मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

अमेरिकाले सुलेमानीलाई मारेर कतै इरानलाई फाइदा त पुगेन ?

पुष २४, काठमाडौं । इरानले बुधबार विहान इराकस्थित अमेरिकी सैन्य शिविर  अल असद र इरबिलमा  मिसाइल आक्रमण गरेको दावी गरेको थियो । केही समयपछि पेन्टागनले पनि यसलाई पुष्टि गरेको थियो । यस हमलामा के कति हताहत भयो भनेर न त इरानले पुष्टि गर्यो न त अमेरिकाले नै ।   

इरानले अघिल्लो हप्ता अमेरिकाको ड्रोन आक्रमणमा मारिएका आफ्ना शीर्ष सैन्य कमाण्डर कासिम सुलेमानीको बदलामा यो कदम उठाएको हो ।   

सुलेमानी इरानमा सर्वाेच्च धार्मिक नेता आयतुल्लाह अली खामेनेई पछि लोकप्रिय व्यक्तिको रुपमा मानिन्छन् । सुनेमानीको मृत्युमा पुरा ईरान एक जुट भएको छ ।   

सुलेमानी

सुलेमानीको मृत्यु र इरानको जवाफी आक्रमणपछि मध्यपूर्वको अवस्था थप तनावपूर्ण छ । यस स्थितिको असर विश्वभर पर्न सक्छ । किनभने विश्वमा कुल आवश्यकताको एकतिहाई तेल मध्ये पूर्वबाट नै आउने गर्छ ।   

किन उत्पन्न भयो आज यस्तो स्थिति ? 

जब डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए त्यहीबेला देखिनै इरानको विरुद्ध उनी आक्रामक भएका छन् ।  ट्रम्पले इरानलाई पश्चिमी राष्ट्रसँग नयाँ आणविक सम्झौता गर्न दवाव दिन थालेका थिए ।   

इरानले प्रस्ताव अस्वीकार गरेपछि, ट्रम्पले एकतर्फी रुपमा सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिकालाई बाहिर निकाले । त्यसपछि आर्थिक प्रतिबन्ध, धम्की, छद्म युद्धको सिलसिला शुरु भएको थियो ।   

यसले गर्दा आज यी दुई देश र पुरै विश्वमा तनाव उत्पन्न भएको छ ।   

‘अमेरिका र इरानबीचको तनावको सिलसिला इरानको इस्लामिक क्रान्तिपछिबाट सुरु भएको हो । सन् १९७९ अघिसम्म इरान मध्य–पूर्व क्षेत्रमा अमेरिकाको प्रमुख सहयोगी राष्ट्र थियो । तर इस्लामिक क्रान्तिपछि अमेरिकासँग उसको सम्बन्ध निक्कै खराब भयो ।’ डेलवेयर युनिभर्सिटीका प्रध्यापक मुक्तदर खानले भने । 

तर इरानमा अमेरिकी विरोधी भावनाको विउ सन् १९५३ अगस्टको ‘कू’मै रोपिएको थियो ।   

‘उक्त समय अमेरिकाले निर्वाचित प्रधानमन्त्री मोहम्मद मुसाद्दिकलाई हटाएर राजालाई शक्ति फर्काएको थियो । तिनले लोकतन्त्र मासेर राजाको शक्ति स्थापित गरिदिए ।’ खानले भने । 

तर इस्लामिक क्रान्तिले अमेरिका समर्थित मोहम्मद रेजा पल्लवीलाई सत्ताबाट हटाएयताका वर्षमा लगातार अमेरिकामाथि इरानमा सत्ता परिवर्तनको कोसिसको आरोप लागिरहेको छ ।  इस्लामिक क्रान्तीपछि सरकार गठन भएको एक वर्षभित्र सद्दाम हुसेनले इरानमाथि युद्ध घोषणा गरे । युद्धमा अमेरिकाले हुसेनको इराकलाई सघायो ।   

‘अमेरिका दशकौंदेखि इरानमा सत्ता परिवर्तनको कोसिसमा छ । जबकि इरान मध्य–पूर्वमा अमेरिकाको प्रभुत्व अन्त्य गर्ने र प्यालेष्टाइनी क्षेत्रबाट इजरायलको नियन्त्रण हटाउने कोसिसमा छ ।’ प्रद्यापक खानले भने ।   

खानका अनुसार यही प्रतिद्वन्दिताको लामो सिलसिलामा सुलेमानीको मृत्यु पुगेको हो ।   

सुलेमानीको मृत्युको असर 

जनरल कासिम सुलेमानीको लोकप्रियता उनको मलामीमा उपस्थित विशाल भिडले पनि संकेत ग-यो । कासिम सुलेमानी इरानको इस्लामिक रिभोलुसनरी गार्डस्को कुद्स फोर्सको नेतृत्व गर्थे । उनी इरानका सैन्य गुप्तचरीसँग जोडिएका काम सम्हाल्थे ।   

मध्यपूर्वमा बढ्दो इरानको प्रभावको श्रेय जनरल सुलेमानी र कुद्स फोर्सलाई दिइन्छ । सुलेमानीको मृत्युपछि इरानमा आक्रोस र रिसको माहोल छ । तर के मृत्युले इरानलाई धेरै असर गर्छ ? 

निश्चय नै इरानले एक लोकप्रिय व्यक्ति गुमाएको छ । तर उनको मृत्युले इरानले के गुमायो र अमेरिकाले के हासिल ग¥यो ? प्रद्यापक मुक्तदर खानलाई सुलेमानी सम्बन्धमा अमेरिकाको रणनीति केही अजीब लाग्छ ।   

मुक्तदर खान भन्छन् ,‘ अल कायदाका प्रमुख ओसामा बिन लादेन र आइएसको अबु बकर अल–बगदादीको मार्ने कुटनीति महत्वपूर्ण थियो । त्यसले तिनको संगठन कमजोर पारेको छ । तर सुलेमानीको मृत्युले त्यति फाइदा हुनेछैन । एक हिसाबले उनको अवसान कुनै गम्भीर बीमारीले उनी बितेजस्तो वा समयअघि नै अवकास लिएजस्तो हो । तिनको स्थान नयाँ जनरलले लिएका छन् र हुन सक्छ इरानको लागि सुलेमानीभन्दा उत्तम साबित हुन सक्छन् ।’ 

‘सुलेमानीको मृत्युबाट इरानको रिभोलुसनरी गार्डसलाई धक्का लागेको छैन । उसको क्षमता पनि फरक आएको छैन । सुलेमानी कुनै राजनेता पनि थिएनन् , त्यसले गर्दा उनको मृत्युमा देशले दिशा गुमाउने छैन । यसबाट अमेरिकालाई रणनीतिक रुपमा कुनै फाइदा हुदैन । उल्टो यसले इरानीलाई एकतावद्ध गरिदिएको छ । प्रतिबन्धबाटै क्रुद्ध ती आफ्नो सरकारको साथमा उभिन पुगेका छन् । यस हिसाबले यसलाई समझदारीपूर्ण फैसला भन्न सकिदैन ।’ 

किन उठाइयो पुनः यो कदम ? 

जब सुलेमानीमाथिको आक्रमणले इरानको हतियार, उसको क्षमतामा नोक्सानी पुगेन भने अमेरिकाले यो कदम किन उठायो ? जेरुशेलममा बस्ने वरिष्ठ पत्रकार हरेन्द्र मिश्राको विश्वासमा यो कारबाहीमार्फत अमेरिकाले आफ्नो महत्वपूर्ण सहयोगी देश इजरायलीको विश्वास जितेको छ । 

उनी भन्छन् ,‘इजरायलले आफू विरुद्ध भएका अधिकाशं आक्रमणमा सुलेमानीको हात देखेको छ । इजरायली सरकारले सुलेमानीको हत्याको समर्थन गरे । इजरायलमा पछिल्लो समय अमेरिका उसको सुरक्षाको लागि जुनसुकै हदसम्म जान तयार हुदैन भन्ने भावना बढ्दै गएको थियो । तर यो कारबाहीपछि मानिसलाई इरानविरुद्धको लडाईंमा इजरायल एक्लो हुने छैन, अमेरिकाको साथ हुनेछ भन्ने परेको छ ।’ 

सुलेमानीलाई मार्ने फैसला गर्नुपछाडि अमेरिकामा केही आन्तरिक कारणको पनि चर्चा भइरहेको छ । त्यसमध्ये नजिकिदै गरेको राष्ट्रपतिय चुनाव र डोनाल्ड ट्रम्पमाथि चलिरहेको महाभियोग पनि सामेल छ ।   

प्राध्यापक मुक्तदर खान भन्छन् ,‘सन् २०१५ मा ट्रम्पले १५–२० पटक ट्वीट गरेर ओबामाले डेमोक्रेटलाई जिताउनको लागि इरानसँग युद्ध गर्न लागेको उल्लेख गरेका थिए । अहिले आएर ट्रम्पले उही खेल खेल्न लागेको देखिन्छ । ट्रम्पले इरानसँगको युद्धले चुनाव जित्न सहज पार्ने र अर्को युद्धको अवस्थामा आफूमाथिको महाभियोग मुद्दा ओझेलमा पर्ने विश्वास गरेको हुनुपर्छ ।’ 

‘महाभियोगको एजेण्डलाई ओझेलमा पार्न र चुनावमा रुढिवादी मतदाताको समर्थन हासिल गर्नको लागि ट्रम्पले यस्तो कदम उठाएको चर्चा छ ।’ मुक्तदर खानले भने । 

अमेरिकाले कुर्दस् फोर्स र सुलेमानीलाई आतंकवादी घोषणा गरेको थियो । मध्येपूर्व खासगरि इराकमा कयौं अमेरिकी मारिनुमा सुलेमानीको हात रहेको अमेरिकाले बताउँदै आएको छ । कासिम सुलेमानीको मृत्युको खबर आउने वित्तिकै अमेरिकाको रक्षा मन्त्रालयले यो कदम राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा उठाइएको बताएको थियो ।  

बीबीसीको सहयोगमा  

प्रतिकृयाहरु
Loading...