कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनबारे छलफल हुने

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक बस्दैछ । दिउँसो २ बजे बुढानीलकण्ठमा बस्ने गरी बोलाइएको बैठकमा आसन्न १४ औं महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था भए पनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । पूर्व निर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने हुन्छ ।

तर अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो समेत नलागिसकेको अवस्थामा कार्यतालिका अनुसार महाधिवेशन गर्न कठिन देखिएको छ । हालसम्म झण्डै ८ लाख क्रियाशील सदस्यको विवरण डेटा सिस्टममा इन्ट्री भएको छ, तर त्यसलाई प्रकाशित गरेर उजुरीसमेत आह्वान गर्न बाँकी छ । बैठकमा महाधिवेशनसँगै समसामयिक राजनीतिक घटनाक्रमको समेत समीक्षा हुने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *