निर्भया बलात्कार काण्ड : वकिलले भने, ‘घटनास्थलमा थिएनन् मुकेश’

चैत ४, काठमाडौं । निर्भयाका चारै दोषीलाई २० मार्च बिहान साँढे पाँच बजे फासी दिइने घोषणा गरिएको छ । फासीबाट बच्नका लागि सबै दोषीले अलग-अलग कानूनी दाउपेच अवलम्बन गरिरहेका छन् । यसैक्रममा मंगलबार एक दोषी मुकेश सिंहका वकिल एमएल शर्माले दिल्लीको एक अदालतमा अपिल दायर गराएका छन् ।   

अपिलमा मुकेश घटनाको समय घटनास्थलमा नै नभएको बताइएको छ । वकिलले मुकेशलाई जेलमा यातना दिएको पनि आरोप लगाएका छन् ।   

यो महिनाको सुरुमै दिल्ली अदालतले चारै दोषी मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षय सिंहलाई २० मार्च विहान साँढे पाँच बजे फासीको वारेन्ट जारी गरिसकेको छ । यो भन्दा अघि तीन पटक फासीको मिति टर्दै आएको छ । 

वकिलको दावी : राजस्थानबाट पक्राउ परेका थिए मुकेश   

वकिल शर्माले मंगलवार अदालतमा दायर गरेको अपिलमा मुकेशलाई १७ डिसेम्बरमा राजस्थानबाट पक्राउ गरिएको दावी गरेका छन् । घटना घटेको समय उनी घटनास्थलमा नभएको जनाइएको छ । मुकेशलाई तिहाड जेलमा टर्चर दिइएको आरोप पनि वकिलले आरोप लगाएका छन् ।   

यसैबीच तिहाड़ जेल प्रशासनले दोषीहरुलाई फासी दिने तयारी गरेको छ । जेलका अधिकारीहरुले उत्तर प्रदेशको मेरठ निवासी पवन जल्लादलाई फासी दिनु भन्दा तीन दिन अघि अर्थात् मार्च १७ मा जेलमा उपस्थित हुन भनेको छ । पवन आएपछि जेलका अधिकारीहरुले एक पटक डमी फासीको टेष्ट गर्नेछन् ।   

१६ डिसेम्वर २०१२ ः ६ जना आरोपीद्वारा निर्भयामाथि बलात्कार   

दिल्लीमा प्यारा मेडिकल छात्रामाथि १६ डिसेम्बर २०१२ को रात गुडिरहेको बसमा ६ जनाले बलात्कार गरेका थिए । बलात्कारबाट गम्भिर घाइते भएकी निर्भयाको २६ डिसेम्बरमा सिङ्गापुरमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनाको ९ महिना पछि अर्थात् सेप्टेम्बर २०१३ मा तल्लो अदालतले ५ आरोपी राम सिंह, पवन, अक्षय, विनय र मुकेशको फासीको सजाय सुनाएको थियो ।   

मार्च २०१४ मा हाइकोर्ट र मे २०१७ मा सुप्रिम कोर्टले फासीको सजालाई कायम नै राखेको थियो । ट्रयलको समयमा मुख्य ओरोपी राम सिंहले तिहाड जेलमा झुण्डिएर आत्महत्या गरेका थिए । अर्का दोषी नाबालिक भएका कारण ३ वर्षपछि सुधार गृहबाट छुटेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *