दोस्रोपटक राधा पढेपछि

महिलालाई किन छैन यौन स्वतन्त्रता ?

‘साहित्य समाजको दर्पण हो ।’

दर्पण ???

ऐना ।

मेरो प्रश्नमा शिक्षकले दिनु भएको उत्तर थियो यो । आठ-नौ कक्षामा पढ्दा होला, शायदै पारिजातको कुनै निबन्धमा यो वाक्य जुर्न गएको थियो ।

मसान फिल्मको अन्त्यतिर छ, ‘संगममा दुईपटक यात्रा गर्नुपर्छ रे ।’ फिल्ममा यसको व्याख्या आफ्नो किसिमको छ तर यसलाई त्यो सन्दर्भमा मैले लिन खोजेको होइन । मेरो लागि ती दुई नदी मिसिने ठाउँ कुनै दर्शनजस्तै छ । साहित्य समाजको दर्पण हो भन्ने सरको वाक्यमा ‘दर्पण’ नबुझेकी म आज साहित्यलाई समाजको दर्पणभन्दा बढ्ता पाउँछु ।

किशोरावस्था पार गरिसकेपछि साहित्यको जुन व्याख्या र बुझाइ मभित्र विकास भएको छ‚ त्यो मैले पहिलोचोटी साहित्यको संगम पार गर्नुभन्दा बिल्कुल भिन्न छ भन्ने लागिरहन्थ्यो । र यसपटक मैले सोही संगममा फेरि जाने योजना बनाएँ ।

                                                                                          ०००

निषेधाज्ञा हुने अघिल्लो दिन केही पुस्तक किनेकी थिएँ । यसपटकको निषेधाज्ञाको समय खेर फाल्दिनँ भन्ने गुप्त योजना बनाएको थियो मनले, मनमनै । राधाचाहिँ निषेधाज्ञा घोषणा हुनुअघि नै किनेकी थिए । पढ्ने साइत भने निषेधाज्ञाले जुरायो । हप्तादिन जतिमा पुस्तक छिचोलियो ।

पढ्ने सन्दर्भमा भने म ‘बुकवोर्म’ छैन । मनमर्जी छु । स्थिरभन्दा गतिशील पढाइ मन पर्छ । मन लागे नै पनि निश्चित समयमा मात्र पढ्ने एउटा ढाँचा बनाएकी छु स्वयंको, स्वयंका लागि ।

कृष्ण धरावासीकृत उपन्यास ‘राधा’सँगको मेरो सम्बन्ध पुरानो छ । सम्झनाजस्तो । नोस्टाल्जिया जस्तो । मैले पढेको पहिलो साहित्यिक कृति हो राधा । त्यसो त मेरो लागि राधा पात्रका रुपमा अपरिचित पात्र थिइनन् । बुबाले सानोमा महाभारतको कथा खुब सुनाउनुहुन्थ्यो । र, बाल्यकालको सम्झनासँगै किशोरावस्थाको प्रारम्भिक उमेरमा फेरि राधासँग कृतिका रुपमा भेट भयो । यसको कारण हाम्रो घरको धर्मप्रतिको झुकाव र किशोरावस्थाको प्रेमप्रतिको कौतुहलता हो जस्तो लाग्छ ।

सात-आठ कक्षामा हुँदा पढेको सो पुस्तकको बुझाइलाई मास्टर्ससम्म आइपुग्दाको नयाँ आँखाले परख गर्न मन लाग्यो । त्यो बुझाइलाई यो समयको आँखाबाट हेर्ने हुटहुटी जाग्यो । जीवनको पहिलो साहित्यिक पुस्तक अध्ययनलाई पुनः अध्ययन गर्दा ममा के बोध होला भन्ने धारणाले पुनः राधातर्फ तान्यो ।

याद भएसम्म त्यसबेला मैले ‘राधा’ उपन्यासलाई कृष्ण र राधाको प्रेमको दृष्टिकोणबाट मात्र हेरेकी थिएँ । हुन पनि राधा र कृष्णको प्रेम नै त्यस्तै छ, असाधारण । एउटा यस्तो असाधारण प्रेम‚ जुन तथाकथित नैतिकताको मामलामा ठीक नदेखिए पनि वैधता पाएको । कृष्ण एक विवाहित पुरुष अनि राधासँगको प्रेम समाजका लागि प्रेमको उदाहरण‚ जो साधारणतया असामान्य नै हो ।

‘त्यस रात…। मैले तिनलाई (राधालाई) मेरा सारा कुमार आँसुहरू तिनको स्मृतिमा बगाएर आएको छु ।’ (२७२)

कृष्णले राधासँग रुक्मिणीलाई हरण तथा विवाह गरी ल्याएको रातको कथन रुक्मिणीले राधासँग गरेको सन्दर्भ थियो यो । कति स्वच्छ कृष्णको प्रेमजस्तो लागेको थियो ।

तर, दोस्रो अध्ययनमा मैले प्रेमको परिभाषा ‘विनिर्माण’ भएको पाएँ । पढ्ने क्रममा जेक्स डेरिडाको पनि झल्को आयो । डेरिडा भन्छन्, ‘अर्थको अनेक अर्थ लाग्छन् ।’

कुनै पनि विषयमा बोधार्थको धरातल सायद जीवनको भोगाइ, बुझाइ तथा सिकाइले नै दिने रहेछ क्यार । किशोरावस्थामा शर्मिली, लाज, धक मान्ने अन्य गोपीनीसँग कृष्णको निकटताको ईर्ष्या गर्ने एक किशोरीबाट प्रेमलाई नै आर्दश बनाएर हिँडेकी नारीको रुपमा राधालाई बोध गर्न पाएँ ।

र, सोही बुझाइले आज आएर भने राधाको यो आदर्श, सायद कृष्णसँगको असफल प्रेमपछि, विरक्तिएर भागिरहेको एक ‘स्केपिस्ट’ मानसिकताको बाटो पो थियो कि भन्ने पनि लाग्न थाल्दै थियो ।

कृष्णकी बहिनी एकनंशासँगको संवादमा राधा भन्छिन्, ‘प्रेमलाई एउटा सिर्जनशील ऊर्जातत्वका रुपमा बुझ्न लागेकी छु । यो कसैलाई प्राप्त गर्न र शरीरको भोग गर्दै बित्ने मनोभावमात्र नभएर जीवनलाई नजिकबाट चिन्ने र त्यसलाई रचनात्मकतामा परिवर्तन गर्ने विषय ठानेकी छु, अचेल ।’ (२८२)

एक ईर्ष्यालु प्रेमिकाको यो रुपान्तरण हेर्दा प्रेमको भावनात्मक गहिराईमा डुबुल्की मारिरहेकी राधा अबका लागि यथार्थतामा उत्रिएकी छन् । साँच्चै नै भावनालाई जीवनको कठोर, गम्भीर र निष्ठुरिपन अनि बाध्यताले यर्थाथको धरातलमा घुँडा टेकाएरै छोड्दो रहेछ जस्तो अनुभुत हुन्छ ।

राधा बाहेक, यस्ता पात्र पनि छन्‚ जसले प्रेमको परिभाषालाई आफ्नो भोगाइको सापेक्षताले हेरेका छन् । जसरी राधामाझ प्रेमको परिभाषा पनि परिवर्तन हुँदै गएको देखिन्छ । त्यसैगरी उपन्यासका नयाँ नयाँ पात्रैपिच्छे प्रेमको परिभाषा परिवर्तन हुँदै गएको छ ।

उदाहरणको लागि गान्धारी । हस्तिनापुरका महाराज धृतराष्ट्रकी पत्नी, महारानी गान्धारी आँखा देख्न नसक्ने आफ्ना पति धृतराष्ट्रप्रतिको पतिव्रताले उनलाई आँखामा पट्टि बाँध्न बाध्य बनायो । भोग गर्ने मान्छेले नै उनको सुन्दरता देख्न नपाएपछि आफ्नो सुन्दरताको के काम भन्ने तर्कको सन्दर्भमा एकोहोरिन्छु । कुन्तीसँगको भलाकुसारीमा उनले भनेकी छन्‚ ‘प्रेम भन्ने भावनाको उत्पत्ति रुपबाटै हुँदो रहेछ, कुन्ती ! आँखाले देखेरै माया लाग्न थाल्दो रहेछ । अन्धै भए पनि तिनलाई देखेकीले उनीप्रति बिस्तारै माया पलाउँदै आयो मेरो‚ तर तिनले मलाई कहिल्यै त्यस्तो माया गरेनन् । (३०२)

हुन त धार्मिक ग्रन्थमा महिला पात्रहरुका यस्ता अभिव्यक्ति कमै पाइन्छ । राधा उपन्यासलाई नै म दस्तावेज मान्दिनँ । यद्यपि, धर्म र नैतिक अनैतिकता अनि यी पात्रलाई उनीहरूको अहोदाको आधारमा नभई एक सामान्य मानिसको आधारमा हेर्ने हो भने सायद उनीहरूको चाहाना, इच्छा अनि पीडालाई बोध गर्न सकिन्छ होला ।

राधाले जुन प्रेमलाई आर्दशमा परिणत गरेकी छन्‚ सोही प्रेमलाई गान्धारीले रुप तथा भौतिकतासँग जोडेकी छन् । हुन सक्छ मानिसलाई जे कुराको अभाव हुन्छ, त्यसैलाई उसले सर्वश्रेष्ठ भन्ठान्छ ।

प्रेम भन्ने कुरा दुवै जनाभित्र एकअर्कोप्रति उत्पन्न हुने समान आर्कषण होइन र ? के तिमीले एक्लै आफ्ना लागि मात्र कृष्णसँग त्यसको माग गरेकी हौ ? तिम्रा निम्ति कृष्ण रुन सक्तैनन्, पर्खिन सक्तैनन्, व्रत लिन सक्तैनन् भने तिमीमात्र किन उनका निम्ति जीवन नै बारमा सुकाउँछौँ ? (२८५)

राधाको आर्दशमयी प्रेमको विपरीत विचारमा उभिएकी एकनंशाको प्रश्न हो यो । प्रेमप्रतिको आर्दशलाई एकछिन छेउमा राख्ने हो भने, प्रेमप्रति के महिलाले नै मात्र आफ्नो दृढता र नैतिकताको परिधि राख्नुपर्ने हो र ? कृष्णको रुक्मिणीमात्र नभई १६ सय नारीका पति हुँदा पनि कुन प्रेमको आधारमा राधा अझै पनि अडिग छिन्, के कृष्णले हृदयदेखि उनलाई मात्र पवित्र प्रेम गरेका हुन् त ?

आर्दशवादी प्रेमको परिभाषालाई भत्काएर एकनंशाले प्रेमको अर्को परिभाषा सिर्जित गरेकी छन्, जहाँ प्रेमको अस्तित्व एकोहोरो हुँदैन । जब दोहोरो प्रयास तथा समर्पण त्यहाँ रहन्न त्यहाँ प्रेमको परिभाषा गलत ठहरिन्छ ।

प्रेम र यौन
यौनको विषयलाई समाजले जति नै ‘वर्जित’ रुपमा लिए पनि तीतो सत्य नर्कान नसकिने यथार्थ यो पनि हो कि‚ यौनबिना समाज, संसार अघि बढ्न सकेको छैन, र सक्दैन पनि ।

कृष्ण र राधाको लीलाबाट सुरु भएको ‘राधा’ले यी दुईको प्रेमको मात्र चित्रण गर्दैन । उपन्यास पढेपछि बोध हुन्छ ‘राधा’ र कृष्णको प्रेम चर्चा, परिचर्चा तथा व्याख्याभन्दा पर राधाजस्तै महिला प्रतिनिधि पात्रको चित्रण रहेछ । अनि भावना तथा यौन उत्पीडन प्रस्तुत गर्ने बलियो पात्र रहिछन्, राधा ।

उपन्यासमा राधादेखि एकनंशा, कुन्ती, द्रौपदी, गान्धारी, देवकीसमेत यौन उत्पिडनका शिकार भएका छन् । राधा स्वयंको प्रेम पनि विवाहित पुरुषसँग भएको छ । जससँगको उनको अबको निकटता पनि अनैतिक हुन्छ/मानिन्छ तर, प्रेम भने उनको मनबाट रित्तिन सकेको छैन ।

कृष्णकी बहिनी एकनंशाको विवाह वृद्धा दुर्वाशा ऋषिसँग भएको छ । जसले पहिल्यै नै कन्दली (पहिलो पत्नी)लाई रिसको वेगमा भष्म पारेका थिए । वृद्धको भोग्य हुनु बाहेक उनले आफूलाई केही ठान्न सकेकी छैनन् । उनी प्रश्न गर्छिन् राधासँग- हजारौँ पत्नी ल्याएर पनि सुन्दरताको भोकले ग्रस्त कृष्णलाई के मेरो आकाङ्क्षाको बोध हुनु पर्दैन ? उनले रोजीरोजी राम्रा युवतीहरूलाई पत्नी बनाइरहेका बेला मलाई दुर्वासाको आतङ्कमा थुनेको स्मरण होला त ? (२८६)

त्यस्तै, यौन उत्पीडनकै शिकार हुन्, कुन्ती । एक यौन दुर्वल पुरुष पाण्डुको फन्दामा परिन्, कुन्ती । लामो समय सन्तान नहुँदा उनले दोस्रो विवाह गरे । जसबाट पनि सन्तान हुन नसकेपछि उनले धर्मराज यम, इन्द्र‚ वायु तथा अश्विनीकुमारहरूबाट सन्तान प्राप्त गर्छन् ।

पाँच पाण्डवलाई सहर्ष स्वीकार गरेका पाण्डुले सोहीअनुसार आफ्नो निर्बलता स्वीकारेर कुन्तीको पहिलो सन्तानलाई स्वीकार्न सक्थेनन् होला ? सूर्यसँगको पहिलो सन्तानलाई त्याग्नुको कारण नै समाजले अस्वीकार गर्ने विवाहअघिको स्थापित यौन सम्बन्ध थियो । यसरी किन शंका नगर्ने ? शंकामात्र होइन‚ बलियो तर्क नै हो यो ।

अर्की पात्र गान्धारी आफैँमा सम्पूर्णताले सुसज्जित थिइन् । राजमाता भएकाले उनलाई केही कुराको अभाव थिएन । गुनासो थियो त आफ्नै निजी सम्बन्धसँग ।

आमाबुबा पनि कुनै उमेरमा युवायुवती नै हुन्‚ तर तिनीहरूले कति चाँडै बिर्सन्छन् । आफ्नो यौवन र सन्तानको भावनाको कदर गर्न सक्तैनन् ? हेर‚ देख्तै अन्धा भए पनि जिम्मा लगाइदिए मलाई धृतराष्ट्रका हातमा । सधैं डोर्‍याएर मैले तिनलाई पलङमा लैजानुपर्छ, तिनका हातहरू समातेर मैले आफ्ना शरीरभरि पुर्‍याइदिनुपर्छ । (३०२)

उनीभित्र रहेको सुषुप्त यौन असन्तुष्टी महसुस हुन्छ यहाँ ।

यसैगरी, दौपद्री पाँच पाण्डवकी साझा बनाइएकी छन् । पाँचै पाण्डवका छुट्टाछुटै अन्य श्रीमती भएर पनि । एक महिलाको सम्मानित यौन जीवन उनीहरूको कल्पना बाहिर रहेको छ ।

सँगै अर्कोतर्फ कैदी जीवन बिताइरहेकै भए पनि बसुदेव‚ उनी अर्को पत्नी रोहिणीलाई भेट्न जान मिल्छ । जसबाट बलराम जन्मिन्छन् । नजरबन्दमा रहेकी देवकीलाई उनको भाइ कंसले मात्र होइन‚ कहीँ कतै आफ्नै श्रीमानले पनि सम्मान गरेनन्, अन्याय गरे । अनि यौनको ममलामा गुम्स्याएर राखिदिए ।

कृष्णले १६ सय श्रीमती बनाउन सक्नुको उपज शायद सोही समाजको चित्रण हो । ज्ञान, बुद्धि, विवेक र दैवीय गुणसमेत भएका कृष्ण पनि मानवको भेषमा पुरुषप्रधान समाजकै उपज र चरित्र हुन् भन्ने देखिन्छ ।

पुरुष र नारीबिना सृष्टि र समाज दुवै चल्दैन, तर, चलिरहेको यो एकल पुरुष दम्भ संशोधन गर्नु पर्दैन ? (२८४)

परापूर्वकालदेखि आज पनि नारीमाथि प्रहार गर्न सकिने सबैभन्दा घातक अस्त्र भन्नु नै यौनमाथिको प्रश्न हो । शारिरीक सम्बन्धमाथिको प्रश्न हो । सोही प्रश्नको सामना गर्न सक्ने स्थितिमा कुन्ती थिइनन् । न त थिइन् यशोदा । जसको पतिव्रतामाथि प्रश्न गरियो । कारण, उनले जन्म दिएका कृष्णको आवरण तथा बानीव्यवहार अनुकुल थिएन । यसैकारण उनीमाथि प्रश्न ठडिन्छ । जुन बासुदेवमाथि कहिल्यै तेर्सिंदैन । उनी आफ्नी दोस्री श्रीमती रोहिणीलाई कैदी जीवनमै पनि व्रजमा भेट्न जान पाइरहन्छन्‚ पटक पटक । तर प्रश्न फिटिक्कै उठ्दैन ।

पितृसत्ताको पराकाष्ठा यहाँसम्म पुगेको छ कि, रासलिलामा सम्मिलित राधा तथा अन्य गोपिनीहरू सबै रासलिला पश्चात् घरमा थुनिए, आमाबुबाबाट गाली तथा आरोप प्रत्यारोप पनि सहे । तर, कृष्ण फुक्का थिए । कारण, उही हो‚ उनी पुरुष थिए । लाञ्छना र पतिव्रताको प्रश्न उनकी आमा यशोदासम्म ठडियो । तथापि, समाजले कृष्णलाई देखेन । प्रश्नले आमालाई समेत छोडेन तर, उनका बुबासम्म त्यहि प्रश्न लिएर पुग्ने त कल्पनासम्म पनि गरेन ।

सायद, पुरुषलाई प्रकृतिले दिएको शारीरिक जिम्मेवारी कम छ भने महिलामा केही ज्यादा बोझ रहेको छ । के प्रजननमाथि महिलाले भोग्नुपर्ने शारीरिक, मानसिक पीडाहरुलाई बोझ भन्न मिल्दैन ।

शायद त्यो किशोरावस्थाको प्रेमले भरिएको उपन्यास आज आएर एक उत्पीडनले भरिएको उपन्यासमा रुपान्तरण भएको छ । देखिने आर्थिक उत्पीडनभन्दा भिन्न यौन उत्पीडनका अव्यक्त र लुप्त कथाहरुले भरिएको उपन्यास । त्यसैले यशोदा भन्छिन्, ‘नारीमाथि प्रहार गर्न सकिने सबैभन्दा घातक अस्त्र भन्नु यौन सम्बन्धमाथिको प्रश्न हो र त्यो प्रश्न उठाउने हामी नारी नै हो । यौनलाई नै प्रतिस्पर्धाको सबैभन्दा मूल बिन्दु ठानी लडिरहने हामी नारीहरू आफ्नै अस्मिता र भवितामाथि लडिरहेका छौं । (९५)

किन हो किन‚ प्रेमको त्यो किशोरकालको बोध अहिले आएर मलाई निकै जटिल बनेको लाग्छ । प्रेमलाई साँचो आर्दश मान्ने त्यो उमेर र अहिले आएर महिलाहरुको आर्थिक सामाजिक अनि मनोवैज्ञानिक परिभाषाहरुसँग विनिर्माण भएको महिलाहरुको चरित्रको बोध गरिरहेको हालको बुझाइ ।

शायद पितृसत्ताले निर्माण गरेको प्रेमको परिभाषाभित्र आफैँलाई निस्सासिएको पाउँछ । जो एक महिलालाई मानव जसरी प्रेम गर्दैन । शायद राधासँगको मेरो दोस्रोचोटीको भेट यात्रा धेरै नै भिन्न बन्यो ।

प्रतिक्रिया

One thought on “महिलालाई किन छैन यौन स्वतन्त्रता ?

  1. साहित्य शब्दमा छुट्टै परिभाषा दिएकाे एक लेख ।

Leave a Reply to Rishikesh acharya Cancel reply

Your email address will not be published. Required fields are marked *