देउवालाई सिटौलाको प्रश्न– ‘तपाई को हो पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोज्ने ?’


पुस २०, धनकुटा । नेपाली कांग्रेसका पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजेको आरोप लगाएका छन् ।
सभापति देउवाले बिधान लत्याउँदै अगाडी बढेका कारण पार्टीभित्र सहमति र सहकार्यको लागि अबरोध सिर्जना भएको सिटौलाले बताए ।
‘हिजोे गिरिजाप्रसाद कोइराला र सुशिल कोइराला सभापति र रामचन्द्र पौडेल कार्यबाहक सभापति हुँदा तपाईलाई सहमतिमै राखेर महाधिवेशन घोषणा गरेको हैन ? अहिले तपाई सभापति हुँदा सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउँन कस्ले रोक्यो ? तपाई को हो पार्टीभित्र जमिन्दारी प्रथा चलाउँन खोज्ने ?’ सिटौलाले सभापति देउवालाई लक्षित गर्दै भने ।
जिपी फाउण्डेशन प्रदेश–१ ले धनकुटाको मौनाबुदुकमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै सिटौलाले सभापतिको कुर्सीमा बसेर गुट र गिरोहको मात्रै सभापति नहुन देउवालाई चेतावनी दिए ।
कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइरालाले कम्युनिष्टहरु सँग लड्नुपर्ने समयमा सभापतिकै कारण कांग्रेस घरभित्रको झगडामा फसेको बताए ।
डा. कोइरालाले सभापति कांग्रेसको घरमुली भएको बताउँदै घरभित्रको फरक बिचार र असन्तुष्टीको संबोधन गरेर सबैलाई सँगै हिडाउँने काम देउवाकै भएको जिकिर गरे ।
नेपाली कांग्रेसको ईतिहाँसमा आजसम्म सहमतिकै आधारमा महाधिवेशनको मिति घोषणा भएको भन्दै कोइरालाले भने–‘अहिले आएर बहुमतको आधारमा यस्तो निर्णय हुनु पार्टीकै निम्ती दुर्भाग्य हो ।’
कार्यक्रममा तेह्रथुम कांग्रेसका सभापति गोबिन्द ढुंगाना, धनकुटा कांग्रेसका सभापति अग्नीप्रसाद पौडेल, सुनसरी कांग्रेसका सचिव सुजेन्द्र तामाङ लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा आयोजकले सिटौला र डा. कोइरालालाई एकै माला लगाइदिएका थिए ।
