बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो

चैत २८, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको तर उनी अस्पतालमै रहने डाउनिङ्ग स्ट्रीटले जनाएको छ । 

कोरोनाभाइरसको सङ्क्रमण देखिएका जोनसन गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहेका छन् । ‘नम्बर टेन’ भनेर  चिनिने प्रधानमन्त्री कार्यालयले जोनसनलाई बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई डाक्टरहरूले निकटमा रहेर निगरानी गर्ने जनाएको छ । 

कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्‍याइएको थियो र त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो । उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको डाउनिङ्ग स्ट्रीटले यसअघि जनाएको थियो । 

उनको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएको र उपचारका क्रममा आफूले पाएको उत्कृष्ट सेवाका लागि उनले एनएचएसलाई धन्यवाद दिएको प्रवक्ताले बताए । यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोनसनलाई सघन उपचार कक्षबाट वार्डमा सारिनु शुभ समाचार भएको बताए । 

बीबीसी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *