अस्पताल भर्ना भए प्रधानमन्त्री ओली, ६०१ नम्बर क्याबिनमा राखिने


काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्री ओली बुधबार हुने मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल भर्ना भएका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् । उनकी भान्जी भने प्रधानमन्त्री भर्ना हुनु अघि नै भर्ना भइसकेकी छन् ।
अस्पताल भर्ना हुन जानु अघि उनले भिडियो सन्देशमार्फत आफ्नो पुनः मिर्गौला प्रत्यारोपणपछि स्वस्थ्य भएर छिट्टै काममा फर्किने बताएका हुन् ।
६०१ नम्बर क्याबिन प्रधानमन्त्रीका लागि
सोमबार साँझ दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि भर्ना भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि त्रिवि शिक्षण अस्पतालले ६०१ नम्बर क्याबिन छुट्याएको छ।
अस्पताल श्रोतका अनुसार उनका लागि उक्त क्याबिन छुट्याएर तयारी अवस्थामा राखिएको हो।
यो भिभिआईपी क्याबिन रहेको प्रधानमन्त्रीको उपचारका संलग्न एक चिकित्सकले जानकारी दिएका छन्।
शिक्षण अस्पतालले एनेक्स वार्डका ६०१ र ६०२ नम्बरका दुईवटा क्याबिन भिआईपीका लागि छुट्याएको छ।
यी दुई क्याबिन अस्पतालका सबैभन्दा सुविधासम्पन्न क्याबिन हुन्।
दुई भिआईपी क्याबिनमध्ये ६०१ नम्बर क्याबिनामा मिर्गौला प्रत्यारोपणका क्रममा प्रधानमन्त्री रहनेछन्।
