सनसिटीबाट धुलिखेल आएका युवालाई प्रहरीको निगरानी

  

वैशाख १, काभ्रेपलाञ्चोक। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ। 

सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको  र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी साेमबार नै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित घर आएका थिए। 

धुलिखेल नपा–७ सरस्वती बजारमा ती पुरुषको निगरानी गर्न हिजो साँझदेखि नै प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनले भने, ‘सूचना पाउनासाथ हिजैदेखि प्रहरीले निगरानी गरिरहेका छन्, उनको आज प्रहरीकै निगरानीमा कोरोना भाइरस परीक्षण गर्नेछौँ।’ उनका अनुसार उनलाई घरमा छुट्टै तरिकाले बस्न लगाइएको छ। 

कोरोना भाइरस देखिएका आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ। कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ को परीक्षण गर्दा ती तीन जनाको ‘रिपोर्ट पोजेटिभ’ आएको थियो। 

उनीहरुलाई पाटन अस्पतालमा आइसोलेसनमा राखिएको छ। उक्त अपार्टमेन्टमा सोमबार नै ‘सिल’ गरिएको छ। पाँचवटा सनसिटी टावरमा करिव ५०० परिवारको क्षमता रहेको फ्ल्याट छन्। -रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *