अमेरिकाले विश्वका लागि ५० करोड खोपको मात्रा खरिद गर्ने

काठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने संयुक्त राज्य अमेरिकाका सञ्चारमाध्यमहरूले जनाएका छन् । यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिनेछ ।

अमेरिकालाई गरिब देशहरूमा कोरोनाभाइरस विरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेको छ । अमेरिकी राष्ट्रपतिका रूपमा पहिलो विदेश भ्रमणको सुरुवात गर्दै बाइडन यूकेमा ओर्लिएपछि पछिल्ला खबरहरू सार्वजनिक भएका हुन् ।

भ्रमणको उद्देश्य
ह्वाइट हाउसले ५० करोड खोपको वितरणबारे आधिकारिक तवरले केही बताएको छैन । तर विश्वका लागि अमेरिकाको खोप रणनीतिबारे सोधिएको प्रश्नमा बाइडनले भने, ‘मसँग एउटा छ र म त्यो घोषणा गर्नेछु ।’

बुधवार साँझ सफोकस्थित आरएएफ मिलडनहल हवाई अखडामा अमेरिकी एअर फोर्स वान विमान अवतरण गरेको हेर्न एउटा ठुलो भीड उपस्थित थियो । बाइडनले उक्त अखडामा उपस्थित अमेरिकी सैनिकका परिवारहरूलाई सम्बोधन गर्दै न्याश्नल गार्डका रूपमा काम गरेका आफ्ना दिवंगत छोराको पनि सम्झना गरेका थिए ।

उनले अमेरिकी साझेदारहरूलाई समान विचार भएका राष्ट्रहरू भन्दै  अमेरिका पुनः फर्किएको बताए । विश्वका लोकतन्त्रहरू सबैभन्दा कठिन चुनौतीहरू र भविष्यका लागि सबैभन्दा महत्त्व राख्ने विषयहरूमा एक ठाउँमा उभिएको उनले बताए। पछि उनले कोर्नवालको भ्रमण गरेका थिए ।

अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनको दक्षिण पश्चिम कुनामा जी सेभेनको शिखर बैठक अघि बिहीबार पहिलो पटक भेटवार्ता गर्दैछन् । आठ दिने भ्रमणमा राष्ट्रपति बाइडनले महारानीसँग विन्डजर क्यासलमा भेट्नेछन् र राष्ट्रपतिको रूपमा पहिलो नेटो शिखर बैठकमा पनि भाग लिनेछन् ।

उनले यो भ्रमण ‘अमेरिकाले विश्वका लोकतन्त्रहरूप्रति समर्थन जनाउने’ विषयसँग जोडिएको पनि उल्लेख गरेका छन् । युरोपको आफ्नो भ्रमणको अन्त्यमा उनले आफ्ना रुसी समकक्षी भ्लादीमिर पुटिनसँग भेट्ने कार्यक्रम छ । –बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *