विदेशबाट आएकाहरु घरमा, क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी मात्रै !


चैत २३, चितवन । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन र जनतालाई सुरक्षित राख्न सरकारले ल्याएको क्वारेन्टाइन नाम मात्रैको भएको छ ।
सरकारको निर्देशन अनुसार स्थानीय तहहरुले सम्भावित जोखिम हुन नदिन आ–आफ्नो पालिकामा क्वारेन्टाइन बनाएका छन् तर त्यसको प्रयोग भएको छैन ।
विदेशबाट आएकाहरु बस्न नमान्दा सरकारी क्वारेन्टाइन खाली भएको छ । होम क्वारेन्टाइनमै सुरक्षित रुपमा बसेको र उनीहरुको स्वास्थ्य परिक्षण, परामर्श दैनिक रुपमा भइरहेको सम्बन्धित पालिकाहरुले बताएका छन् ।
राप्तीमा स्वास्थ्यकर्मी मात्रै
चितवनको राप्ती नगरपालिकाले विदेशबाट आएकाहरुलाई अलग्गै राख्न ३३ वेडको क्वारेन्टाइन बनाएको छ । नगरपालिकाको वुद्धशान्ती माविमा क्वारेन्टाइन बनाएको हो तर अहिलेसम्म त्यहाँ कोही बसेका छैनन् ।
राप्ती नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख राममणी सिलवालका अनुसार विदेशबाट आएकाहरु कोही पनि अहिलेसम्म त्यहाँ बसेका छैनन् । विदेशबाट आएकाहरु घुलमिल भइसकेकाले क्वारेन्टाइनमा बस्नुको अर्थ पनि छैन ।
राप्तीमा चैत ४ गतेपछि ६६ जना विदेशबाट आएका छन् । उनीहरु होम क्वारेन्टाइनमै बसेका छन् । उनीहरुलाई फोन सम्र्पक गरेर स्वास्थ्य अवस्था बुझ्ने काम भईरहेको स्वास्थ्य शाखा उपप्रमुख सिलवालले बताए । होम क्वारेन्टाइनमा बसेका मध्ये ५० जनाको दुई हप्ता अवधि नाघिसकेको छ ।
कालिकामा वाइफाइ सहितको क्वारेन्टाइन
जिल्लाको कालिका नगरपालिकाले वाईफाईसहितको १५ वेडको क्वारेन्टाइन बनाएको छ । त्यति मात्रै नभइ सिसि क्यामेराको समेत व्यवस्था गरेको छ । तर त्यहाँ पनि अहिलेसम्म कोही बसेका छैनन् ।
कालिकामा चैत ४ पछि ६० जना विदेशबाट आएको नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले बताए । उनीहरु पनि होम क्वारेन्टाइनमै बसेका छन् ।
कालिकाले जुटपानी विद्यालयमा क्वारेनटाईन बनाएको छ । क्वारेन्टाइन स्वास्थ्यकर्मी, स्वयमसेवक, सुरक्षाकर्मीले कुरेर बसेको प्रमुख श्रेष्ठले बताए । नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीका अनुसार विदेशबाट आएका केहीको क्वारेन्टाइनमा बस्नुपर्ने अवधि सकिएको छ ।
खैरहनीमा घरमै निगरानी
अन्य पालिका जस्तै खैरहनी नगरपालिकाले तयारी अवस्थामा राखेको छ तर पनि बसेका छैनन् । नगरपालिकाले बनाएको क्वारेन्टाइनमा कोही नबसेपछि विदेशबाट आएकाहरुको घरघरमै पुगेर निगरानी राख्ने गरिएको स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए ।
खैरहनीमा ५६ वेडको क्वारेनटाईन तयारी अवस्थामा छ । होम क्वारेनटाईनमै बसेकाहरुलाई आवश्यक सामाग्री पुर्याउने समेत व्यवस्था मिलाईएको छ । सरकारी क्वारेनटाईन भन्दा होम क्वारेनटाईन रुचाउने भएकाले उनीहरुलाई सुरक्षित रुपमा घरमै राखिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । खैरहनी नगरपालिकामा ४१ जना चैत ४ गतेदेखी आएको तथ्यांक छ ।
रत्ननगरमा आईसोलेसन केन्द्र
चितवनको ठुलो नगरपालिका रत्ननगर नगरपालिकाले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आईसोलेस नै निर्माण गरेको छ । पिठुवामा रहेको गुन्जमान सिंह अस्पतालमा २० वेड र रत्ननगर वकुलहर अस्पतालमा ३ वेडको आईसोलेसन केन्द्र निर्माण गरिएको नगर प्रवक्ता राजेन्द्र हमालले बताए । तर त्यहाँ बिरामी राख्नुपर्ने अवस्था अहिले सम्म नरहेको उनको भनाइ छ ।
सौराहाका व्यवसायीले होटललाई क्वारेनटाईनको रुपमा प्रयोग गर्न दिने भएकाले ४००० वेड तयारी रहेको हमालले बताए । रत्ननगरमा ५२ जना विदेशबाट आएको तथ्यांक छ ।
भरतपुरको क्वारेनटाईन पनि उस्तै
देशमै मध्यभागमा रहेको भरतपुर महानगरपालिकाले पनि क्वारेनटाईन तयारी अवस्थामा राखेको छ । तर यहाँ कोरोना अस्पतालनै निर्माण गरिएको छ । भरतपुर महानगरपालिकाले यहाँका होटलहरुमा १७७ कोठाको क्वारेनटाईन वनाएको तर अहिले सम्म प्रयोगमा नआएको महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले जानकारी दिए ।
महानगरकै नेतृत्वमा भरतपुर कोराना विषेश अस्थायी अस्पताल निर्माण गरिएको छ । भरतपुरमा करिव २५० जना विदेशबाट आएकोमा आधा जति फर्किसकेका प्रवक्ता भण्डारीले वताए ।
इच्छाकामना पनि खाली
जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाले पनि १९ वेडको क्वारेनटाईन बनाएको छ । तर यसको प्रयोग भएको छैन । विदेशबाट फर्किएका १६ जना भएपनि उनीहरु होम क्वारेनटाईनमै वसेको गाउँपालिका अध्यक्ष गीता गुरुङले बताइन् । तर भारतबाट उद्धार गरि ल्याईएको ४६ जना मध्ये ७ जनालाई स्कुलमा क्वारेनटाईन बनाएर राखिएको छ भने अरु होम क्वारेनटाईनमा रहेको अध्यक्ष गुरुङको भनाई छ ।
माडीको क्वारेनटाईन्नमा बसे २२ जना
जिल्लाको दक्षिणी भेगमा रहेको माडी नगरपालिकामा वनाईएको क्वारेनटाईन प्रयोगमा आएको छ । अन्य पालिकाहरु नाम मात्रैको रहेका बेला माडी नगरपालिकाले बनाएको क्वारेनटाईनमा २२ जना बसेकोमा २१ जना समयावधि कटाएर घर फर्किएको माडी नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकालले बताए । अहिले १ जना क्वारेनटाईनमा छन् ।
क्वारेनटाईनमा बसेका सबै भारतबाट आएका हुन् । माडी भारतीय सिमासँग जोडिएको नगरपालिका हो । त्यहाँ स्वास्थ्यकर्मी खटाईएको छ ।
माडीमा विदेशबाट आएका ९० जनाको तथ्यांक रहेको छ । अरु होमक्वारेनटाईनमा बसेका र उनीहरुको घरमै गएर स्वास्थ्य अवस्था बुझ्ने काम भईरहेको प्रमुख ढकालले बताए ।
