मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सहकारी मार्फत् उदाहरणीय काम गर्दै मुक्त कम्लहरी

पुष २८, भीमदत्तनगर । कुनै बेला साहुजनको घरमा काम गरेर जीविकोपार्जन गर्ने मुक्त कम्लहरीले पुनःस्थापनापछि समाजमा देखाएको अग्रसरताले कञ्चनपुरको बेलौरी नगरपालिका–३ पडावका महिलाको दिनचर्या फेरिएको छ । 

गाउँका ५७ जना मुक्त कम्लहरी एकजुट भएर सहकारी स्थापना गरेर जीविकोपार्जनका लागि कृषि, खुद्रा पसल, च्याउ खेती, बाख्रापालन र माछापालनलगायत आयमूलक काममा लागेका स्थानीय महिलाले सहकारीमार्फत नै गाउँमा उदाहरणीय काम गरिरहेका छन । 

सात वर्षअघि गाउँमा सम्झना महिला कृषि सहकारी संस्था स्थापना गरेर आयमूलक काम थालेका मुक्त कम्लहरीलाई अहिले गाउँका अन्य महिलासमेतले साथ दिएका छन् ।   

‘शुरुआत हामी मुक्त कम्लहरीले ग¥यौँ’, सहकारीका अध्यक्ष कमला चौधरीले भनिन्, ‘गाउँका विपन्न परिवारका महिलालाई पनि आयमूलक व्यवसायमा लगाउन प्रेरित गर्ने उद्देश्यले सहकारीमा सेयर सदस्य २७९ जना महिला पु¥यायौँ ।’ मुक्त कम्लहरीसमेत रहेकी अध्यक्षले हाल सहकारीमार्फत रु २९ ५० हजारको कारोबार सम्हालेको बताए । ‘शुरुआतमा मासिक बचत रु पाँचबाट थालेका थियौं’, उनले भनिन् ‘अहिले समूहबाटै किसानलाई ऋण लगानीदेखि मलखादसम्म गाउँमै उपलब्ध गराइरहेका छौँ ।’ 

सहकारीबाट ऋण लिएर महिला तरकारी खेती, च्याउ खेती र माछा पालनदेखि विभिन्न व्यापारमा संलग्न रहेका छन् । ‘जीवनका धेरै वर्ष घरको चुलोचौको मै बितायौ’, चौधरीले भनिन्, ‘सहकारीमार्फत कृषिमा लाग्दा अहिले अरुको भर पर्नुपरेको छैन ।’ 

त्यसैगरी सहकारीमा आवद्ध मुक्त कम्लहरी गीता चौधरीले आफ्नै व्यवसायमा सक्रिय हुँदा अरुको काम गर्न जान रोकिएको बताइन् । ‘पहिले गाउँका महिला मिलेर सीमावर्ती भारतीय किसानसमेतको काम गर्न जान्थ्यौँ’, उनले भनिन्, ‘अहिले आफैंले उत्पादन गरेको तरकारी विक्री वितरणमा जुटेका छौँ ।’ 

उक्त सहकारीसित गाउँका दश वटा कृषि समूह आबद्ध रहेका छन् । सहकारी अध्यक्ष चौधरीले गाउँमा रु २२ लाख २४ हजार ऋण लगानी गरिएको बताइन् । ‘रु पाँच लाख सहकारीमा बचत छ’, चौधरीले भनिन, ‘सदस्यले आयमूलक कामका लागि सहुलियतमा ऋण सुविधा पाइरहेका छन् ।’ 

त्यसैगरी मुक्त कम्लहरी सुनिता रानाले सहकारीमा आवद्ध मुक्त कम्लहरी आयमूलक काममा व्यस्त रहेको बताइन् । ‘गाउँका करिब ४२ परिवारमा मुक्त कम्लहरी रहेका छन्’, रानाले भनिन्, ‘मुक्त भइसकेपछि प्रायः सहकारीमा आबद्ध भएर गाउँमा सक्रिय नै छन् ।’ 

विसं २०७० सालमा यहाँको देखतभुली गाउँमा दुई वर्ष कम्लहरी बसेकी रानाले कक्षा ७ सम्मको शिक्षा हासिल गरे पनि सहकारीको व्यवस्थापनमा अब्बल रहेकी छिन् । ‘घरको अवस्थाले कम्लहरी बसेँ”, रानाले भनिन्, ‘अहिले अवस्था सामान्य छ ।’ 

उनले मुक्त कम्लहरी विकास मञ्चको सहयोगमा गाउँका मुक्त कम्लहरीले नास्ता बनाउने तालीमसमेत लिएको जानकारी दिए । ‘तालिम लिएका मध्ये ६ जनाले अहिले गाउँमै नास्ता पसल सञ्चालन गरेका छन्, आयमूलक काममा लाग्न सीपमूलक तालिम पाउँदा पनि सहजता मिलेको छ’, उनले भनिन् । 

सहकारी स्थापनादेखि विभिन्न प्राविधिक विषयमा सहयोग गर्दै आएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लूए० कञ्चनपुरले जीविकोपार्जन कार्यक्रममार्फत सहकारीलाई रु पाँच लाख अनुदान रकम उपलब्ध गराएको जनाएको छ । 

सङ्घका संयोजक राजकुमार सुनारले मुक्त कम्लहरीलाई समाजमा पुनःस्थापन र आत्मनिर्भर बनाउन सहयोग गरिएको बताए । ‘त्यहाँ आयमूलक काममा लागेका महिला किसानलाई अहिले कृषि ज्ञान केन्द्र र स्थानीय तहसमेतले सहयोग गरिरहेका छन्’, सुनारले भनिन्, ‘अझै लक्षित वर्गसम्म आयमूलक व्यवसायमा अग्रसरता गराउन आवश्यक छ ।’ 

रासस 

प्रतिकृयाहरु
Loading...