सुदूरपश्चिममा आरटीपीसीआर मेसिन जडानः आजैदेखि कोरोना परीक्षण सुरु गर्ने तयारी

चैत्र २७, धनगढी। कैलालीको धनगढीमा बुधवार साँझ मात्रै आरटीपीसीआर मेसिन जडान सम्पन्न भएको छ। जडान भएको मेसिनबाट बिहीबारदेखि नै परीक्षण सुरु गर्ने तयारी गरिएको छ। धेरै नमुना परीक्षण गर्न मिल्ने मेसिन धनगढीस्थित भेटेनरी पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा जडान गरिएको हो।   

नमुना परीक्षणमा चाहिने अन्य सर्जिकल सामाग्री जुटाएर सम्भवत आज साँझबाट नै नमुना परीक्षण सुरु गर्ने तयारी भइरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले जानकारी दिइन्। उनकाअनुसार ‘आरटीपीसीआर मेसिन’ जडान भएसँगै परीक्षणले गति पाउनेछ।   

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको मेसिनकै क्षमता बराबरको उक्त मेसिन जडानपछि परीक्षणको दायरा बढ्ने विश्वास गरिएको छ। मेसिनबाट एक दिनमा चार सय जनासम्मको नमुना परीक्षण गर्न सकिने बताइएको छ। मेसिन बुधवार मात्रै धनगढी पुगेको हो। 

यससँगै अहिले कैलाली कञ्चनपुरसँगै पहाडी जिल्लाहरूका क्वारेन्टाइनमा राखिएकाको रगत तथा स्वाबको नमुना लिने कार्य तीव्र गतिमा चलिरहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *