पूर्वसचिब कार्की श्रीमतीको कामदारबाटै विभत्स हत्या, शिवपुरी निकुञ्जको जग्गा पनि यतिलाई कौडीको भाउमा

माघ २८, काठमाडौं । आजका पत्रपत्रिकाले पूर्व सचिब अर्जुन कार्कीकी श्रीमतीको हत्या भएको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । आज यो समाचार कान्तिपुर दैनिक, राजधानी दैनिक, गोरखापत्र दैनिक, अन्नपूर्ण पोस्ट, नागरिक दैनिक तथा नेपाल समाचारपत्रको फ्रन्ट पेजमा प्रकाशित समाचार हुन् ।   

कान्तिपुर दैनिकमा अनुसार पूर्वसचिब अर्जुन कार्कीकी श्रीमतीलाई आफ्नै घरमा काम गर्ने कामदार २२ वर्षिय विजय चौधरीले हत्या गरेका छन् । उनले कार्कीकी श्रीमतीको हत्यापछि आफुले पनि आत्महत्या गरेका छन् । कान्तिपुरले ‘हत्यापछि आत्महत्या’ शिर्षकमा समाचार प्रकाशित गरेको छ । विजय चौधरीले कार्की पत्नी मुनालाई बलात्कार गर्ने प्रयास गरेको हुन सक्ने आंकलन गरिएको छ ।   

महानगरीय प्रहरी अपराध महाशाखा र ललितपुर प्रहरी परिसरले संयुक्त रूपमा अनुसन्धान थालेका छन् । ललितपुर परिसर प्रमुख एसएसपी टेक राईले घटनास्थलमा भएका सीसीटीभीलाई आधार बनाउँदा विजयले मुनाको हत्या गरेको देखिएको बताए । ‘विजयले मुनामाथि गरेको सांघातिक आक्रमण सीसीटीभीबाट देखिए पनि आफूले पासो लगाएको देखिँदैन’, एसएसपी राईले भने, ‘हामी अनुसन्धानमै छौं ।’ पोस्टमार्टम रिपोर्ट आएपछि रहस्य खुल्ने उनले बताए । 

घटनास्थलमा खटिएका महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले मुनाको हत्या कामदार विजयले गराएको सीसीटीभीबाटै पुष्टि भएको बताए । ‘मुनाको हत्या विजयले गरेकामा दुईमत रहेन’, एसपी सिंहले भने, ‘तर, किन हत्या र्गयो भनेर हामी अनुसन्धानमै छौं ।’ मुना र विजयको शव पोस्टमार्टमका लागि प्रहरीले पाटन अस्पतालमा लगेको छ । 

नयाँपत्रिका दैनिकले भने गोकर्ण फरेस्टको जग्गासँगै नेपाल ट्रष्टको नाममा रहेका सरकारी जग्गा र सम्पत्ति कौडीको भाउमा हत्याएको यति होल्डिङले शिवपुरी राष्ट्रिय निकुञ्जको जग्गा पनि कौडीको भाउमा हत्याएको समाचार प्रकाशित गरेको छ ।   

समाचार अनुसार शिवपुरी राष्ट्रिय निकुञ्जको दुई सय १६ रोपनी जग्गा पनि यती समूहले कौडीको भाउमा कब्जा गरेको खुलेको छ । राष्ट्रिय निकुञ्जको जग्गा कुनै पनि व्यापारिक प्रयोजनलाई दिन नमिल्ने कानुनी व्यवस्थाविपरीत सो जग्गा यती वल्र्ड इन्भेस्टमेन्ट प्रालिले लिजमा लिएको छ ।   

तत्कालीन लप्सीफेदी गाविसमा पर्ने जंगल सामुदायिक वन भएकाले सरकारले २० वर्षअगाडि अमेरिकी नागरिक जेफ्री एस क्रेन र जे एन्ड्रयु क्रेनको स्वामित्वमा रहेको नेपाल वाइल्डलाइफ डेभलपमेन्ट कम्पनी प्रालिलाई लिजमा दिएको थियो । सो कम्पनीले सामुदायिक वनमा रूख हुर्काउने, बाघ पाल्ने र इको–टुरिजम प्रवद्र्धन गर्ने प्रतिबद्धतासहित ५ भदौ ०५७ मा सरकारसँग सम्झौता गरेको थियो ।   

दुई सय १६ रोपनी जग्गाको भाडा वार्षिक जम्मा ६ हजार ६ सय तोकिएको थियो र हरेक वर्ष १० प्रतिशतले वृद्धि हुने सम्झौता थियो । यो हिसाबले सो कम्पनीले ०५८ मा सात हजार दुई सय ६०, ०६० मा १५ हजार पाँच सय ६२ र ०६९ मा २० हजार सात सय १३ रुपैयाँ भाडा तिरेको थियो । ‘सरकारले पाउने रकम यत्ति नै हो,’ तत्कालीन गाविस अध्यक्ष रत्न लामाले भने, ‘हाम्रो सामुदायिक वन भएकाले गाविसलाई वार्षिक एक लाख रुपैयाँ दिने सहमति भएको थियो र केही वर्ष पैसा पनि दिएको हो, पछि दिएको छैन ।’ 

नयाँ पत्रिकाले चीनमा रहेका नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने तयारी भइरहेको समाचार पनि प्रकाशित गरेको छ । समाचार अनुसार चीनमा रहेका नेपाली ल्याउन ३ फागुनमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ पठाइने भएको छ । एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको वुहान पठाउने तय भएको हो । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाली नागरिक उद्धार गर्न आवश्यक सबै प्रक्रिया थाल्न परराष्ट्र, स्वास्थ्य, पर्यटन र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । परराष्ट्रले नेपालस्थित चिनियाँ दूतावासमार्फत चीन सरकारलाई आगामी १५ फेब्रुअरी (३ फागुन)मा आफ्ना नागरिक उद्धार गर्न चाहेको जानकारी गराएको छ । चीनस्थित नेपाली दूतावासलाई पनि परराष्ट्रले आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।   

पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई जहाज तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ । ‘३ फागुनमा चीन जान तयार रहनू भनेर पर्यटन मन्त्रालयबाट निर्देशन आएको छ,’ निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘वुहानबाट ल्याउने एक सय ८० नेपालीको सूची निगमलाई आइसकेको छ ।’ तीन क्याप्टेन र तीन पाइलटसहितको क्रु टोलीसहितको जहाज चीन जानेछ । जहाजमा सेना र नेपाल प्रहरीका दुई चिकित्सक, दुई नर्ससहितको स्वास्थ्यकर्मीको टोली हुनेछ । उनीहरूको नाम गोप्य राखिएको छ । ‘क्रु तथा डाक्टर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तय गरेको पोसाक लगाएर त्यसतर्फ जानेछन्,’ प्रवक्ता खड्काले भनिन् । 

हेर्नुहोस आजका पत्रपत्रिकाका फ्रन्ट पेज 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *