चितवन राइनोज पोखरा प्रिमियरको फाइनलमा


पुष ८, पोखरा । पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेल वारियर्सलाई पराजित गर्दै चितवन राइनोज फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरले पराजित गरी चितवन फाइनलमा प्रवेश गरेको हो ।
साविक उपविजेता राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काको टोली चितवनले लिग चरणका पाँचै खेलमा अपराजित रहँदै समूह विजेता बनेर १० अङ्क जोड्न सफल भएको छ । चितवनसँगको पराजयसँगै राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको टोली प्लेअफ खेल्नका लागि बुधबार बुटवल र विराटनगरबीचको खेलको नतिजामा निर्भर रहेका छन् ।
खेलमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवनले पूरै ओभर खेल्दै चार विकेट गुमाएर १६७ रनको स्कोर खडा गरेको थियो । प्लेअफमा स्थान सुरक्षित गर्नका लागि १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ २० ओभरमा पूरै विकेट गुमाउँदै १०७ रनमा समेटिएको थियो ।
