मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

म एउटी छाउपडी रिपोर्टर ! जब उनले भनिन् – दिदी यो समाजले मलाई बाँच्न नदिने भयो…….

मंसिर २१, काठमाडौँ । म कान्तिपुरको अछाम संवाददाता हुँ, तर यहाँ मलाई धेरैले ‘छाउपडी रिपोर्टर’ भन्दै जिस्क्याउँछन् । खासमा जिस्क्याउने मात्र गर्दैनन्, कहिलेकाहीं गाली गर्छन् र धम्क्याउँछन् पनि । अब त यस्ता घटना सामान्य भइसक्यो ।   

मैले यहाँ छाउगोठमा दुःख पाएका, मृत्यु भएका महिलाहरूका बारेमा समाचार लेख्दै आएकी छु । लेख्न त अरू विषयमा पनि लेख्छु तर छाउपडी कुप्रथाविरुद्ध धेरै लेख्ने गरेकाले होला, मलाई यहाँ छाउपडी रिपोर्टर भनेर होच्याउने गरिएको । तर, कुनै बेला आफैं छाउगोठमा बस्नु परेकाले मलाई यसको दुस्ख–पीडा थाहा छ । खासमा त्यसैले ऊर्जा दिइरहन्छ यसबारे लेख्न–बोल्न । 

तर यो काम सजिलो भने छैन । छाउपडीको समाचारले अछामको बदनाम भयो भन्दै कतिपय राजनीतिक नेता, कर्मचारी र जनप्रतिनिधिले आपत्ति प्रकट गर्छन् । हतोत्साह बनाउन पनि खोज्छन् । अछाममा पछिल्लो दशकमा १४ जना महिला तथा किशोरीले महिनावारी हुँदा छाउपडी गोठमा बसेको अवस्थामा ज्यान गुमाउनुपरेको छ । अरू हजारौं दिदीबहिनीले दुस्ख भोगिरहेका छन् । अब भन्नुस्, म छाउपडीविरुद्ध लेखूँ कि नलेखूँ रु 

null

छाउप्रथा हटाउने राजनीतिक नारा घोषणामै सीमित भइरहेको समाचार थुप्रै लेखे पनि छाउगोठमा ज्यान गुमाएकी महिलाबारे घटनास्थलमै गएर राम्रोसँग रिपोर्टिङ गर्न पाएको पहिलो घटना तिमिल्सैनकी २१ वर्षीया डम्बरा उपाध्यायको थियो । दुर्ई वर्षअघि महिनावारी भएर छाउगोठमा बसेका बेला उनको निसासिएर मृत्यु भयो । 

डम्बराको दुस्खान्तको स्थलगत रिपोर्टिङ लेख्दा मेरा औंला काँपेका थिए । आफूजस्तै दिदीबहिनीले यो कुप्रथाका कारण ज्यान गुमाउनु परिरहेको घटना त्यसपछि मैले नजिकबाट देख्न थालेँ । छ महिनाअघिको एक घटनाले भने मलाई अझै छोइरहन्छ ।   

गत जेठ २७ गते छाउ बार्न छाउपडी गोठमा बसेकी तुर्माखाँद गाउँपालिका–४, जुयगाउँकी १८ वर्षीया पार्वती बुढाको सर्पले डसेर मृत्यु भयो तर गाउँले, जनप्रतिनिधि, स्थानीय स्वयंसेविकालगायतले छाउगोठमा बस्दा मृत्यु भएको कुरा लुकाउनुपर्ने सल्लाह गरे । पार्वतीसँगै सुतेकी उनकी बहिनी राधिकालाई सत्य कुरा नखोल्न सबैले दबाब दिए । नातागोता, चिनजान र इष्टमित्र कसैलाई पार्वतीको अनुहारसमेत हेर्न नदिई गाउँलेले हतारहतार अन्तिम संस्कार गरिदिए । 

मिडियालाई सर्पले टोकेर मृत्यु भएको भन्ने जानकारी दिएर छाउगोठमा ज्यान गएको कुरा बाहिर आउँदैन भन्ने त्यहाँका जनप्रतिनिधिलगायत सरोकारवालाको बुझाइ थियो । त्यो समाचार सुनेर मेरो मनमा चिसो पस्यो । कतै पार्वतीको छाउगोठमै ज्यान गएको त होइन भन्ने कुराले पिरोल्न थाल्यो । त्यही बेला मैले पार्वतीकी दिदी प्रेमकलाबारे थाहा पाएँ । 

प्रेमकलालाई महिनावारी हुँदा महिलालाई गोठमा राख्ने चलन नै चित्तबुझ्दो रहेनछ । त्यसमाथि आफ्नै बहिनी छाउगोठमा मारिएको र गुपचुप अन्तिम संस्कार गरिएकामा उनलाई पीडाबोध भएको रहेछ । फेसबुकलाई धन्यवाद ! प्रेमकलाले आफ्नो मनको बह पोख्दै त्यसमा एउटा स्टाटस पोस्ट गरिन् । अनि मैले उनीसँग म्यासेन्जरमा कुरा गर्न थालेँ । 

समाज एक भएको बेला त्यसविरुद्ध उभिने साहस बटुल्न प्रेमकलालाई सजिलो थिएन । मैले उनको फोन नम्बर मागेँ । अचेल गाउँगाउँमा मोबाइल पुगेपछि सम्पर्क गर्न सजिलो हुन्छ । फोनमा हाम्रो झन्डै ४५ मिनेट कुराकानी भयो । त्यसपछि उनले पार्वतीको छाउगोठमै ज्यान गएको कुरा विस्तारमा बताइन् । छाउगोठमा ज्यान गएको सबैले थाहा पाए गाउँको बेइज्जत हुन्छ र परिवारका सदस्यलाई प्रहरीले लैजान्छ भनेर हतारहतार पार्वतीको दाहसंस्कार गरिएको सबै घटना दिदी प्रेमकला बुढाले सुनाइन् । 

पार्वतीको छाउगोठमा मृत्यु भएको विस्तृत समाचार कान्तिपुरमा प्रकाशित भएपछि हल्लीखल्ली भयो । 

पार्वतीको गाडेको शव निकालेर जिल्ला सदरमुकाममा पोस्टमार्टम गराउनु भन्दै प्रहरी, प्रशासनलाई केन्द्रबाटै दबाब आयो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।  

प्रतिकृयाहरु
Loading...