टिकटकबाट हिट भएका पाँच कलाकार

काठमाडौं । पछिल्लो समय टिकटक एउटा राम्रो प्लेटफर्म बनेको छ । टिकटक प्रयाेगकर्ताहरुलाई जहाँबाट आफ्नो क्यारियर बनाउने अवसर समेत मिलेको छ । विश्वमा नै चर्चित एप् टिकटकबाट कलाकारिता क्षेत्रमा लागेर लोकप्रियता कमाउनेहरुको जमात पछिल्लो समय बढ्दो छ । त्यस्तै यसको लोकप्रियता नेपालमा पनि अत्यधिक छ । जसले लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्ने काम पनि गरेको छ ।

टिकटक बालबच्चादेखि बृद्धबृद्धासम्मले मनाेरञ्जन प्राप्त गर्ने तथा रमाउने पाटाे बनेकाे छ । प्रतिभा भएर पनि अवसर नपाएकाहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान बनेको छ, टिकटक ।

कलाकारितामा लागेर केहि समय काम गरिसक्दा पनि चर्चा पाउन नसकेकाहरुलाई टिकटकले चर्चित बनाएको छ । टिकटकबाट चर्चा कमाउनेको संख्या धेरै नै छ । टिकटकबाट हिट बनेका केहि कलाकारहरुको बारेमा आज हामी यहाँ चर्चा गर्नेछौँ :

रेश्मा घिमिरे

टिकटकबाट चर्चा कमाएकी रेश्मा घिमिरेलाई धेरैले टिकटकबाट नै चिनेका हुन् । टिकटकबाट चर्चा कमाउनु पूर्व नै रेश्माले चलचित्र ‘यो साइनो मायाको’ मा नायिकाको रुपमा काम गरिसकेकी थिइन् । तर, पनि दर्शकले उनलाई टिकटकबाट उदायकी मोडलको रुपमा चिन्छन् । अहिले उनी व्यस्त मोडलमा गनिन्छिन् । रेश्मा पेशाले एक नर्स हुन् । उनले केहिदिन अगाडि मात्र अमेरिकामा बसेर अध्ययन गरेका प्रभात बाबुसँग इन्गेजमेन्ट गरेकी छिन् । टिकटकमा उनलाई पछ्याउनेको संख्या करिब बाह्र लाख पुगेको छ ।

प्रिज्मा–प्रिन्सी खतिवडा

त्यस्तै टिकटकबाट नै चर्चाको सिखरमा पुगेका ट्विन्स दिदीबहिनी हुन् प्रिज्मा र प्रिन्सी खतिवडा । यी दिदीबहिनी टिकटकमा धेरै नै हिट छन् । अहिले उनीहरु टिकटकमा मात्र होइन, म्युजिक भिडियोतिर पनि छाउन थालेका छन् । सुरुमा टिकटक बनाउने जो कोहिले रहरै रहरले बनाउने गर्छन् । उनीहरुले पनि पहिला रहरैले टिकटक बनाउन सुरुवात गरेका थिए ।

टिकटकमा उनीहरूलाई करिब ६६ लाखले पछ्याएका छन् । उनीहरूले अरुको गीतमा टिकटक बनाए बापत् समेत पारिश्रमिक लिने गरेका छन् । पछिल्लाे समय म्युजिक भिडियाेमा प्रिज्मा–प्रिन्सीहरूलाई भ्याइ-नभ्याइ छ ।

गीता ढुङ्गाना

सुदुरपश्चिममा जन्मे हुर्केकी टिकटक स्टार हुन गीता ढुङ्गाना । उनी पनि टिकटक बनाएरै मोडलिङ्गमा प्रवेश गरेकी हुन् । उनलाई टिकटकमा पछ्याउनेको संख्या करिब ४ लाख ५२ हजार पुगेका छन् । उनलाई धेरैले देउडा गीतमा गरेको टिकटकबाट मन पराएका हुन् । पछिल्लो समय गीता पनि म्युजिक भिडियोतिर धेरै नै व्यस्त हुन थालेकी छिन् । म्युजिक भिडियो सँगसँगै पढाइलाई पनि निरन्तरता दिँदै अगाडि बढिरहेकी छिन् गीता ।

दीपा–दमन्ता श्रेष्ठ

टिकटकमा सर्वाधिक रुचाइएका जुम्ल्याहा दिदीबहिनी हुन् दिपा र दमन्ता । टिकटकबाट हिट भएपछि उनीहरूले धरै म्युजिक भिडियो गरिसकेका छन् । टिकटकले रातारात हिट बनाएपछि उनीहरुलाई म्युजिक भिडियोबाट अफर आउन थालेको हो ।

पछिल्लो समय उनीहरू डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ मा सहभागी भएका थिए । यद्यपी उनीहरुलाई दर्शकले टिकटक स्टारका रुपमा नै चिन्छन् । टिकटकबाट चिनिएका यी दिदीबहिनीको घर भने ताप्लेजुङमा हो । तर, हाल काठमाडौंमै बस्दै आएका छन् ।

सुधिर श्रेष्ठ

टिकटकबाटै चर्चा बटुलेका अर्का कलाकार हुन् सुधिर श्रेष्ठ । लामो समयसम्म संघर्ष गर्दा पनि चर्चा पाउन नसकेका उनलाई टिकटकले राम्रै चर्चा दिएको छ । टिकटकबाट चर्चा पाएपछि उनलाई म्युजिक भिडियोबाट धेरै नै अफर आउन थालेको । आज-भोति त सुधिरलाई भ्याई नभ्याई छ । केहि दिन अगाडि मात्र पिता बनेका उनले आफ्नो श्रीमती र छोरीलाई समेत समय दिन पाएका छैनन् । आफूमा प्रतिभा हुँदाहुँदै पनि पछाडि परेका उनलाई टिकटकले धेरै उचाइमा पुर्याएको छ । उनलाई टिकटकमा पछ्याउनेको संख्या ५ लाख १५ हजार पुगेको छन् । उनी डान्स टिचर पनि हुन् ।

प्रतिक्रिया