक मोडालिटीमा निषेधाज्ञालाई निरन्तरता दिनेबारे निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उनका अनुसार यसपालि विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ ।

यस्तै, कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने छ । यसका लागि निश्चित समय तोकिने छ । उपत्यकामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि ३१ गते सोमबार राति १२ बजे सकिँदैछ ।

लुजडाउन मोडालिटी
कोभिड-१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सारिएको छ । ‘यसअघि लकडाउन थियो, असारदेखि भने ‘लुजडाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ,’ गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने, ‘केही सहजीकरण भने पक्कै हुनेछ ।’

यद्यपि आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुने दर उच्च हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ ।

प्रवक्ता दाहालका अनुसार आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्दै लगिने छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैन ।

मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना छ । दाहालले भने, ‘दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्छन्, वर्षाको समय छ, मल बीउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने तर पूर्णस्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *