फेसबुकमा ‘कोरोना देखियो पुष्टि हुन बाँकी’ लेख्ने पक्राउ

२०७७ वैशाख ३ गते

वैशाख १, सुर्खेत। सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको हो।
प्रहरीले आचार्यलाई फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले आचार्यलाई कारवाही गर्न अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए।
प्रहरीले ‘लेकबेँसी नगरपालिका वडा नं १ मा एक जनामा कोरोना देखियो’ भनेर फेसबुकमा पोष्ट गर्ने प्रेम विवश नामक प्रयोगकर्तालाई पनि खोजी गरिरहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका ल्याब इञ्चार्ज ओम आचार्यले कर्णाली प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण फेला नपरेको जानकारी दिए। -रासस

२०७७ वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित