मकालुखबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

दुबै अध्यक्षका प्रस्तावमाथि छलफल गरी नेकपा बैठक सकियो, भोलि फेरि बस्ने
सत्तारुढ नेकपाको मंगलबारको सचिवालय बैठक सकिएको छ । भोलि पुनः बस्नेगरी आजको बैठक सकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाको कारण देखाएपछि पार्टी कार्यालय धुम्बाराहीमा तय भएको बैठक मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजे बसेको थियो ।

प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका दुई वटै राजानीतिक प्रतिवेदनका विषयमा सचिवालयका सदस्यहरुले धारणा राखेका थिए । आजको बैठक करीब तीन घण्टा चलेको थियो ।

ओलीले दुवै पदबाट राजीनामा गर्नुपर्छ : जनार्दन शर्मा
नेकपाका नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । नेता शर्माले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै हो भने आज बस्ने सचिवालय बैठकमा दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

एक टेलिभिजन कार्यक्रमलाई दिएको अन्तरवार्तामा शर्माले भने– ‘म यत्ति कुरा भन्न चाहन्छु कि सम्माननीय प्रधानमन्त्रीज्यूले मंगलबारको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएर अर्को पात्र को व्यक्ति हो, त्यो अगाडि ल्याउनुहुनेछ, अनि मात्रै पार्टी नयाँ पुस्तामा जानेछ ।’

अध्यक्ष ओलीले सचिवालयमा पेस गरेको जवाफी प्रतिवेदनमा उल्लेख (नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने) कुरा कार्यान्वयन गर्ने हो भने पहिले आफूले दुवै पद छाडेर देखाउनुपर्ने पूर्वमन्त्रीसमेत रहेका शर्माको तर्क छ । प्रधानमन्त्रीले अघि सारेको नेतृत्व हस्तान्तरणको प्रस्तावलाई स्वागत गर्दै त्यसो गरे आफुहरुको पूर्ण समर्थन रहने पनि उनले बताए ।

नेता शर्माले जिम्मेवारीको हैसियतले पार्टी र सरकार सञ्चालनमा भएका कमी कमजोरीको दायित्व पनि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नै बढी लिनुपर्ने जिकिर गरे ।

कोरोना अपडेट : दुई हजार बढी डिस्चार्ज हुँदा थप १,३०४ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यस्तै आज (मंगलबार) २ हजार ७३ संक्रमित डिस्चार्ज भएका छन् भने थप २१ जनाको मृत्यु भएको छ । क्वारेन्टिनमा आज ६१६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमित संख्या १६ हजार ६३३ रहेको छ ।

आजको थप अपडेटसँगै नेपालमा कोरोना संक्रमित संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । संक्रमितमध्ये २ लाख १६ हजार ५९४ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ५२९ पुगेको छ ।

आन्दोलन र महाधिवेशन सँगसँगै : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन्।

पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तर्क्रियामा बोल्दै थापाले मंगलबार सरकारको अदुरदर्शीता र अकर्मण्यताका कारण जनता दिक्क भएकोले आन्दोलन गर्नुको विकल्प नरहेको बताए।

उनले कांग्रेसको कमजोर र असफल प्रतिपक्षी भूमिकाले थप निराशा पैदा भएको चर्चा गर्दै वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गर्नुपर्ने बताए। भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै थापाले सशक्त र हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढ्न देशव्यापी सक्रियतामा जोड दिए।

सभा, जुलुस र प्रदर्शन नगर्न जिप्रका काठमाडौंको अनुरोध
पछिल्लो केही दिनयता काठमाडौंमा दिनहुँ जुलस, प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै जिप्रका काठमाडौंले भीडभाडजन्य गतिविधि नगर्न/नगराउन अनुरोध गरेको हो ।

जिप्रका काठमाडौंले भनेको छ- ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।’

त्रिभुवन विश्वविद्यालयमा पढाइ सुरु हुने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पसमा अब पढाई सुरु हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले कोरोना भाइरस ९(कोभिड–१९) संक्रमणपछि रोकिएको पढाइ सुरु हुन लागेको हो ।

त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने बताएको छ । भौतिक उपस्थितिमा सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविले जनाएको छ । मंगलबार त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएका हुन् ।

बालयौन दूराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

बाल यौन दूराचारको आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दूराचार गरेको आरोपमा फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एंव प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पोखरा महानगरपालिका(१७ बिरौटा पावर हाउसस्थित फुर्सेखोला बगर किनारामा यौन दूराचार गरिरहेको अवस्थामा नौगारेटलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए । प्रहरीले यौन दूराचारीमा परेका तीन नाबालकलाई समेत उद्धार गरेको छ । उद्धार गरिएका नाबालकलाई अभिभावकको जिम्मा लगाइसकेको छ ।

पक्राउ नौगारेटविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसुरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको ब्यूरोले जनाएको छ । पक्राउ परेका नौगारेट गैर पर्यटकीय भिसामा नेपाल आई पोखरामा बस्दै आएको प्रवक्ता पाण्डेले बताए ।

नेप्सेमा झिनो वृद्धि, कारोवार रकम सात अर्ब
लगातार दोहोरो अङ्कको वृद्धि तथा कारोवार रकममा समेत नयाँनयाँ कीर्तिमान कायम गरेको शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले मात्रै उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.३५ बिन्दुले उकालो लागेर दुई हजार बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने आज १.७७ बिन्दुले ओरालो लागेर ३८३.७९ मा पुगेको छ । नेप्सेमा झिनो अङ्कको सुधार भए पनि कारोवार रकम भने पनि रु सात अर्ब बराबरको नै भएको छ । कूल १९७ कम्पनीको एक करोड ८५ लाख ७६ हजार ७०८ कित्ता शेयर रु सात अर्ब ४० करोड ४१ लाख ५४ हजार सात मा कारोवार भयो ।

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४१.४३, व्यापार १०७.६४, होटल २०.८२, विकास बैंक ५२.८४, वित्त ७.४३, निर्जीवन बीमा ३४ र सामूहिक लगानी कोष ०.१८ बिन्दुले ओरालो लागे ।

यस्तै, जलविद्युत् ३८.६३, उत्पादन ९९.८१, अन्य १०७.७, लघुवित्त १.४३ र जीवन बीमा २१६.८३ बिन्दुले उकालो लागे । स्टकका अनुसार आज कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६५ करोड ७९ लाख ८८ हजार १०२ बराबरको कारोवार भयो ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु ४४ करोड ३६ लाख ५० हजार ३९९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ३३ करोड ९० लाख ३५ हजार १६८, नेपाल बङ्गलादेश बैंक रु २५ करोड २६ लाख २४ हजार ५९६, प्रभु बैंक रु २० करोड ८५ लाख ६० हजार ५३, शिवम् सिमेन्ट रु २० करोड ३७ लाख २२ हजार ९८२ र नबिल बैंक रु २० करोड ११ लाख ९४ हजार ६६० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज पुनरबीमा कम्पनी ९.९७, रसुवागढी हाइड्रोपावर ९.९६, माथिल्लो तामाकोशी ९.८५, नेपाल दूरसञ्चार कम्पनी ९.७१, साञ्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए । यस्तै, ग्रीन डेभलपमेन्ट बैंक ७.७३, नेपाल बङ्गलादेश बैंक ५.६८, बोटलर्स नेपाल तराई ५.३२, मल्टीपर्पोज फाइनान्स ५.११ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ४.५० प्रतिशतले गुमाए ।

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका लागि अयोग्य
नेपालका ए डिभिजन फुटबल क्लब एसियाली फुटबल महासंघ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता खेल्न नपाउने भएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली क्लबलाई लाइसेन्स दिनका लागि एएफसीलाई अनुरोध गरेको थियो । एएफसीले मापदण्ड नपुगेको भन्दै नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स दिन अस्वीकार गरेको एन्फाले जनाएको छ । एएफसीका प्रतियोगिता खेल्न एएफसी क्लब लाइसेन्स अनिवार्य मानिन्छ ।

सन् २०२१ का लागि नेपालका १३ ए डिभिजन क्लबले निवेदन दिएका थिए । एएफसीले नेपाली क्लबमध्ये त्रिभुवन आर्मी क्लबको निवेदनबारे सकारात्मक प्रतिक्रिया दिएको एन्फाले जनाएको छ । लाइसेन्सका लागि एन्फाले पुनः एएफसीसँग अनुरोध गर्ने भएको छ । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । गत सिजन बी डिभिजन लिगमा घटुवा भएको सरस्वती युथ क्लबले भने क्लब लाइसेन्स आवदेन प्रक्रियामा थिएन ।

क्लब लाइसेन्सका लागि क्लबको आफ्नै खेल मैदान, युवा टोली, एकेडेमी, खेलाडी बसोबासको व्यवस्था, प्रशिक्षण गर्ने स्थान, खेलाडी, प्रशिक्षक र पदाधिकारी हुनुपर्नेलगायत मापदण्डको व्यवस्था गरिएको छ । लाइसेन्सका लागि मच्छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सङ्कटा क्लब, न्यूरोड टिम एनआरटी क्लब, च्यासल युथ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्डस् क्लब, एपीएफ क्लब र ब्रिगेड ब्वाइज क्लबले निवेदन दिएका थिए ।

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च
जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै कूल वेरोजगार व्यक्तिको सङ्ख्या २१ लाख ४० हजार पुगेको छ ।

जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार ०.२ प्रतिशतले वृद्धि हुँदा यो सङ्ख्या ३.४ पुगेका तर महिलातर्फको वेरोजगार दर (२.७ प्रतिशत)मा कुनै परिवर्तन नदेखिएको पनि तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक १०० व्यक्तिका लागि १०४ पद खाली रहेको र यो सन् २०१९ को अप्रिलपछि पहिलो पटक सुधार भएको बताइएको छ । कोरोनाकालमा पनि रोजगारी उपलब्धता दर बढ्नुलाई सकारात्मक सूचकका रूपमा हेरिएको छ ।

जापान सरकारले महामारीका कारण आर्थिक सङ्कटमा परेका कम्पनीलाई राहतस्वरूप करमा विभिन्न छुटको योजना अघि सारेको छ । अर्थशास्त्रीहरूका अनुसार जापानले श्रम बजारलाई जटिल सङ्कटबाट बचाएको छ । राहत कार्यक्रम आगामी फेब्रुअरीसम्मका लागि तय गरिएकोमा यसलाई बढाएर मार्चसम्म पुर्याइएको छ ।

प्रतिक्रिया