कैलालीमा घाँटी रेटेर असईको हत्या, शंकास्पद ११ जना पक्राउ (अपडेट)

कैलाली । धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।

शंकास्पद ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएकाे सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले मकालु खबरसँगकाे कुराकानीमा पुष्टि गरे । ‘शंकास्पद ११ जनालाई नियन्त्रणमा लिएका छौँ । अनुसन्धान भइरहेको छ’, उनले भने ।

गएराती गस्तीमा हिँडेका असई विककाे आज (आइतबार) बिहान नजिकैको मोहना नदीमा शव फेला परेको थियाे । प्रहरी अनुसन्धानका क्रममा घाँटीमा धारिलो हतियार प्रहार गरी उनकाे हत्या गरिएको खुुलेकाे छ।

नदी पारि भारतीय क्षेत्रबाट अवैध रुपमा मालसामान भित्रिने गरेको छ । अवैध रुपमा सामान भित्र्याउने समूहले विकको हत्या गरेको हुन सक्ने अनुमान गरिएकाे छ । मृतक विकको कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका हुन् ।

विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद भने सम्पर्कविहीन छन् । गए राति प्रहरी सहायक निरीक्षक विक र हवल्दार साउदसँगै गस्ती गर्न गएकामा राति अबेरसम्म पनि सम्पर्क हुन नसकेपछि खोजतलास गरिएको थियो । सम्पर्कमा नरहेका हवल्दारको खोजी भइरहेको छ ।

प्रतिक्रिया