मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

प्रमुख समाचारका शीर्षकहरु :

  • ‘ओलीकै कारण राजा आऊ, देश बचाऊको नारा लाग्यो’
  • सुशासन र चुहावट नियन्त्रण गर्न वायुसेवा निगमको नेतृत्वलाई मन्त्रीको निर्देशन
  • सरकार भ्रष्टाचारमा लिप्त छ : नेता महत
  • व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै हो : गृहमन्त्री थापा
  • बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँसी
  • उखु किसानका माग सरकारले पूरा गर्नुपर्छ : रामचन्द्र पौडेल
  • महामन्त्री शशांकको उद्घोष : सभापतिको उम्मेद्वार कोइराला
  • बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँसी
  • पीएसजी घरेलु मैदानमै लियोनसँग स्तब्ध
  • कोरोनाबाट सबैभन्दा बढी ‘आक्रान्त’ अमेरिकामा खोप दिन थालियो

‘ओलीकै कारण राजा आऊ, देश बचाऊको नारा लाग्यो’

|कांग्रेसको सरकार विरोधी प्रदर्शन, काठमाडौं। तस्वीरः मकालु खबर|

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीकै कारण राजावादीहरु सलबलाएको बताएका छन् । देशव्यापी सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्न हेटौंडा पुगेका सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण राजावादीहरुको आन्दोलन चर्किएको बताएका हुन् ।

‘राजा आऊ देश बचाऊ भन्दै हिँडिरहेका छन् । किन यो भन्दै हिँडिरहेका छन् ?,’ देउवाले प्रश्न गर्दै भनेका छन्, ‘ओलीकै कारणले राजा आउ देश बचाउ भनेर कराइरहेका छन् ।’ यस्तै सभापति देउवाले अहिलेको सरकार सर्वसत्तावादी भएको पनि बताएका छन्, ‘यो सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको छ’, देउवाले थप भनेका छन् ।

जनतालाई सडकमा उतार्ने आफ्नो उद्देश्य नभएको बताएका देउवाले थप भनेका छन्, ‘बाध्य भएर हामीले विरोध सभा गरेका हौँ, नेपाली कांग्रेसको तर्फबाट माफी चाहन्छु ।’ सभापति देउवाले ओलीले एक दलीय सर्वसत्तावादी लागू गरेको पनि बताएका छन् । कांग्रेसले आज देशव्यापी सरकार विरोधी प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा सडकमा उत्साहजनक सहभागीता देखिएको कांग्रेस नेताहरुले दाबी गरेका छन् ।

सुशासन र चुहावट नियन्त्रण गर्न वायुसेवा निगमको नेतृत्वलाई मन्त्रीको निर्देशन

फाेटाे फाइल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिएका छन् । निगमले तयार पारेको १० वर्षे एकिकृत व्यावसायिक योजना प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले त्यहाँभित्रको सुशासन र चुहावट नियन्त्रणजस्ता काम भएका सरकारले राष्ट्रिय ध्वजावाहक हुनुको नाताले निगमलाई सहुलियत प्रदान गर्ने बताए ।

१० वर्षे एकिकृत व्यावसायिक योजनाले निगम कुन बाटोमा हिँड्ने भन्ने राजमार्ग तयार भएको उल्लेख गर्दै उनले उक्त राजमार्गबाट दायाँबाँया नगरि अहिले घाटामा रहेको निगमलाई व्यवसायिकरुपमा सफल बनाउनु पर्ने जनाए । निगमका महाप्रवन्धक प्रकाश पौडेलले सन् २०२१ देखि २०३० सम्मको व्यवसायिक योजनाबारे बताएका थिए । सो योजनामा निगम शुरुका तीन वर्ष नोक्सानै रहने भएतापनि सन् २०२४ वाट नाफामा जाने र २०३० मा ५ अर्व ३० करोड मुनाफा हुने प्रक्षेपण गरिएको छ । उक्त कार्ययोजना अनुसार अघि बढ्दा सन् २०२१ मा बार्षिक २३ अर्व ७६ करोड खर्च हुने र प्रत्येक वर्ष ९ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

निगमले सो योजना अनुसार २०२४ बाट नाफामा जानका लागि अन्र्तराष्ट्रिय उडान तर्फ सिड्नी, कोलम्बो, संघाई, इन्डोनेसिया, रियाद लगायत ८ नयाँ गन्तव्य थप्नुपर्ने भन्दै ती नयाँ गन्तव्यमा सेवा दिन न्यारो वडी ४ वटा र वाइड बडी २ वटा गरि ६ जहाज आवश्यक पर्ने जनाएको छ । त्यस्तै, आन्तरिक उडान तर्फको सुधारका लागि पनि काठमाडौं, नेपालगंज, पोखरा र विराटनगरलाइ पहाडी क्षेत्र उडानको मुख्य आधार बनाएर उडान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

नेपाल सरकारको १५ औं पंचवर्षीय योजना, सरकारको नीति तथा कार्यक्रम, हवाई नीति २०६३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदन, सुधार सुझाव समितिको सिफारिस र विगतमा तयार भएका व्यवसायिक योजनाको पुनरावलोकनलाई आधार बनाएर यो व्यावसाियक योजना तयार पारिएको महाप्रवन्धक पौडेलले बताए । योजना प्रतिवेदनमा निगमको वित्तिय अवस्था, बजार विश्लेषण, कोभिड–१० ले निगममा पारेको असर, नेपाल सरकारबाट गरिएको अपेक्षालगायतका विषयवस्तुलाई सुक्षमरुपमा उल्लेख गरिएको छ ।

सरकार भ्रष्टाचारमा लिप्त छ : नेता महत
चितवन । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको आरोप लगाएका छन् । सोमबार नेपाली कांग्रेस चितवनले गरेको सरकार विरुद्धको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता महतले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको बताएका हुन् ।

‘अनियमितता र भ्रष्टाचार गर्नेहरुलाई केपी ओली सरकारले नै बचाउ गरेका छ’, नेता महतले भने, ‘यो नेपाली जनताको लागि स्वीकार्य छैन ।’ सरकारको क्रियाकलापलाई नजिकबाट नियालिरहेको कांग्रेसले कोरोना भाइरस संक्रमणको जोखिमले निम्त्याएको असहज परिस्थितिका कारण सडकबाट संघर्ष गर्न नसकेको पनि अहिले सडकमा आउन बाध्य पारेको उनको भनाइ थियो ।

कोरोना भाइरस संक्रमण भएयता सरकारले त्यसको रोकथाम र नियन्त्रणको लागि पनि सरकारले आवश्यक काम गर्न नसकेको उनले बताए । सरकारको गवतिविधि विरुद्ध नेपाली कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । सोही क्रममा चितवनमा पनि विरोध प्रदर्शन गरिएको हो ।

भरतपुरको चौबीसकोठीबाट सुरु भएको विरोध प्रदर्शन नारायणगढको पुलचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा केपी ओलीविरुद्ध कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका थिए ।

व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै हो : गृहमन्त्री थापा

फाेटाे फाइल

गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका्े मृगतृष्णा मात्रै भएको बताएका छन् । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने स्पष्ट पारे ।

नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उनको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै भने, ‘यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।’ अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास उनले व्यक्त गरे ।

महामन्त्री शशांकको उद्घोष : ‘सभापतिको उम्मेद्वार कोइराला
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको १४ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार कोइराला परिवारबाटै एक जना हुने उद्घोष गरेका छन् । सरकारविरुद्धको विरोध प्रदर्शनका लागि विराटनगर पुगेका शशांकले सोमबार विराटनगरमा पत्रकारहरुसँग कुराकानीका क्रममा यस्तो धारणा राखेका हुन् ।

उनले डा. शेखर कोइराला, सुजाता कोइराला र आफूबीच सल्लाह गरेर नै एक जना कांग्रेस सभापतिको उम्मेद्वार बन्ने सहमति भएको बताए । यस्तै उनले महाधिवेशन फागुनमै गर्नुपर्ने धारणा राखे । भारतको विहारमा कोरोना संकटकै बेला निर्वाचन भएको उदाहरण दिँदै उनले कांग्रेसको महाधिवेशन पर धकेल्न नहुने बताएका हुन् ।

यद्यपी उनले फागुनमा महाधिवेशन सम्भव नरहेको औंल्याउँदै जेठमा गर्नुपर्ने बताए । पार्टीको क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाउनै तीन महिना भएका कारण फागुनसम्ममा क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर जेठमा महाधिवेशन गराउनुपर्ने उनको तर्क छ ।

यस्तै महामन्त्री शशांकले हिन्दुराष्ट्र भनेको राजतन्त्र फर्काउने नभए भन्दै जनताले फ्यालेको राजतन्त्र कुनै पनि हालतमा अब नफर्किने दाबी गरे । उनले भनेका छन्- ‘हिन्दुराष्ट्र भनेको राजतन्त्र फर्काउने हैन, राजतन्त्र फर्किँदैन पनि ।’

उखु किसानका माग सरकारले पूरा गर्नुपर्छ : रामचन्द्र पौडेल 

 

फाेटाे फायलः

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किसानहरू मिल मालिक र सरकारमा रहेकाहरूको मिलिभगत तथा लापरवाहीको शिकार बनेको बताएका छन् ।

सोमबार बिहान ट्वीट गर्दै पौडेलले किसान आन्दोलनमा एक्येबद्धता जनाउँदै किसानहरूको माग पुरा गर्न सरकारसँग माग समेत गरे । ‘नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन् । मिल मालिक र सरकारमा रहेकाहरुको मिलिभगत र लापरवाहीको शिकार बनेका किसानहरु प्रति पूर्ण सहानुभूति र एक्येबद्धता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आह्वान गर्दछु,’ पौडेलले लेखेका छन् ।

हिजो आइतबारदेखि किसानहरू काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत् छन् । उनीहरूले सरकारले बक्यौता रकम हातमा नथमाएसम्म घर नफर्कने बताएका छन् । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ ।

बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँसी
बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।

फाइल फोटो

आज परेको सोमबारे औँसी यस वर्षको दोस्रो सोमबारे औँसी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँसी पर्ने गरेको बताउछन् । विसं २०७७ मा पनि गत साउन ५ गते सोमबारे औँसी परेको थियो । आगामी चैत ३० गते पनि सोमबारे औँसी रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख रहेको तोयनाथ पन्तको पञ्चाङ्ग ९पात्रो० का सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए ।

सोमबारे औँसी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए । औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँसी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरूपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँसीलाई पनि विशेष पर्वका रूपमा मनाउने वैदिक परम्परा रहिआएको छ ।

माता, पिता नहुनेले भने औँसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँसी विशेषरूपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताए ।

पीएसजी घरेलु मैदानमै लियोनसँग स्तब्ध
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै लियोनसँग १-० ले स्तब्ध बनेको छ । लियोनको जितमा खेलको ३५औ मिनेटमा टिनो कडेवेरेले गोल गरेका थिए ।

यस सिजनमा पिएसजीको लिग वानमा यो चौथो हार हो । यस खेलमा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा लियोनका थियागो मेण्डेजले रातो कार्ड पाएका थिए ।

यस खेलमा पिएसजीमा नेइमार घाइते भएका छन् । उनको एन्कलमा चोट लागेको बताइएको छ तर पिएसजीले यस बारेमा कुनै अपडेट भने दिएको छैन ।

यो जितपछि लियोन १४ खेलमा २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने पिएसजीको १४ खेलमा २८ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

कोरोनाबाट सबैभन्दा बढी ‘आक्रान्त’ अमेरिकामा खोप दिन थालियो

कोभिड–१९ को संक्रमणबाट सबैभन्दा बढी ‘आक्रान्त’ मुलुक अमेरिकाले आजदेखि खोप लगाउने अभियान शुरु गर्दैछ । अमेरिकी अधिकारीहरुले खोप लगाउनका लागि आवश्यक पर्ने सामग्रीको आइतबारदेखि ढुवानीको काम शुरु भएको जनाएका छन् ।

आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर–बायोएनटेक खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइने भएको हो । अमेरिकी नियामक निकायले उक्त खोप प्रयोगका लागि शनिबार अनुमति दिएको थियो ।

यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानाडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए । विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड(१९ का कारण हालसम्म १६ लाख मानिसको मृत्यु भइसकेको छ । तीमध्ये सबैभन्दा बढी अमेरिकाका छन् ।

उक्त खोप ७० डिग्री सेल्सियसको तापक्रमसहितको विषेश अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘अत्यावश्यक परेका सबैलाई हामीले खोप राम्रोसँग उपलब्ध गराउन सक्छौं भन्ने हामीलाई विश्वास छ, त्यहीअनुसार काम भइरहेको छ,’ खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका एक अमेरिकी अधिकारीले भने ।

उनीहरुका अनुसार शुरुमा यो सप्ताहन्तसम्ममा ३ करोड मात्रा खोप सबै राज्यहरूमा पठाउने कार्य भइरहेको छ । दैनिक मृतकहरुको संख्या उच्च हुँदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो ।

अमेरिकामा शनिबार मात्रै एकै दिन ३ हजार ३०९ जनाको कोभिड-१९ का कारण मृत्यु भएको थियो । यो विश्वका कुनै पनि देशमा एकै दिन भाइरसका कारण ज्यान गुमाएकारुको सबैभन्दा ठूलो संख्या हो । अमेरिकामा कोभिड–१९ बाट संक्रमित हुने तथा ज्यान गुमाउने संख्या पछिल्ला दिनहरुमा अत्यधिक रूपमा वृद्धि भएको छ ।

खोप प्रयोग गर्ने पहिलो दिन सोमबार १४५ स्थानमा खोप प्राप्त हुनेछ भने मंगलबार ४२५ स्थानमा र बुधबार ६६ स्थानमा प्राप्त हुने अधिकारीहरुले जनाएका छन् । पहिलो चरणको खोप वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि शुरु गरिने र यसले धेरैको ज्यान जोगाउने उनीहरुको विश्वास छ ।

अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिममा रहेका समूहका नागरिकलाई खोप दिइनेछ । यसअघि चिकित्सकहरुको २३ सदस्यीय कार्यदलले फाइजर–बायोएनटेकको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिन एफडीएलाई सुझाव दिएका थिए ।

चिकित्सकीय परीक्षणमा फाइजरको खोप कोभिड-१९ विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको पाइएको थियो । यो खोप लिएको तीन सातामा दोस्रो डोज दिनुपर्छ । तर माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने भएकाले फाइजरको खोप ओसारपसार र व्यवस्थापनमा चुनौती रहेको स्वास्थ्यविद्हरुको भनाइ छ ।

प्रतिक्रिया