जनसेवाको निर्वाचन : नेकपा एकतिर अरु पार्टी अर्कोतिर


फागुन २४, चितवन । चितवनको राप्ती नगरपालिका ८ खुरखुरेमा रहेको जनसेवा वहुद्धेश्यीय सहकारी संस्थाको नयाँ नेतृत्वका लागि नेकपा र लोकतान्त्रिक समुहबीच प्रतिस्पर्धा हुने भएको छ ।
उनीहरुले प्यानलनै वनाएर चुनावमा होमिएका छन् ।
नेकपा स्थायी समिति सदस्य समेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र रहेको सो सहकारीको निर्वाचनमा नेकपा एकातिर छ भने कांग्रेस, माले र राप्रपाले लोकतान्त्रिक प्यालन बनाएका छन् । ९ जनाको कार्यसमिति चयनमा बहुमत ल्याउने प्यानलले अध्यक्ष, उपाध्यक्ष र जिल्ला प्रतिनिधि चयन गर्ने छ ।
बहुमत सदस्यहरुबाट अध्यक्ष र उपाध्यक्ष चयन गर्ने सहकारीको प्रावधान रहेको छ । नेकपाबाट अध्यक्षका दावेदार समेत रहेका हरिशरण डल्लाकोटीसहित ९ जनाको उम्मेदवारी छ ।
यता लोकतान्त्रिक प्यानलबाट अध्यक्षका दावेदार वर्तमान अध्यक्ष समेत रहेका खेमराज पाठकसहितको उम्मेदवारी परेको छ । पाठक नेकपा निकट भएपनि पार्टी सदस्यता नविकरण नगरेको श्रोतले बताएको छ । उनी जसरी पनि अध्यक्ष हुनका लागि लोकतान्त्रिक प्यालनबाट उम्मेदवारी दिएको बताईन्छ । तीन जनाको लेखा समितिका लागि ६ जनाको उम्मेदवारी परेको निर्वाचन संयोजक शैलेन्द्र भण्डारीले बताए ।
आगामी ४ वर्षे कार्यकालका लागि चैत १ गते मतदानको मिति तोकिएको निर्वाचन संयोजक भण्डारीले बताए । मतदानमा ३ सय ६० जना मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।
