निवर्तमान परराष्ट्रमन्त्री ज्ञवालीलाई पूर्वराजदूत पौडेलको प्रश्न- जनताको जीवनभन्दा ठूलो कुनै कुरा हुन्छ र ?

काठमाडौं । चीनका लागि नेपाली पूर्वराजदूत लीलामणी पौडेलले निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीप्रति गम्भीर प्रश्न उठाएका छन् ।

मन्त्रिपरिषदबाट हटाइएको दिन सामाजिक संजालमा आफ्नो कमाइ र कर तथा लेबि चुक्ता गरेको विवरण सार्वजनिक गरेर स्याब्बासी कमाइरहेका मन्त्री ज्ञवालीलाई पौडेलले मन्त्री पद छोड्दै गर्दा सम्बन्धको सन्तुलन गुमेको र चीनप्रति पूर्वाग्रही बनेको आरोप लगाएका छन् ।

‘शुरुका दिनमा वैदेशिक सम्बन्ध विस्तार हुँदै गएको लागेकै हो,’ पौडेलले लेखेका छन्, तर तपाईंले छोड्दा सम्बन्धको सन्तुलन गुमेको छ । त्यसको मूल्य मुलुकलाई कति पर्ने हो थाहा छैन ।’

यससँगै उनले चीनप्रति महामारीका बेला नेपालले पूर्वाग्रही व्यवहार गरेको जिकीरसमेत गरेका छन् । कोभिडकालमा विभिन्न देशले सहयोग दिएकोमा उनीहरुप्रति धन्यवाद र आभार व्यक्त गर्ने क्रममा समेत पूर्वाग्रही व्यवहार गरिएको भन्दै पूर्वमन्त्री ज्ञवालीका ट्वीटका स्क्रिन सटहरुसमेत राखेका छन् । नेपाल सरकारका पूर्वमूख्यसचिव समेत रहेका पौडेलले चीनबाट जीवनदायी सामग्रीको अनुदान लिनसमेत सरकारले ढिलाइ गरेकोमा आपत्ति जनाउँदै सोधेका छन्- मानिसको जीवनभन्दा महत्वपूर्ण कुरा अर्को कुनै हुन सक्छ र ? जीवनदायी सामान ओसार्ने बेलामा चीनमा उडान प्रतिबन्ध लगाइएकोमा पनि उनले आपत्ति जनाएका छन् ।

पूर्वराजदूत पौडेलले सोधेका छन्‚ ‘चीनबाट चार अर्बभन्दा बढीको सहायता सामग्री आउँदा धन्यवादका २ शब्द लेख्न किन कठिनाइ ? पहिलो अनुदानको खोप लिन किन डेढ महिना लगाएको ? हवाई सम्पर्क किन विच्छेद गरेको ? टर्की र कतारलाई दिएको सुविधा दिन किन कठिन भयो ? प्रश्न उठिरहनेछन् । जीवनदायी सामग्री ओसार्न चीनसँगको हवाई सम्पर्क हाम्रै हितमा र महामारी रोकथाममा उपयोगी थियो । जनताको जीवनभन्दा महत्वपूर्ण कुनै कुरा हुन सक्छ र ?’

निवर्तमान मन्त्री ज्ञवालीलाई मेन्सन गरेर सोधिएको प्रश्नमा जवाफ दिँदै ज्ञवालीले पौडेलको फरक मतको सम्मान गर्ने भन्दै सहयोगका लागि चीनलाई मन्त्रालयले पत्र नै पठाएर धन्यवाद दिएको उल्लेख गरेका छन् तर अरु प्रश्नको जवाफ भने दिएका छैनन् ।

प्रतिक्रिया

One thought on “निवर्तमान परराष्ट्रमन्त्री ज्ञवालीलाई पूर्वराजदूत पौडेलको प्रश्न- जनताको जीवनभन्दा ठूलो कुनै कुरा हुन्छ र ?

  1. भित्रि रहस्य के थियो बुझ्न सकिएन ।

Leave a Reply to गोपाल आचार्य Cancel reply

Your email address will not be published. Required fields are marked *