‘कोरोना उपचारका लागि नेशनल मेडिकल कलेज पुरै क्वारेन्टाइन बनाउन दिन्छु’ डाइरेक्टर अन्सारी


चैत्र १६, विरगंज । विरगंजको नेशनल मेडिकल कलेजलाई आवश्यक परे सरकारले पुरै क्वारेन्टाइन बनाउन सक्ने कलेजका म्यानेजिङ डाइरेक्टर बसुरुद्धिन अन्सारीले बताएका छन् । यसअघि अस्पतालमा ५० वेडको क्यारेन्टाइन निर्माण गरिसकेकोमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चाहिएको बेला पुरै क्वारेन्टाइन बनाउन दिने अन्सारीले बताए ।
विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले मुलुकलाई नै लकडाउन गरेको बेला एउटा सच्चा नागरिकको हिसाबले सरकारको अभियानमा साथ दिने अन्सारीको भनाई छ ।
‘सरकारी स्तरमा भएका संरचना र अस्पतालहरुले मात्र कोरोना संक्रमण नियन्त्रणमा आउन सक्दैन, आवश्यक परेकोबेला म पुरै नेशनल मेडिकल कलेजलाई क्वारेन्टाइन बनाउन प्रतिबद्ध छु ।’ अन्सारीले भने ।
दुई दिनअघि मात्र विरगंजका निजी स्वास्थ्य प्रतिष्ठानहरुमा कुल बेड संख्याको १० प्रतिशत बेड संख्या अनिबार्य क्वारेन्टाइन र आइसोलेशनको लागि छुट्याउनु पर्ने निर्णय गरिएको थियो । उक्त निर्णयको कार्यन्वयन भए नभएको अनुगमन गरिने पर्साका सूचना अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।
अहिले नेशनल मेडिकल कलेजले ५०, बयोधा अस्पतालले ४ नारायणीले ५ बेड कोरोनाको उपचार र ब्यवस्थापनका लागि छुट्याएका छन् । प्रशासनले केडिया डेन्टल अस्पताल भंसार एरियामा बनाएको ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । उक्त क्वारेन्टाइनमा लकडाउनको पहिलो दिनमा ६८ जना र दोस्रो दिन १९ जनालाई राखिएर सोधपुछ गरिएको थियो । क्वारेन्टाइनमा आएकाहरुले आफुहरु होम क्वारेन्टाइनमा बस्ने भनेपनि आवश्यक जाँचबुझ गरेर स्थानीय प्रशासनले पठाएको थियो ।
नारायणी अस्पतालमा कोरोना संक्रमणको आशंकामा ५ जनाको आइसोलेशन बेडमा राखेर उपचार भैरहेको भएपनि उनीहरुको स्वास्थ्य नर्मल भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायल बताएका छन् । ती पाँच जनामा ३ जना कतारबाट, एक जना भारतको बैंगलोरबाट र एक जना उनीहरुसँगै स्वास्थ्य परीक्षणका लागि आएका आफन्त हुन् । उनीहरुलाई स्वास्थ्यवस्था हेरेर घर फर्काउने योजना छ ।
लकडाउनको बेला कुनैपनि रोगीलाई अभावको कारण समस्या झेल्नु नपरोस भनेर आवश्यकीय सबै प्रकारको उपचारको ब्यबस्था गरिएको नेशनल मेडिकल कलेजका डाइरेक्टर बसुरुद्दिन अन्सारीले बताएका छन् ।
संबिधान सभा पूर्वसदस्य नेकपा पर्साका नेता राजकुमार गुप्ताले सरकारले आवश्यक्ता महशुष गरेको खण्डमा नेशनल मेडिकल कलेजले राष्ट्रिय अभिभारा सम्झेर संकटको घडिमा पुरै अस्पताल नै कोरोना रोकथामको निम्ति राष्ट्रको नाममा समर्पण गर्ने घोषणा गर्नु राष्ट्रियताको सबैभन्दा ठूलो भावना जागृत भएको बताए । उनले संकटको घडीमा सबैले आ–आफ्नो स्तरबाट राज्यलाई सहयोग गर्नुपर्ने बताउँदै आम नागरिकले पनि घरबाट ननिस्केर सरकारको आव्हानलाई सघाउ पुर्याउनु पर्ने बताए ।
