र्‍यापिड टेष्टकिट प्रयोग नगर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९को रोकथाम तथा नियन्त्रणका लागि ल्याइएको र्‍यापिड टेष्टकिट प्रयोग नगर्न निर्देशन दिएको छ । 

मन्त्रालयका स्वास्थ्यविज्ञ डा. खेम कार्कीले विज्ञप्ति जारी गरी सरकारले चीनबाट ल्याएको टेष्टकिटकोगुणस्तर निर्क्यौल गरेपछि मात्रै प्रयोग गर्ने भएकाले अहिले प्रयोग नगर्न निर्देशन दिएका हुन् । “बजारमा अवैध ढङ्गले र्‍यापिड किट भित्र्याई जनमानसलाई भ्रममा पारी परीक्षण गर्न शुरु भइसकेको गुनासो आएपछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई र्‍यापिड किटको प्रयोग नगर्न निर्देशन दिएको हो”, विज्ञप्तिमा भनिएको छ ।   

मङ्गलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा पनि टेष्ट किटबारे सार्वजनिक गरेको उल्लेख गर्दै अनधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउनेबित्तिकै यस्तो नगर्न आग्रह गरिएको कार्कीले बताएका छन् ।   

“सरकारले खरिद गरेको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगका लागि वितरण हुने हो, विज्ञप्तिमा भनिएको छ ।   

उनले सरकारले चीनबाट खरिद गरी ल्याएको र्‍यापिड टेष्ट किट चीन सरकारले प्रमाणित गरेको किट रहेको बताएका छन् ।   

‘नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौँ टेष्ट गर्नुपरेको अवस्थामा पिसिआर मेसिनले धान्न नसक्ने भएकाले र्‍यापिड टेष्ट किट प्रयोग गरी स्क्रिनिङ्ग गर्ने तथा शङ्कास्पदको पिसिआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तरराष्ट्रिय मान्यताअनुसार पूर्वतयारी गर्न खोजिएको’ विज्ञप्तिमा उल्लेख छ ।   

अहिले युरोप, अमेरिकाले पनि यही विधिमार्फत नै परीक्षण गरिरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *