लकडाउन अनि पत्रकारीताः कसरी हुँदैछ रिपोर्टिङ ?

चैत्र २८, चितवन । सञ्चार माध्यम आम जनमानसमा सूचना प्रवाह गर्ने एउटै मात्र माध्यम हुन्, जहाँ दिनरात, घामपानी केही नभनि नागरिकलाई सू–सुचित गराउन पत्रकारहरु खटिन्छन् ।  

भनेको बेला परिवारलाई समय दिन समेत फुर्सद प्रायः हुँदै पत्रकारहरुको । तर केही दिन यता भने पत्रकारहरु फुर्सदिला देखिन्छन्  तर आफ्नो कर्तव्य भने पालना गरिरहेका छन् ।  

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अहिले धेरैजसो देश लकडाउनमा छ । नेपालमा पनि कोरोनाको संक्रमण देखिएपछि चैत ११ यता लकडाउन जारी छ । लकडाउन पछि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी आ–आफ्नो ड्युटीमा छन् भने पत्रकारहरु पनि आफ्नो कलम चलाइरहेका छन् ।  

तर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तो फिल्डमै नियमित उत्रनु भने परेको छैन । आवश्यकता अनुसार रिपोर्टिङका लागि फिल्डमै नपुगेका पनि होइनन् । लकडाउन भन्दा पनि कोरोना भाइरसको संक्रमणको त्रासले पत्रकारहरु पनि सुरक्षित तवरबाट रिपोर्टिङ गरिरहेका छन् । नेपाल पत्रकार महासंघ र सम्बन्धित काम गर्ने संस्थाले सुरक्षित भएर काम गर्न भनेका कारण पनि अहिले केही सजिलो भएको छ ।  

  

चितवनमा लामो समयदेखि छापा माध्यममा कलम चलाइरहेका हाल कान्तिपुर पत्रिकामा कार्यरत रमेशकुमार पौडेल आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउँछन् । कोरोनाको त्रासका कारण सुरक्षित तवरबाट (माक्स लगाउने, सामाजिक दुरी कायम गर्ने) जनतालाई सुसुचित गर्ने काम भइरहेको उनले बताए ।  

लकडाउनले सबै क्षेत्रलाई असर गरेको भन्दै पत्रकार पौडेलले गरिबीका पीडादेखि अस्पतालहरुको गतिविधि, बारीमै उत्पादन फाल्नु परेको किसानको व्यथा लगायत विषयमा रिपोर्टिङ गरिरहेको बताए । उनको बुझाइमा  कोरोनाले आर्थिक क्षेत्रमा ठुलो असर पुगेको छ ।  

लकडाउनका कारण घरमै बसेर काम गर्दा परिवारमा पनि खुशी बढेको उनको अनुभुती छ । ‘अरुबेला प्रायः फिल्डमा गएर रिपोर्टिङ गरिन्थ्यो, अबेर घर आउनुपर्थ्यो’, पत्रकार पौडेलले भने, ‘कार्यालय जान अनिवार्य नहुँदा काम गर्दै परिवारलाई समय दिइएको छ ।  

अन्य मिडियालाई भन्दा अनलाइन मिडियालाई अहिले अलि सहज भएको छ । अतिआवश्यक बाहेक अन्य विषयमा धेरैले घरबाटै रिपोर्टिङ गर्ने गरेका छन् ।  

‘सहज मान्न सकिन्छ, तर विश्वसनियताको कुरा आउँछ’ अनलाइन खबरका लागि चितवनबाट रिपोर्टिङ गर्दै आएका पत्रकार सुवास पण्डित भन्छन्, ‘अरुबेला जस्तो फिल्डमा निस्कनु परेको छैन् । सुरक्षित भएर आफ्नो पुरा गरिएको छ ।’ फिल्डमा निस्कदा सुरक्षित तरिकाले निस्कने गरेको उनी बताउँछन् ।  

टेलिभिजन पत्रकारीतालाई भिजोलको आवश्यकता पर्छ । नत्र समाचार खल्लो हुन्छ । यो विषम परिस्थितीमा बाहिर निस्कनु रिक्सको काम पनि हो । संस्थाले पनि फिल्डमा अनिवार्य नभएकाले भन्दा सजिलो भएको कान्तिपुर टेलिभिजनमा कार्यरत राजु चौधरी बताउँछन् । आवश्यकता अनुसार मात्रै फिल्डमा निस्कने गरेको चौधरीले बताए ।  

एफएमको कार्यालयमा बस्ने सुविधा  

चितवनका केही एफएम रेडियोहरुले विभिन्न उपाय अपनाएर निरन्तर सुचना प्रवाह गरिरहेका छन् । जिल्लाको कालिका एफएम र सिनर्जी एफएमले कर्मचारीहरुलाई खान बस्नको सुविधा दिएर काम गराइरहेको छ ।  

लकडाउन सुरु भएदेखि नै ति एफएमहरुले कर्मचारीहरुलाई सुरक्षित तरिकाले काममा खटाएका छन् । सिनर्जी एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेल कार्यालयमा समाचार र प्राविधि क्षेत्रमा काम गर्ने केही कर्मचारीलाई खान र बस्नको सुविधा दिएको बताउँछन् । कतिपय कार्यक्रम घरबाटै समेत संचालन गर्ने व्यवस्था मिलाइएको छ ।  

स्थानीय पत्रिका बन्द   

चितवनबाट प्रकाशित हुने पत्रपत्रिकाहरु लकडाउनको असरका कारण बन्द रहेका छन् । बजार पनि ठप्प रहनु र प्रिन्ट पेपरको अभावका कारण यहाँका दैनिक, साप्ताहिक, चैमासिक, मासिक जस्ता पत्रिका चैत १२ गतेदेखि बन्द भएका हुन् ।  

चितवनबाट दैनिक रुपमा प्रकाशित हुँदै आएको कायाकैरन दैनिकका प्रधान सम्पादक राजेश घिमिरे कोरोनाको महामारीपछि सिर्जित अवस्थाले यहाँका प्रिन्ट मिडियालाई असर गरेको बताउँछन् । पत्रिकै बन्द भएपनि सम्बनिधत पत्रिकाहरुको अनलाइन भने नियमित सञ्चालनमा रहेको घिमिरेले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *