मोरङ रतुवामाई नगरपालिकाका मेयरले घरजग्गा भत्काइदिएर उठिबास लगाएको आरोप

मोरङ । रतुवामाई नगरपालिकाका मेयरले ब्यक्तिगत विषयलाई लिएर एक परीवारको घर जग्गा कब्जा गरेर उठिबास लगाएको आरोप छ । मोरङ रतुवामाई नगरपालिका वडा नं. ५ गोविन्दपुर बजारका गंगा भगतको घर दादागिरीको शैलीमा भत्काईदिएर उनीहरुलाई पाटीको बास बनाइदिएको पिडीतले आरोप लगाएका छन् ।

पिडित जग्गाधनी गंगा भगत तथा सुमित्रादेवी भगत

गत बैशाख १८ गते गोबिन्दपुर बजार ब्यवस्थापन गर्ने भन्दै मेयर रविन राईको अगुवाईमा गएका करिब ४०–४५ जनाको समुहले जग्गाधनी गंगा भगतको नम्बरी जग्गामा रहेको घरटहरा जवरजस्ती भत्काइदिएको पिडीत गंगा भगतले बताए ।

आफ्नै नम्बरी जग्गामा चिया खाजा पसल चलाउन भनेर निर्माण गरेको घरटहरा मेयर राईले जवरजस्ती भत्काई दिएको पिडीत भगतले बताए । ‘म यहाँ ५० साल देखि बसेको छु, मातपोल तिरेको छु । एक्कासी आएर तिमीहरु यहाँ बस्न पाउँदैनस भनेर मेयर र वडाध्यक्षले ५०–६० जनाको समुह ल्याएर घर भत्काईदिए ।’ भगतले मकालु खबरसँग भने ।

उनले मेयर रविन राई तथा ५ नं. वडाको वडाध्यक्ष कनैयालाल राजबंशीले जवरजस्ती घर भत्काएर विचल्लीमा पारिदिएको बताए । पिडीत भगतका अनुसार उक्त दिन मेयर रविन राई, वडा नं. ५ का वडाध्यक्ष कनैयालाल राजबंशी, धिरेन शाह, अनिल शाह, गणेश मेहता, दुर्गानन्द शाह, वकिल तामाङ, वसिद खान तथा कमल मण्डल लगायत ४०–४५ जनाको जथ्था आएर जवरजस्ती नम्बरी जग्गामा बनेको घर टहरा भत्काइदिएका हुन् ।

घर भत्काइदिने क्रममा आफुहरुले ‘किन घरटहरा भत्काइ दिएको ? नम्बरी जग्गामा बसेका छौं’ भनेर मेयर राईसहित आएकाहरुसँग प्रतिवाद गर्दा बुहारीलाई समेत मेयरले हातपात गरेको बताए । ‘हामीले नम्बरी जग्गामा भएको घरजग्गा कसरी भत्काउन पाइन्छ ? भनेर हारगुहार गरी बुहारीले घर भत्काईदिएको भिडियो खिच्दा मेयरले बुहारीमाथि नै हातपात गरे ।’ उनले भने ।

भगतका अनुसार उनीहरुले चिया नास्ता पसल चलाएको जग्गा नम्बरी हो । २ कठ्ठा १३ धुर जग्गामा रहेको घरटहरा भत्काइदिए पछि २ नाती, १ बुहारी, श्रीमती सहितको ५ जनाको परीवार विचल्लीमा परेको उनले बताएका छन् । उनका छोरा एक वर्षअघि बैदेशिक रोजगारीका लागि कुवेत गएका छन् ।

पिडीत गंगा भगतले आफुले भोगचलन गर्दै आएको उक्त २ कठ्ठा १३ धुर जग्गा सप्तकोशी बैंकमा राखेर छोरालाई विदेश पठाएको बताए । ‘मेरो जग्गा ऐलानी थियो भने बैंकले ऋण दिँदैनथ्यो, लालपुर्जा छ, तिरो तिरेको छु, उनीहरुले के आधारमा भत्काई दिए ?’ भगतले प्रश्न गरे । उनले वडा नं. ५ का वडाध्यक्ष कनैयालाल राजवंशीले छिमेकी धिरज सुनारसँग रिसिइवी साँध्न घरटहरा भत्काइ दिएको बताए । ‘हामीले बनाएको कल समेत उखालिदियो ।’

बैशाख १८ गते मेयरकै अगुवाईमा घर भत्काइ दिएपछि शान्तिसुरक्षा कायम गर्न र घटनाको छानविन गर्न उनीहरुले इलाका प्रहरी कार्यालय सिँजुवामा उजुरी समेत दिएका थिए । उक्त उजुरी उपर स्थानीय प्रहरीले पनि नम्बरी जग्गामा बनेको घर भत्काउन नमिल्ने भनेपनि आवश्यक कारवाही नगरेको उनको दावि छ । ‘प्रहरीले घटनामा मेयरको दादागिरी देखिएको बताएको छ । अहिले कोरोनाले गर्दा केही गरेको छैन ।’ उनले भने ।

रतुवामाई नगरपालिकाका उपमेयर दयन्त देबी चुडालले गंगा भगतको घर भत्काउने, उनीहरुको परीवारलाई उठिबास लगाउने कुनै निर्णय नभएको बताइन् । उनले घटना घटिसकेपछि आफुले त्यहाँको वस्तुस्थिति हेर्न गएको र घरटहरा भत्कीएको देखेको बताउँदै दक्षिणपट्टी दुई तल्ले घर भएको र उक्त घरलाई टहराले छेकेकोले भत्काएको भन्ने सुनेको बताइन् ।

‘घटना भएपछि म त्यहाँ गएँ, स्थानीयहरुसँग कुरा गर्दा उहाँहरुले मेयरज्यूनै आएर भत्काउन लगाएको बताए । तर, उनीहरुलाई त्यहाँबाट हटाउन नगरको कार्यपालिकाले निर्णय गरेको हैन । त्यो मेयरज्यूको एकलौटी निर्णय हो ।’ उनले भनिन् ।

यता रतुवामाई नगरपालिकाका मेयर रविन राईले गंगा भगतले सार्वजनिक जग्गा ओगटेको बताएका छन् । उनले २०३८ सालदेखि स्थानीय नम्बरी जग्गावालाले बजार सञ्चालन गर्न दिएको जग्गा २०५० सालमा कौडीको भाउमा किनेर भगत परीवारले जग्गा अतिक्रमण गरेको जिकिर गरे । ‘नम्बरी जग्गा भएपनि त्यो सार्वजनिक जग्गा हो, ३८ सालदेखि त्यहाँ बजार लागिरहेको छ । बजारको विचमा लालपुर्जा छ भन्दैमा खम्बा गाड्न पाइँदैन, त्यो बजार बसाउन दिइएको हो, घर हैन ।’ उनले भने ।

मेयर राईले राजनीतिक पूर्वाग्रह राखेर आफुलाई बद्नाम गर्न खोजेको बताए । ‘हामी यहाँ कोरोनाको महामारीबाट कसरी पार पाउने लडिरहेका छौं, यहि बेला केही सञ्चारकर्मीहरुले छद्मरुप धारण गरेर राजनीतिक आग्रह पूर्वाग्रह राखेर न्यूज बनाइदिने काम गरे ।’ उनले सञ्चारकर्मीले ब्रेकिङको नाममा बदनाम गर्ने काम गरेको बताए ।

नगरपालिकाका मेयरकै अगुवाइमा भगत परिवारलाई उठिबास लगाएकाे प्रति स्थानीय राजनीतिक दलहरूले पनि विराेध जनाएका छन् । स्थानीय नेकपा, समाजवादी, राप्रपा र राजपाका प्रतिनिधिहरूले भगतकाे परिवारकाे उठिबास लगाएर मेयर राईले अमानवीय ब्यवहारकाे परकाष्टा देखाएकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *