वुहानबाट शनिबार राति काठमाडौं उड्नेछन् १८७ नेपाली, यस्तो छ ‘फ्लाइट डिटेल’

फागुन १, काठमाडौं । चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्पूर्ण तयारी पूरा भएको छ । वुहानबाट उद्धार गरेर ल्याइएका नागरिकलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राख्ने गरी तयारी पूरा भएको हो ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको जानकारी दिदै नेपाल आउने नेपालीहरूलाई विमानस्थलदेखि यातायातका साधानमा लगिने बताए । क्वारेनटाइनमा समेत पाँचवटा स्वास्थ्य डेष्क रहने भन्दै उनले क्वारेनटाइनमा बसेकाहरुलाई रुघाखोकी, ज्वरोको लक्षण देखिनासाथ स्वास्थ्य डेष्कमा सम्पर्क गर्नुपर्ने बताए ।   

नेपालीलाई दूतावासको सन्देश 

चीनको बेजिङमा रहेको नेपाली दूतावासले सन्देश पठाउँदै उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । वुहानरहेका नेपालीलाई वीच्याटमार्फत तयार रहन सन्देश पठाइएको हो । 

उहानमा रहेका नेपालीहरूलाई पठाएको सन्देशमा उडानको अनुमति पाउने बित्तिकै ‘हुबेका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानमा भेला गर्नका लागि सवारीसाधन लगायतको व्यवस्थापन गरिने र त्यसका लागि समय पनि तोकिने’ उल्लेख छ । नेपाल फर्कन चाहनेहरूलाई सरकारले आवेदन दिन आह्वान गरेकामा १८७ जनाले निवेदन दिएका थिए । 

यस्तै नेपालीको उद्धार गर्न भनि पठाएको पत्र बेइजिङस्थित नेपाली दूतावासले प्राप्त गरेको छ । सरकारले पठाएको पत्रमा उद्धारका लागि पठाइने नेपाल वायुसेवा निगमको वाइडबडी जजाहको फ्लाइट डिटेल उल्लेख छ । 

सरकारले पठाएको फ्लाइट डिटेलअनुसार उहानमा रहेको नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको २ सय ७८ सिटे वाइडबडी नेपाली समयअनुसार शनिबार दिउँसो २:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहानतर्फ उड्नेछ । 

जहाज उहानमा स्थानीय समयअनुसार शनिबार राति ९ बजे अवतरण गर्नेछ । सोही रात १२  बजे त्यहाँबाट नेपालका लागि उड्नेछ । उहानका नेपाली बोकेर वायुसेवा निगमको जहाज नेपाली समयअनुसार आइतबार बिहान २:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *