‘नेकपाले सरकारमा बस्ने औचित्य गुमायो’ डा. शेखर

काठमाडौं । सरकारले कोरोना संक्रमित नागरिकको उपचार नगर्ने घोषणा गरेर सरकारमा बस्नुको औचित्य गुमाएको कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हिजो अबदेखि कोरोना संक्रमित आफैंले उपचार गर्नुपर्ने बताएका थिए । डा. शेखरले कोरोनाका विरामीले उपचार आफैंले गर्नुपर्ने र लक्षण नदेखिएका विरामीको पिसिआर टेष्ट नगर्ने सरकारी निर्णय मानवता बिरोधी र मौलिक हक बिरोधी भएको जिकिर गरेका छन् ।

‘कोभिड १९ का विरामीले आफ्नो उपचार आफैंले गर्नुपर्ने र लक्षण नदेखिएका विरामीको पिसिआर टेष्ट नगर्ने सरकारी निर्णय निन्दनीय, मानवता बिरोधी र मौलिक हक बिरोधी छ ।’ डा. कोइरालाले भनेका छन् ।

सरकारको यो निर्णयले सर्वोच्च अदालतको आदेशको अवहेलना पनी गरेको बताउँदै उनले जनस्वास्थ्यको विषयमा यस्तो निर्णय गर्ने जो कोही सरकारमा बस्न लायक नभएको पनि दावि गरेका छन् ।

‘यसले सर्वोच्च अदालतको आदेशको अवहेलना पनी गरेको छ । जनस्वास्थ्यको विषयमा यस्तो निर्णय गर्ने जो कोही सरकारमा बस्न लायक छैनन् ।’ डा. शेखरको भनाई छ ।

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च समेत बिमा रकमबाट कट्टा गर्ने सरकारले भनेको छ ।

प्रतिक्रिया