कोरोनाको भयावह डढेलो सल्किन सक्ने चेतावनी

चैत्र २३, काठमाडौं। पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोना महामारीको भयावह डढेलो सल्कन सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ट्विटरमा डा भट्टराईले कोरोना महामारीलाई आगोको एक झिल्कोसँग तुलना गरे।   

उनले आगोको एक झिल्कोले डढेलो लगाउन सक्ने भएकाले देशमा भयावह महामारीको डढेलो सल्किन सक्नेतर्फ सचेत गराएका हुन्। शनिवार नेपालभित्र कोरोना सरेको पहिलो घटना सार्वजनिक भएको थियो। सोही विषयमा ध्यानाकर्षण गराउँदै उनले अझै उच्च सतर्कता अपनाउने पर्ने बताएका हुन्।   

डा भट्टराईले ट्विटरमा लेखेका छन्,  ‘एउटै झिल्कोले डढेलो लगाउन सक्छ भनिन्छ ! अब देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएपछि आगामी दिन देशमा अझै भयावह महामारीको डढेलो सल्किन सक्छ!’ 

उनले स्थानीय तहमा पनि कोरोना परीक्षणको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए। भट्टराईले लकडाउन र क्वारेन्टाइनलाई समेत कडाइका साथ पालनका गर्न समेत अनुरोध गरे। उनले लेखेका छन्, ‘अतः लकडाउन र क्वारेन्टाइन कडाइसँग पालना गर्न र द्रुत परीक्षणको व्यवस्था तलतलसम्म गर्न राज्य र नागरिक हातेमालो गरौँ!’   

हिजो मात्र डा बाबुराम भट्टराई सम्मिलित कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल गठन भएको छ। कोरोना भाइरसको महामारीविरुद्धको लडाइँलाई व्यवस्थित गर्न सरकारलाई सघाउने र जनस्तरमा जनचेतना फैलाउने उद्देश्यले सार्वजनिक पहल गठन भएको बताइएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *