सम्बन्ध विच्छेद : महिलालाई मात्रै किन भारी ?

विराटनगर । साइप्रसलाई कर्मथलाे बनाउँदै आइरहेकी काठमाडाैं धापासीकी सरिता तामाङ (नाम परिवर्तन) सन् २०११ नोभेम्बर ७ मा मोरङका एक युवकसँग बैवाहिक बन्धनमा बाँधिन पुगिन् । उनकाे याे दाेस्राे विवाह थियाे ।

६ महिनाको छोरा र श्रीमतीलाई छोडेर वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनकाे श्रीमान् छोरा १६ वर्षको हुँदासम्म कहाँ छन् ? के गर्दै छन् उनलाई खबर थिएन । श्रीमानको कुनै साथ नपाएपछि छोरा र आफ्नो भविष्य सुनिश्चितताका लागि माइतीको साथ, सहयोगले लेबनान पुगिन् । वैदेशिक राेजगारीकाे शिलशिलामा कतार पुुगेका एक युवकसँग उनकाे टेलिफाेनमार्फत् प्रेम बस्याे ।

लेबनानमा सँगै काम गर्ने सरिताकि साथीको माध्यमबाट कतारका पुरूषसँग उनकाे चिनजान भएकाे थियाे । टेलिफाेनमा सुरू भएकाे कुराकानीले प्रेमकाे रूप लियाे । लेबनानमा भनेजस्ताे कमाइ नभएपछि उनी राम्रो कमाइका लागि साइप्रस जाने योजनासहित नेपाल फर्किइन् । उनकाे हरेक योजना, उनको विगतबारे रमेश जानकार थिए । उनलाई माया, जीवनभर साथ दिने वचनका साथ रमेश पनि कतारबाट नेपाल फर्किए अनि दुवैले २०११ नेभेम्बर ७ मा काठमाडाैंमा विवाह गरे ।

विवाह पश्चात् रमेशसँगको भविष्यको स्वर्णिम सपना लिएर साइप्रस उडेकी उनको वैवाहिक यात्रा राम्रैसँग चलिरहेको थियो । साइप्रसमा कमाइ राम्राे हुन थालेकाे केहि समयपछि उनले रमेशलाई रोजगारीका लागि साइप्रस बाेलाइन् । त्यहाँ रमेशकाे दाेस्राे सम्बन्ध थाहा पाएपछि छाँगाबाट खसेजस्तै भइन् सरिता । सम्बन्ध जाेगाउन हरसम्भव काेशिस गरिन् तर असमर्थ रहिन् । भन्छिन्- ‘दुई जनाको कमाइ राम्रो भयो भने भविष्य राम्रो हुन्छ भन्ने साेचेर मैले उसलाई साइप्रसमा लगेँ । हामी त्यहाँ हुँदा उसको नेपालमा रहेकी विन्दु दाहाल (नाम परिवर्तन) सँग सम्बन्ध रहेको थाहा पाएँ, मैले सम्बन्ध जोगाउने काेशिस गरेँ तर एक्लैकाे प्रयासले कहाँ  जाेगिने रहेछ र सम्बन्ध ?’

सरिताले नचाहँदा नचाहँदै रमेशले दाेस्राे विवाह गरे । ‘सधैँ उसको खुशी पूर्ति गर्ने प्रयास गरेँ । लगभग ४५ लाख पैसा पठाएँ । तर उसले मेराे पैसालाई माया गरेकाे रहेछ’, सरिताले सुनाइन् ।

अहिले साइप्रसबाट केही दिन बिदामा नेपाल आएकी उनले रमेश र उनकी कान्छि श्रीमतीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा कात्तिक २ गते उजुरी दिइन् । अहिले शान्ता रमेशले गरेको अपराधविरुद्ध जिल्ला अदालत मोरङमा न्यायको अपेक्षासहित लडिरहेकी छिन् ।

०००

विराटनगरकी कोपिला कार्की (नाम परिवर्तन) ले गत चैत्र १८ गते श्रीमानसँग सम्बन्ध विच्छेदको निर्णय लिइन् । उनले श्रीमानसँग मात्रै स्वतन्त्रता चाहिन्, अंश चाहिनन् । उनको १३ वर्षको छोरा र ११ वर्षकी छोरी छिन् । छोरा बुवासँग बस्दै आइरहेका छन् भने छोरी उनीसँग । श्रीमानसँगको दैनिक हुने झगडा र कुटपिट, श्रीमानको शंका गर्ने बानीले आजित भएर सम्बन्ध विच्छेदको निर्णयमा पुगेकी उनलाई न परिवारले वास्ता गर्छन्, न उनको राम्रो कमाइ नै छ ।

कोहि केटा साथीसँग हिँड्दा, बोल्दा उनलाई ‘धन्दावाली’ले सम्बोधन गर्छन् छिमेकीहरु । उनको कमाइले छोरी पढाउन, कोठा भाडा तिर्न नपुग्ने भएकाले उनी रोजगारीका लागि विदेशिने तयारीमा छिन् । उनी भन्छिन्, ‘म एक होटलमा काम गर्छु, अरु तिर काम गरौँ भने पढेकी छैन । होटलमा वेयटर गर्छु । राती कहिलेकाँही घर आउन ढिला भयो भने मुख खुम्च्याउछन् नजिककाहरु । एउटी महिलालाई जिउन गाह्रो छ !’

०००

यी दुई त प्रतिनिधि पात्र मात्रै हुन् । समाजमा यस्ता धेरै ‘डिभोर्सी’ महिलाहरु छन्, जाे विना गल्ती समाजकाे छि:छि र दुरदुरको भागिदार बन्न पुगेका छन् । बैवाहिक सम्बन्ध सप्रन वा बिग्रन दुवैकाे हात हुने भएतापनि बिग्रँदा महिलाले मात्रै अपजस खेप्नुपर्ने समाजमा थिती बसेकाे छ । यही कारण पनि सेलिबेटी नै किन नहुन्, डिभाेर्सी महिलाहरू खुलेर बाँच्न सकिरहेका छैनन् ।

पहिले धेरै महिलाहरू पुरूषकाे थिचाेमिचाे सहेर बस्न बाध्य थिए । अहिले भने शिक्षा तथा राेजगारीमा केही हदसम्म समान पहुँच पुगेकाे याे अवस्थामा ती पुराना ट्रेन्ड अलि सेलाएका छन् । आत्मनिर्भर महिलाहरू हिंसा सहेर बस्ने भन्दा सम्बन्ध बिच्छेदकाे बाटाेतर्फ माेडिन थालेकाे कैयन उदाहरणहरू छन् ।

मोरङमा सम्बन्ध विच्छेदको अवस्था

चालु आर्थिक वर्ष ०७७/७८ कार्तिक मसान्तको तथ्यांक अनुसार मोरङ जिल्ला अदालतमा ५ सय ३६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । फर्छ्याैट भएका ८४ वटा मध्ये मिलापत्र ७५ वटा रहेकाे छ भने सम्बन्ध विच्छेदका मिल्न बाँकी मुद्दा २ सय ६९ वटा रहेका छन् । जसमा पुरूष वादी भएर सम्बन्ध विच्छेदकाे मुद्दा दर्ता गर्ने १८९ जना रहेका छन् भने महिला वादी भएर सम्बन्ध विच्छेदकाे मुद्दा दर्ता गर्ने ३६५ जना रहेका छन् ।

माथि उल्लेखित तथ्यांकमा महिलाबाट सम्बन्ध विच्छेद मात्रै चाहने र अंशसहित सम्बन्ध विच्छेद चाहने दुवै किसिमका मुद्दा पर्ने मोरङ जिल्ला अदालतका सुचना अधिकारी राजेन्द्र धमलाले जानकारी दिए । विगतमा भन्दा अहिले कानुनले नै सम्बन्ध विच्छेद गर्न पाइन्छ भनेर खुल्ला गरिदिएका कारण अदालतमा सम्बन्ध विच्छेदका धेरै मुद्दा देखिएको सुचना अधिकारी धमला बताउँछन् ।

अदालतमा सम्बन्ध विच्छेदका मुद्दा अधिकांश महिला वादीको संख्या धेरै रहेको उनको भनाइ छ । अंशसहितको मुद्दा भन्दा पनि सम्बन्ध विच्छेदको मात्रै मुद्दा धेरै आइरहेको उनी उनले जानकारी दिए । उनले भने,‘अंशसहितको सम्बन्ध विच्छेद भन्दा पनि सम्बन्ध विच्छेदको मात्रै मुद्दा आउनुकाे कारण केटा पक्षको केहि सम्पति नभएकाे, परपुरूषकाे प्रेममा परेकाे अथवा घरेलु हिंसा रहेकाे पाइन्छ । हिंसा सहनुभन्दा बरू सम्पत्ति नलिएरै मुक्ति चाहने धेरै छन् ।’

छोरीलाई शिक्षा

पितृसत्तात्मक साेचका कारण परापूर्वकालदेखि नै समाजमा महिलाहरु हाेच्चिँदै आएको अधिवक्ता यज्ञप्रसाद सिवाकोटी बताउँछन् । कतिपय पुरुषले महिलालाई भोगको साधनको रुपमा हेरिदिने तथा महिलाप्रति पुरुषकाे साेच सकारात्मक नभएकाले पनि महिलामाथि हुने हिंसा रोकिन नसकेको उनकाे भनाइ छ ।

उनी भन्छन्, ‘हामीसँग आउने कतिपय सम्बन्ध विच्छेदका केसहरु बैदेशिक राेजगारीमा गएका परिवारका बढी हुने गरेका छन् । श्रीमान् विदेशमा हुँदा परिवारले चरित्रहत्या गर्ने किसिमका सन्देशरू पठाउने कारण पछि श्रीमान् नेपाल आएर सम्बन्ध विच्छेद गर्ने गरेकाे पाइन्छ ।’

कतिपय केसहरुमा पुरुष पनि हिंसामा परेकाे पाइएकाे उनी बताउँछन् । यद्यपी अशिक्षाका कारण महिलाहरू बढी हिंसामा पर्ने गरेकाे उनकाे भनाइ छ । ‘पितृसत्तात्मक समाजिक साेच र अशिक्षाका कारण  दु:ख, पीडा तथा हिंसामा परेका महिलाहरु धेरै संख्यामा छन् । आफू सुरक्षित, सक्षम हुन महिला शिक्षित रहन जरुरी छ ।’

एकल महिला लक्षित प्रदेश सरकारको कार्यक्रम

सामाजिक, आर्थिक, राजनितिक तथा शैक्षिक हिसाबले कमजाेर रहेका एकल महिलाहरुलाई चुनाैति धेरै हुने प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य तथा सामाजिक विकास समिति सभापति सरिता थापा बताउँछिन् । थापा भन्छिन्, ‘थप चुनौती श्रीमान् बितिसकेका एकल महिलालाई छ । धार्मिक क्रियाकलापबाट बञ्चित गराउने, परिवारले नै हिंसा गर्ने तथा बाेक्सीकाे आरोपमा कुटपिट गरेका घटनाहरू धेरै सुनिएका छन् ।’

महिला शसक्तीकरण, आत्मनिर्भरको मुख्य पाटो शिक्षा रहेकाे थापाकाे भनाइ छ । आर्थिक र शैक्षिक हिसाबमा सक्षम भएमा एकल महिलाप्रति हुने हिंसात्मक घटना तथा विभेदको पनि अन्त्य हुने उनी बताउँछिन् । भन्छिन्, ‘महिला सक्षम हुनका लागि छोरीलाई शिक्षा अत्यन्तै जरुरी छ । छोरीलाई शिक्षा दिने कुरा परिवारले प्राथमिकतामा राख्नुपर्छ ।’

प्रदेश सरकारले पनि चालु आर्थिक वर्षदेखि एकल महिलालाई लक्षित व्यवसायिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् । ‘एकल महिलाहरुलाई संगठित गर्दै उहाँहरुले कुन व्यवसाय गर्न चाहनुहुन्छ सोहि अनुरुप उहाँहरुलाई तालिम दिने, केहि कोष खडा गरिदिने र व्यवसायिक बनाउने जस्ता कार्यक्रम प्रदेश सरकारले ल्याएकाे छ’, उनले भनिन् ।

प्रहरीको प्राथमिकतामा महिला हिंसा 

पछिल्लो समय समाज परिवर्तनकाे दौडानमा छ । मानिस शिक्षित र सचेत हुँदै गइरहेको भए पनि महिलाहरुको अवस्था अझै पनि चिन्ताजनक नै रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्का बताउँछन् ।

उनले भने, ‘महिलाहरु एकल भएपछि परिवारले भने जस्तो साथ नदिने, बच्चाहरु छन् भने उनीहरुको लालनपालनको समस्या र रोजगारीमा कम सहभागी गराइने, पुरुषले एकल महिलालाई गलत व्यवहार गर्ने, पुरुष साथीहरुसँगको बोलचालको भरमा अनैतिक सम्बन्धका आरोपहरु बेहोर्नुपर्ने जस्ता विविध समस्याहरु हामी कहाँ आइरहेका छन् । ’

नेपाल प्रहरीले महिला हिंसाविरुद्धका मुद्दालाई प्रथमिकताका साथ हर्ने गरेको एसपी खड्काको भनाइ छ । उनी भन्छन्,‘हामी कानुनी हिसाबले नजिकका साथी पनि हौँ । उहाँहरुमाथि कुनै पनि किसिमको हिंसा भएमा कारवाहीका लागि प्रहरी सधैँ तयार छ । हामीले एकल महिलामाथि हुने हिंसालाई प्राथमिकताका साथ हेर्ने गरेका छौँ ।’

प्रतिक्रिया