वीपी प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. गिरीद्धारा पदभार ग्रहण

चैत्र २८, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले आज कार्यभार सम्हालेका छन् । आज अपरान्ह १२ बजे प्रतिष्ठान आएका विराटनगर निवासी गिरीले हाजिरी खातामा हाजिर गरी उपकुलपतिको कार्यभार संहालेका हुन् । 

उनलाई प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर शाह, सहायक अस्पताल निर्देशक डा. विकास साह, प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐर सहित कार्यरत चिकित्सक, कर्मचारीहरुले स्वागत गरेका छन् ।   

डा. गिरीलाई हिजो मात्रै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्त गरेका हुन् । प्रतिष्ठानको उपकुलपति नियुक्तिमा स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकालको संयोजकत्वमा सर्च कमिटि गठन गरिएको थियो । उक्त कमिटिले डा. गिरीसँगै प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनाल र डा. संजिव शर्मालाई सिफारिस गरेको थियो । जसमध्ये प्रधानमन्त्री ओलीले डा. गिरीलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।   

प्रतिष्ठानमा अस्पतालको सेवालाई चुस्तदुरुस्त र विस्तार गर्ने, शिक्षा र अनुसन्धानको गुणस्तर वृद्धि गर्ने, प्रशासनिक सुधार गर्ने हिसाबका डा. गिरीले सर्च कमिटिलाई कार्य योजना नै दिएका थिए । पदभार ग्रहण गरे लगत्तै डा. गिरीले प्रतिष्ठानको विकासमा सबैसँग सल्लाह सुझाव लिएर काम गर्ने बताएका छन् ।   

को हुन् डा. गिरी 

डा. ज्ञानेन्द्र गिरी वरिष्ठ मुटुरोग विषेशज्ञ चिकित्सक हुन् । उनी ४० वर्षदेखि चिकित्सा क्षेत्रमा कार्यरत छन् । विराटनगरको कोशी अञ्चल अस्पतालको विकास र विस्तारमा उनको महत्वपूर्ण योगदान छ ।   

डा. गिरीले सन् १९७४ मा नेपाल सरकारको निःशुल्क छात्रवृत्तिमा भारतको अल इण्डिया इन्सष्टिच्युटमा एमविविएस अध्ययन गर्ने अवसर पाउँदा उनी आफ्नो समयमा एम्सकै उत्कृष्ठ विद्यार्थी घोषित भएका थिए । 

सन् १९८५ मा एमडी उत्तिर्ण गरेपछि त्यहीबाट कार्डियोलोजी अध्ययन गरेका डा. गिरीले त्यसपछि भिजिटिङ प्रोफेसरका रुपमा अमेरिकाको कोर्नार्डाे युनिर्भसिटी अफ डेनभर्वमा एक वर्ष पढ्ने तथा पढाउने कार्य गरेका छन् ।   

त्यसपछि नेपाल नै फर्किएर विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा चिकित्सकीय सेवा दिएका डा. गिरीसँग साँढे चार वर्ष वीर अस्पतालमा समेत काम गरेको अनुभव छ । २८ वर्ष कोशी अञ्चल अस्पतालमा ब्यतित गरेका डा. गिरीपछि मेडिकल सुपरिटेण्डेन भए ।  

  

हक्की स्वभावका, आफ्ना कुरा स्पष्ट रुपमा राख्न सक्ने क्षमताका छन् । उनी पूर्वाञ्चलको हरेक गाउँ र शहरमा चिकित्सकीय सेवाका लागि पुगेका छन् । विराटनगरस्थित नोवेल मेडिकल कलेजका संस्थापक समेत रहेका डा. गिरीले त्यहाँ चार ब्याच विद्यार्थी उत्पादन गर्न योगदान दिएका छन् । उनले आफु प्रतिष्ठान सुधार्नकै लागि आएको बताएका छन् । ‘म संस्था बनाउन जाँदैछु । म गल्ती गर्दिन, गल्ती गर्नेलाई पनि छाड्दिन्छ ।’ उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *