जनयुद्ध दिवस : जनयुद्धको अवशेष अझै बाँकी ! (सम्पादकीय)

दश वर्षसम्म माओवादीले सशस्त्र जनआन्दोलन गरेको आज २४ वर्ष पुगेको छ । २०५२ फागुन १ गतेबाट तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले मुलुकमा आमुल राजनीतिक परिवर्तनका लागि भूमिगत रुपमा सशस्त्र जनआन्दोलन चलाएको थियो । त्यसको उपलब्धि आज जनताद्वारा शासित धर्म निरिपेक्ष राष्ट्र बनेको छ देश । राजनीतिक परिवर्तनमार्फत समतामुलक एवं समृद्ध नेपालको परिकल्पना गरेर विगतमा विभिन्न राजनीतिक संघर्षहरुको पूर्णता, दश वर्षे जनयुद्ध र दोश्रो जनआन्दोलन पछि प्राप्त भएको अहिलेका राजनीतिक दलहरुले ठानेका छन् ।   

पूर्व माओवादीहरु दश वर्ष जनयुद्ध र दोश्रो जनआन्दोलनमा ठूलो त्याग, बलिदान, हजारौं घाइतेहरुको रगत, पसिना, हजारौं शहीद, वेपत्ता नागरिकहरुको मूल्य र लाखौं जनताहरुको योगदानले नै वास्तविक सामन्तवादको अन्त्य भएको ठान्दछन् ।  राणा शासनको अन्त्य होस् या पञ्चायतको होस् वा राजतन्त्रको अन्त्य नै, यी सबै निरङकुशतन्त्रविरुद्ध ऐतिहासिक पहल कदमी हो दश वर्षे जनयुद्ध । आजको दिन राष्ट्रका लागि बलिदान दिने शहीद, वेपत्ता नागरिक, साथै जनयुद्धमा योगदान दिएकाहरुको सम्झनामा स्मरण नगरि बस्न सकिँदैन ।   

अहिले मुलुक त्यहि बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र बनेको छ । अहिले हामीले तीनै शहीदहरुको बलिदानले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र सार्वभौम जनताको हैसियतले उपभोग गरिरहेका छौं । दश वर्षे जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकोमात्र होईन, २ सय ४० वर्षे एकात्मक शासन व्यवस्थालाई समेत अन्त्य गरि दिएको छ । ती शहीदहरुलाई पनि भुल्नु हुँदैन जसले मुलुकलाइ नयाँ व्यवस्थामा लैजान आफ्नो प्राणको आहुती दिए । त्यहि बलिदानका कारण अहिले मुलकमा नेपाली जनताद्वारा लेखिएकाे संविधान जारी भएको छ । यसकालागि हजारौं जनताले आफ्नो बलिदान दिएका छन्, सयौं घाइते र अपाङ्ग भएर बसेका छन् । देशमा आमुल परिवर्तन आएको छ र यो सम्भव ती तमाम नेपाली जनताको हो जसले हरेक तवरबाट जनयुद्धलाइ सहयोग गरे ।  

अहिले समावेशिता, समतामुलक राज्य व्यवस्थामा देश अघि बढेको छ ।  मुलुकुको शासन व्यवस्थामा महिलाको पहुँच  पुगेको छ । चुलो चौकोमा मात्रै सिमित महिलाहरु अहिले राज्यका हरेक अंगमा ३३ प्रतिशतका हिस्सेदार बनेका छन् । दलित, जनजाती, पिछडा वर्ग, मुस्लिम, अल्पसंख्यक लगायतलाई आरक्षण मार्फत प्रशासनिक निकायमा पहुँच पुर्याइएको छ । पछिल्लो उपलब्धिका हिसाबले हेर्ने हो भने, राज्यव्यवस्थालाई तीन तहमा विभाजन गरिएको छ । स्थानीय, प्रादेशिक र केन्द्र सरकारको परिकल्पना अनुसार गाउँ गाउँमा राज्यव्यवस्था पुर्याइएको छ । यो व्यवस्था अनुसार अहिले जनता सानाे कामका लागि काठमाडौं नै धाउनु पर्ने समस्या झन्झटबाट मुक्त भएका छन्र । 

अहिले देशमा स्थिर सरकार छ । जसका कारण विकासका कामहरुले गति पाउने आँकलन गर्न सकिन्छ । राणाशासन होस्, पञ्चायती व्यवस्था होस् वा राजतन्त्रमा प्रत्यक्ष रूपमा जनताको मौलिक हक अधिकार हनन भएको थियो । तर अहिले जनताले आफ्नो वाक स्वतन्त्रा पाएका छन् । उनीहरु देश चलाउनेहरुलाई खबरदारी गर्न सक्छन् । यो एउटा ठूलो उपलब्धि हो जनताले पाएको ।   

जनयुद्धले ल्याएको बिकृति : 

जनयुद्धले नेपालमा दुई सय ४० वर्षे राजसंस्थाकाे अन्त्य गरि गणतन्त्र स्थापना गरेपनि अहिले गणतन्त्र भन्दा विकृती बढी ल्याएको अनुभूत हुन्छ ।विविध जाति, वर्ग, समुदायको साझा फूलवारीको रुपमा रहेको मुलुकमा अहिले जातियताका नाममा द्वन्द्व फैलाउने काम भइरहेको छ । जातिय द्वन्द्व सिर्जना हुँदा अहिले केही प्रदेशको नामाकरण  समेत हुन सकेका छैनन् ।  

अस्थिर राजनीतिका कारण मुलुककाे अर्थतन्त्र डामाडाेल अवस्थामा छ । विकास निर्माणका काम कछुवाका तालमा चलिरहेका छन् । निजी लगानीको सुरक्षा हुन नसक्दा अहिलेसम्म स्वतन्त्र व्यवसायको बाताबरण बन्न नसक्नु दुर्भाग्यपूर्ण हाे । हरेक दिन हजारौं नागरिक राेजगारीका लागि खाडि मुलुक पलायन भइरहेका छन् ।  माओवादी द्वन्द्वकालमा विस्थापित युवाहरु अझै घर फर्कन सकेका छैनन् । गाउँ अहिले युवा बिहिन छ । उजाड बनेको छ ।  

संविधान लेखनमै दश वर्ष लगाएका राजनीतिक दलले जनताले चाहेकाे परिवर्तन र विकास पाउन सकेका छैनन् । दश वर्षे जनयुद्धले एकात्मक राजसंस्था फाले पनि अहिले आएका शत्ताधारीले गाउँ गाउँमा नयाँ राजाहरु बनाउँदा जुन जोगी आएपनि कानै चिरे जस्तो भने जस्तै जनतामा चरम निराशा छाएको छ । दलहरु प्रति वितृष्णा बढेको छ ।  

अहिले  भ्रष्टाचारको जरा मात्रै होइन हाँगा पनि फैलिएका छन् । तल्लो निकाएदेखि माथिल्लो निकायसम्म नै भ्रष्टाचारको दलदलमा फसिरहेको छ । पहिला सिंहदरबारमा भ्रष्टाचार हुन्थ्यो । अहिले वडालेखि नै भ्रष्टाचार मौलाएको छ । यस्ता क्रियाकलापले जनतालाई संघीयता र गणतन्त्र घाँडो भएको छ । यी विषयहरुमा सत्ताधारीले बेलैमा ध्यान नपुर्याए परिवर्तनका विरोधिहरुले मुलुकलाई पुनः पुरानै राज्यव्यवस्थामा नपुर्याउलान् भन्न सकिँदैन । यो विषयमा परिवर्तनका पक्षधरहरुले गम्भिर समिक्षा गर्न जरुरी छ । राज्यव्यवस्थामा देखिएका असमानता, विकृति, विसंगतिलाई निमिट्यान्न पार्न जरुरी छ ।  

दश वर्षसम्म जनयुद्धमा होमिएकाहरुको अहिले विल्लिबाठ भएको छ । राज्यका माथिल्ला तहमा पुगेका बाहेक जनयुद्धमा समर्पित धेरै जनताहरू कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुराको जानकारी छैन । कति अपाङ्ग भएर जिविकोपार्जनसम्म गर्न नसक्ने अवस्थामा छन् । उनीहरुलाई न राज्यले हेरेको छ, न युद्धमा होमाउने पार्टीले नै । अझै वेपत्ता भएकाहरुको खोजि हुन सकेको छैन । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएकाहरुका लागि गठन गरिएको वेपत्ता छानबिन आयोगले स्वतन्त्र रूपमा काम गर्न सकेका छैनन ।   

जनयुद्धको अवशेष अझै बाँकी छ । जनयुद्धमा होमिएको एउटा समुह अझै क्रान्ति सफल नभएको भन्दै हतियार उठाउँदै हिँडिरहेको छ । अब पनि मुलुकमा राज्यव्यवस्थाकै निम्ति हतियार उठिरहने हो, जनताहरु दिनरात त्रासमा बाँच्नु पर्ने अवस्था रहि रहने हो भने जनयुद्धमा आफ्नो ज्यानको आहुती दिएका शहीदहरुको अपमान हुन जान्छ ।  

देश विकासमा अझै धेरै काम गर्नु जरुरी छ । ७७ वटै जिल्लामा विकासका आधारभूत काम पनि हुन सकेका छैनन् । शिक्षा, स्वास्थ्य, संचार, यातायात जस्ता विकासका आधारभूत आवश्यक्ता गाउँगाउँमा पुर्याउन बाँकी छ । त्यसको लागि केन्द्र, प्रदेश र स्थानिय तह बाटै समन्वय हुनु जरुरी छ ।   

त्यसैले अब मुलुकमा स्थायी शान्ति र स्थिर राजनीति आवश्यक छ । जसले जनताको चाहना बमोजिमका कामहरु हुन सक्छन् ।  देशमै रोजगारी सिर्जना गरि बैदेशिक रोजगारीमा पलायन भैरहेका युवा जमातलाई देशमै राख्न सक्नु पर्छ । आफ्नो घर परिवार छोडेर विदेश पलायन हुने रहर कसैको हुँदैन । त्यसका लागि सरकारी स्तरबाट पहल कदमी जरुरी छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *