चीनमा कोरोना भाइरसबाट ५ सय ७१ जना संक्रमित

माघ ९, एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमणका बिरामीको सङ्ख्या ५७१ जना पुगेको जानकारी चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका छन् । बुधबार साँझसम्म चीनका अधिकारीहरुले उक्त संक्रमणबाट विरामी हुनेहरुको सङ्ख्या ५७१ पुगेको स्वास्थ्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।   

कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियमन गरिएको छ ।   

चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको संक्रमण फैलिएको छ । स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको बताएको छ ।  यसका साथै मानिसहरुको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।   

हुबेई प्रान्तमा नै यसबाट धेरैको ज्यान गएको छ । चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसबाट हुबेई प्रान्तमा नै १७ जनाको ज्यान गएको जानकारी दिएका छन् । मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेको पनि जनाइएको छ । यो संक्रमणको संख्यामा करिब ५ हजार ९०० जनालाई उपचारार्थ भर्ना गरिएको थियो ।   

यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको बताइएको छ ।  चीनको वुहानको जनसंख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त संक्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ ।   

बुधबार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको संक्रमण भेटिएको हो । 

त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।  दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस संक्रमणका एक–एक जना भेटिएका छन् । सिन्ह्वा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *