कोरोनाको प्रभाव : सुन हालसम्मकै महँगो, तानातानमा नेपाल, यसरी गयो ट्रस्टको १७३ रोपनी व्यक्तिका नाममा

फागुन ७, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरक-फरक विषयका समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले व्यक्तिका नाममा मोही दर्ता गरिदिएका काठमाडौंका १७३ रोपनी जग्गा आफ्नो नाउँमा ल्याउनुपर्ने सिफारिस नेपाल ट्रस्टको कार्यालयले गरेको समाचार अन्नपूर्णमा छ । 

भट्टराई र गच्छदारले ट्रस्टको नाममा रहेका काठमाडौंको थानकोट, मातातीर्थ, बालाजु र सतुंगलका ती जग्गा मन्त्रिपरिषद्बाट ‘नीतिगत निर्णय’ गराई करिब सयजना व्यक्तिका नाममा दर्ता गरिदिएका थिए । ती जग्गा कसरी व्यक्तिका नाममा दर्ता भए भन्नेबारे अध्ययन गरी सिफारिस गर्न ट्रस्टले समिति गठन गरेको थियो । समितिले गत जेठ ७ गते सिफारिस–प्रतिवेदन तयार गरेको अन्नपूर्णलाई प्राप्त ट्रस्टको वार्षिक प्रतिवेदन (सार्वजनिक नभएको) मा उल्लेख छ । 

प्रतिवेदनअनुसार भट्टराई र गच्छदारले मातातीर्थको ५९ रोपनी एक आना तीन पैसा, थानकोट महादेवस्थानको एक सय २ रोपनी तीन पैसा, सतुंगलको एक रोपनी ६ आना एक पैसा र बालाजु (इचंगु) को १० रोपनी ६ आना एक पैसा जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता गरिदिएका थिए । उक्त समितिले आफ्नो प्रतिवेदन ट्रस्टलाई बुझाइसकेको छ भने ट्रस्टले सरकारी, सार्वजनिक तथा गुठी जग्गासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगसमक्ष पेस गरेको छ । 

समाचार अनुसार ट्रस्टको उक्त प्रतिवेदन प्राप्त भएको जानकारी दिँदै आयोगका सदस्य जानकीबल्लभ अधिकारीले व्यक्तिका नाममा दर्ता भएका ती जग्गाबारे छानबिन भइरहेको बताए । विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईको अध्यक्षतामा यसै वर्ष गठित उक्त आयोगले सार्वजनिक, गुठी जग्गा अतिक्रमण छानबिन गरी कारबाहीका लागि सरकारलाई सिफारिस गर्छ । 

कान्तिपुरले ‘तानातानमा नेपाल’ शीर्षकको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ । पार्टीको तीनमहिने विशेष अभियान सुरु गर्न बाँकेको कोहलपुर जान लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल आइतबार सबेरै कोटेश्वरस्थित माधवकुमार नेपालको घर पुगे र झन्डै डेढ घण्टा अलमलिए । लगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा नेपाल निवास पुगे र भलाकुसारी गरे । त्यही साँझ नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीसँग उसैगरी छलफल भयो । 

समाचार अनुसार गत माघ १९ गते सकिएको नेकपा केन्द्रीय कमिटी बैठकपछि नेपाललाई भेट्न र छलफल गर्न दुवै अध्यक्ष उत्तिकै सक्रिय देखिन्छन् । ‘अहिले उहाँलाई आ–आफ्नो टिममा पार्न दुवै अध्यक्षले प्रयास गरेझैं देखिएको छ,’ नेपालनिकट एक नेताले कान्तिपुरसँग भने, ‘एउटा अध्यक्षले भेटेपछि अर्को अध्यक्षले भेटिहाल्ने या आफ्ना दूतलाई भेट्न पठाउने क्रम बढेको छ ।’ 

ओली पक्षका दुई अस्त्र 

ओली पक्षले नेपालमाथि ‘फकाउने’ र ‘तर्साउने’ दुवै अस्त्र प्रयोग गरिरहेको जानकार स्रोतहरूले उल्लेख गरेका छन् । केन्द्रीय कमिटी बैठक सकिनेबित्तिकै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई एउटा सन्देश स्पष्ट मिल्यो, अब आफ्नो मात्रै निर्णयबाट पार्टी चल्न मुस्किल छ । त्यो ठम्याइले उनलाई लामो समयदेखिको नेपालसँगको संवादहीनता तोड्न उद्यत गर्‍यो समाचारमा छ ।  सम्भवतः त्यही कारण बैठकलगत्तै पहिलो ‘वन अन वन मिटिङ’ नेपालसँगै गरे । माघ २० गते करिब चार घण्टा लामो छलफलमा ओलीको प्रस्ताव ‘अब मिलेर जाऔं’ भन्ने रहेको र त्यसमा नेपालले संशय व्यक्त गरेको उनीहरूनिकट स्रोतहरूको भनाइ छ । 

ओली र नेपालबीच त्यसयता पनि चार पटक विस्तृत छलफल भइसकेका छन् । ओली पक्षधर मानिने केही केन्द्रीय नेताहरू नेपालसँगको ‘तीतो’ हटाएर पार्टीभित्र गणितीय हिसाबले आफ्नो पक्षलाई बलियो बनाउन सक्रिय देखिन्छन् । ओली–नेपाल साझेदारी हुँदा पूर्वएमाले पक्ष एकीकृत रहने, त्यसको बलमा पूर्वमाओवादी पक्षका अध्यक्ष दाहाललाई ‘दबाब’ मा राख्न सकिने र विस्तारै उनलाई पूर्वएमालेका एजेन्डामा समाहित गराउन सकिने ओली पक्षधरको तर्क छ । ‘उहाँहरू यस्तै–यस्तै कुरामा छलफल गरिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘तर माधव नेपाल झ्याप्पै विश्वास गरिहाल्ने अवस्थामा हुनुहुन्न ।’ 

गोरखापत्रले चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको समाचार छापेको छ ।  कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा अन्य आर्थिक गतिविधिमा सुस्तता आएसँगै विश्वका लगानीकर्ता सुन बजारमा आकर्षित भएकाले सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार सुन प्रतिऔँस १५८७.७७ डलर कायम भएको छ । यो ५.१४ डलरले उकालो लागेको हो । केही दिनअघि पनि यो मूल्यले उछाल मारेर १६१० डलर पुगेको थियो तर यो निकै छोटो अवधि मात्र कायम रहेकाले त्यसको प्रभाव नेपाली बजारमा भने नपरेको सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए । 

तर फेरि पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य छिटै नै एक हजार छ सय डलरभन्दा माथि पुग्ने अनुमान गर्न थालिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाली बजारमा पनि सुनले नयाँ रेकर्ड बनाएको छ । मङ्गलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार सात सय रुपियाँमा कारोबार भयो । यसअघि गत माघ १८ गते ७६ हजार पाँच सय रुपियाँको रेकर्ड बनाएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार चार सय रुपियाँमा किनबेच भएको छ, समाचारमा छ ।   

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदी ८९० रुपियाँ प्रतितोलामा कारोबार भएको छ । सुनको मूल्य बढेसँगै कारोबारमा कमी आएको व्यवसायीले बताएका छन् । लगातारको मूल्यवृद्धि र सरकारले लिएको नीतिका कारण पछिल्लो छ महिनामा सुन आयात गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतभन्दा बढी घटेको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७६÷७७ को पहिलो छ महिनामा आठ अर्ब ६० लाख रुपियाँको सुन आयात भएको छ । 

नागरिकले गोप्य फाइल खोतल्दै सिआइबी शीर्षकको समाचार प्रकाशित गरेको छ । ललितानिवास जग्गा हिनामिना प्रकरणमा १ सय ७५ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरुबारेका गोप्य फाइलसहितका कागजात खोतल्न सुरु गरेको छ । विशेष अदालतमा शुक्रबार मुद्दा दर्तापछि सिआइबीले सम्बन्धित व्यक्ति तथा कार्यालयहरुबाटै कागजी प्रमाण झिकाएर भित्री अनुसन्धान सुरु गरेको हो । 

सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले अनुसन्धानका क्रममा गोप्य फाइल अध्ययन गर्नुपर्ने बताए । उनका अनुसार सिआइबीले गर्ने बाँकी अनुसन्धानको पाटो मुख्यतया कागजी फाइल नै हुनेछ । पुराना फाइल तथा दस्तावेजमात्रै नभएर व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने योजना सिआइबीको छ । अनुसन्धानका लागि सरकारी निकायबाट पत्र झिकाउने कार्य सुरु भएको छ । 

‘गहन कागजपत्र र अध्ययनपछि मात्रै यसको सत्यतथ्य बाहिर आउन सक्छ । हामीले कागजातलाई मुख्य आधार बनाएका छौं,’ उनले भने, ‘सक्दो छिटो अनुसन्धान सकिन्छ । अहिले सरकारी निकाय तथा व्यक्तिहरुबाटै हामीले दस्तावेज माग गरिरहेका छौं ।’ उनले ककसलाई पक्राउ गर्ने भन्नेबारे योजना बनिसकेको तर त्यसलाई अहिले सावर्जनिक गर्न नमिल्ने बताए। ‘किर्ते गरी सरकारी जग्गा हिनामिना गरेको भन्दै शुक्रबार ब्युरोमा किटानी जाहेरी परेको छ,’ पाण्डेले भने, ‘यसमा गहन र संवेदनशील तवरले अनुसन्धान हुन्छ ।’ समाचारमा छ ।   

सिआइबीले किटानी जाहेरी परेकाहरूलाई योजनाबद्ध ढंगले पक्राउ गरी कारबाही तथा अनुसन्धान गरिने बताएको छ । प्रकरणसँग जोडिएका व्यक्तिहरुले गरेको जग्गा खरिदबिक्री र अन्य कागजातको पनि गोप्य अध्ययन हुनेछ । दोषीलाई उम्कन नदिनेगरी अनुसन्धान भइरहेको दाबी सिआइबीको छ । बालुवाटारको हडपिएको सो जग्गामा राज्यका शक्तिशाली व्यक्ति भोगाधिकारी छन् । 

राजधानीमा चीनबाट उद्दार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको समाचार छ ।  नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलवार बेलुकासम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको हो । नतिजा नेगेटिभ आएकाले उनीहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पाइएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *