लुम्बिनी प्रदेश : सरकारविरुद्ध अदालत जाने विपक्षी दलको तयारी

बुटवल । लुम्बिनी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु अदालत जाने भएका छन् । आइतबार बिहान राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बेलुकै बहुमतप्राप्त दलकै हैसियतमा पुनः मुख्यमन्त्रीमा नियुक्त भएको विरोधमा अदालतमा जाने तयारी भइरहेको

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक फकरुद्धिन खानले जानकारी दिए । ‘हामी अल्पमतमा परेर पनि आफैं जबरजस्ती मुख्यमन्त्री बन्ने सरकारविरुद्ध अदालत जाँदैछौँ,’ सचेतक खानले मकालु खबरसँग भने– ‘हामी बहुमत सदस्यले कानूनी उपचार खोज्दैछौँ । अहिले पनि हामी छलफलमै छौँ । छलफलपछि एउटा निष्कर्षमा पुग्छौँ ।’

विपक्षी दलहरुको विरोध र अवरोधका बीच मुख्यमन्त्री पोखरेलले आइतबार अबेर पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । यसपछि थप चिढिएका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका दलका नेताहरु अदालत जाने तयारी गरिरहेका हुन् ।

सचेतक खानले मुख्यमन्त्रीले सरकारी स्रोतसाधनको दुरुपयोग गरेर आफ्नो पद जोगाएको आरोप पनि लगाएका छन् । ‘उहाँले लोकतन्त्रकै उपहास गर्नुभयो,’ उनले भने– ‘उहाँले बल नै प्रयोग गरेर आफ्नो पद जोगाउनुभयो, लोकतन्त्रमा यस्तो हुँदैन । यसविरुद्ध हामी यथोचित तरिकाबाट संवैधानिक तथा कानूनी उपचार खोज्नेछौँ ।’

मुख्यमन्त्री पोखरेल बहुमत दलका नेता नभएको विपक्षी दलहरुको दाबी छ । ‘उहाँ जतिबेला मुख्यमन्त्रीमा पुनःनियुुक्ति हुनुभयो, त्यतिबेला उहाँ अल्पमतमा परिसक्नुभएको थियो । शपथ लिँदासम्म त उहाँसँग जम्मा ३८ मत मात्रै थियो । तर, पनि जबरजस्ती मुख्यमन्त्री हुनु चाहिँ संविधान र कानूनविपरीत भयो । उहाँसँग बहुमत छैन । त्यसैले हामीले मुख्यमन्त्री हुन पाउनुहुन्न भनेका हौँ । अब यता साझा सरकार बन्नुपर्छ ।’

प्रदेशमा आइतबार नै सांसद विमलाकुमारी खत्रीले माओवादीतिर लागेको बताएकी छन् भने एमाले सांसद दूग नारायण पाण्डेयले एमालेबाट राजीनामा दिने घोषणा गरेका छन् । यस्तै सांसद धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि माओवादी नेता कूलप्रसाद केसीको समर्थनमा हस्ताक्षर गरेका छन् । भलै सोमबार शाही र श्रीवास्तवले फेरि मुख्यमन्त्री पोखरेलकै समर्थनमा रहेको विज्ञप्ति निकालेका छन् ।

डीआइजीको राजीनामा माग्ने
मुख्यमन्त्रीको शपथ ग्रहण रोक्ने प्रदेश प्रमुख कार्यालय बाहिर धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख रवीन्द्र धानुकले बल प्रयोग गरी हटाएको सचेतक खानको भनाइ छ । ‘उहाँ (धाकुन)लाई जनमोर्चासँगैको हाम्रो ४ दलले हटाउन माग गरेका छौँ र गर्नेछौँ । उहाँले महिला सांसदहरुमाथि बल प्रयोग गर्नुभयो र हातपात गर्नुभयो ।’

खानकाअनुसार डीआइजी धानुक आफैं संलग्न भएर महिला सांसदलाई दुर्व्यवहार गरेका थिए ।

प्रतिक्रिया