कोरोनाविरुद्धको लडाईमा केएमसीको साथ, बनायो ५० आइसोलेसन र ५० कोभिड शैया !


चैत २०, काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाईमा काठमाडौ मेडिकल कलेज पनि सरकार र जनताको साथमा उभिएको छ ।
कलेजले विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड-१९ विरुद्धको लडाईमा सरकार र जनतालाई आवश्यक सहयोग गर्न प्रतिवद्धता जनाएको हो । त्यसका लागि तयारी समेत थालिएको छ । काठमाडौं र दुवाकोट गरी दुवै जिल्लामा रहेको कलेजको अस्पतालमा ज्वरो क्लिनीक संचालनमा रहेको छ ।
यसका साथै शंकास्पद बिविरामीहरु आएमा अस्पतालमा आइसोलेसनमा राख्न पहिलो चरणमा ७ वेडको कोरोना आइसोलेसन क्यूबिकल वार्ड, १० बेडको कोरोना केयर वार्ड तथा ३ वटा भेन्टिलेटरसहित कोरोना केयर आईसियू बेड को स्थापना गरेको कलेजले जनाएको छ ।
मेडिकल डाइरेक्टर प्रा.डा. मुकुन्द राज जोशीका अनुसार कलेजले कोभिड–१९ को व्यवस्थापनका लागि टाक्स फार्स नै गठन गरेको छ । कुनै पनि सर्वसाधारणलाई कोरोनाको शंका लागेमा ज्वरो क्लिनिकमा आएर वा फोनबाटै आवश्यक जानकारी लिन सकिने व्यवस्था मिलाइएको पनि उनले बताए ।
सरकारको सहयोग पाएमा दुवाकोट अस्पतालमा २२ वटा तयारी अवस्थाको क्याबिन, १०० साधारण शैया (५० वटा आइसोलेसन र ५० वटा कोभिड शैया), ५ वटा भेन्टिलेटरसहित १० वटा आईसियू संचालन गर्ने योजना पनि छ ।
आवश्यक परे अस्पतालका सबै वेड सरकारलाई दिएर सहयोग गर्न तयार पारिएको छ । यसका लागि केएमसी व्यवस्थापनले स्वास्थ्य मन्त्रालय तथा भक्तपुरको स्थानीय सरकारलाई पत्राचार गरि सकेको जनाएको छ । कोरोनाविरुद्ध लड्न तीनै तहका सरकार र जनतालाई आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको कार्यकारी प्रमुख प्रा.डा. चन्दा कार्कीले बताए ।
