दिल्लीको जेएनयु हिंसामा घाइतेसहित १९ जनामाथि मुद्दा दायर

पुस २२, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा भएको हिंसाका सम्बन्धमा घाइतेसहित १९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । 

समाचार एजेन्सीहरुका अनुसार जेएनयु छात्र संघका अध्यइा आइशी घोषसमेत १९ जनाविरुद्ध मुद्दा दर्ता भए पनि कसैको गिरफ्तारी भएको छैन । यसैबीच हिन्दु रक्षा दलले हमलाको जिम्मेवारी लिएको छ । सो दलका तर्फबाट पिंकी चौधरीले हमलाको जिम्मेवारी लिएको बताइन्छ । 

हिंसाको छानविनका लागि दिल्ली प्रहरीको क्राइम ब्रान्चको टिम जेएनयु पुगेको छ । यस्तै, अर्थशास्त्री तथा जेएनयुका प्रोफेसर सीपी चन्द्रशेखरले विश्वविद्यालयमा विकसित परिस्थितिका कारण आर्थिक तथ्यांकको समीक्षा गर्ने सरकारी कमिटीबाट राजीनामा दिएका छन् । 

प्रहरीका अनुसार आइतबार भएको घटनाका सम्बन्धमा एउटा उजुरी दर्ता भएको छ । आइतबार उक्त विश्वविद्यालयमा अनुहार छोपेर प्रवेश गरेको एक समूहले विद्यार्थी तथा शिक्षकमाथि हमला गरेको थियो । उक्त समूहले होस्टेलमा तोडफोडसमेत गरेको थियो । 

करिब अढाइ घण्टासम्म उक्त समूहले विश्वविद्यालय परिसरमा आतंक मच्चाएको थियो । 

यस क्रममा छात्र संघका अध्यक्ष आइशी घोषसमेत कयौं घाइते भएका छन् । समाचार एजेन्सीहरुका अनुसार ३५ जनाभन्दा बढी घाइते भएका छन् । तीमध्ये २३ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *