तीन पालिका जोडने मल्म-ढोरपाटन सडक निर्माणमा तिव्रता


माघ २५, बागलुङ । तीन पालिका जोड्ने मल्म ढोरपाटन सडक ग्राबेल गर्ने कार्य तिव्र रुपमा अघि बढीरहेको छ ।
मल्म पाण्डवखानी, रमुवा, रणसिंहकिटेनी हुँदैन ढोरपाटन जोडने सडकको दोस्रो चरणको स्तरोन्नति कार्य तिव्र रुपमा भइरहेको छ ।
गत वर्ष मध्यपहाडी लोकमार्गको आँगाखेत जिरो कि.मीदेखि ओदाह सम्म झण्डै ८ सय मिटर सडक ग्राबेल गरिएको थियो । यस वर्ष गण्डकी प्रदेश सरकार भौतिक मन्त्रालयबाट विनियोजित रकम १ करोडको लागतमा अहिले सडक स्तरोन्नति सँगै ग्राबेलको काम चलिरहेको छ । अहिले आगाँखेत बजारमा कटिङ गरि मेसिनरी वाल लगाउने काम भईरहेको छ ।
त्यस्तै ग्राबेलको लागि आवश्यक तयारी गर्न म्याला चौतारा देखि छरछरे, ओदाह देखि म्याला चौतारा र छरछरे देखि सानोखोला सम्म खसेका पहिराहरु सफाई गर्न स्काभेटर मेसिन प्रयोग गरि आवश्यक काम भईरहेको केसी निर्माण सेवा तथा गलकोट घुम्टे सप्लार्यसका सञ्चालक हुम थापाले जानकारी दिए ।
थापाका अनुसार आवश्यकता अनुसार बिच बिचमा ग्याविन वाल, मेसिनरी वाल, पक्की नालीबाट आएको पानीलाई व्यवस्थित गर्न हिम पाईपहरु समेत सडकमा व्यवस्थापन हुने छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको रुपमा रहेको यस सडकलाई लाईफ लाईन सडकको रुपमा हेरिएको छ ।
पर्यटकीय स्थल घुम्टे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु, पाण्डवखानी होम स्टेमा पुग्ने पर्यटकहरु र ढोरपाटन पुग्ने पर्यटकहरुलाई यस सडकको स्तरोन्नतिले थप सहजता प्रदान गर्ने छ ।
सडकको स्तरोन्नति र ग्राबेलको कामलाई क्रमिक रुपमा अगाडी बढाउने लक्ष्य अनुरुप सडकलाई अहिले गण्डकी प्रदेश सरकार भौतिक मन्त्रालयले मन्त्रालयको रातो किताबमा राखेको छ । ७.५ मिटर चौडाई अनि पक्की नाली सहित ग्राबेलको कामले अहिले तिव्रता पाएको छ ।
गत वर्ष सामाजिक संस्था घुम्टे युवा परिवारले संस्थाको ३४ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेलाका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतलाई सडक स्तरोन्नति र ग्राबेल सँगै कालोपत्रेको लागि माग गरेको थियो ।
मन्त्री बस्नेतले सडकलाई आवश्यकता अनुसार स्तरोन्नति गरिने प्रतिवद्वता जनाए अनुरुप आर्थिक वर्ष २०७६÷०७७ को बजेटबाट १ करोड बजेट विनियोजन भएको हो । अहिले सानोखोला सम्म सडकको स्तरोन्नति हुनेछ । यस पश्चात अब आउने बजेट बाट सानोखोला देखि क्रमश सडकलाई फराकिलो पार्दै लैजाने र उक्त कार्य सम्पन्न भएपछि ग्राबेलको काम अगाडी बढाईने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए ।
सडक विकासको मुख्य पुर्वाधार भएकोले हामीले यसलाई प्राथमिकताका साथ अगाडी बढाएको वडा अध्यक्ष थापाको भनाई छ । सडक निर्माण सँगै पर्यटकीय क्षेत्रले समेत फडको मार्ने अपेक्षा लिईएको उनले बताए ।
