स्वतन्त्र नागरिक समाजले मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्ने

कार्तिक २९, काठमाडौं । नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउनको लागि स्वतन्त्र नागरिक समाजले आगामी मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्ने भएको छ । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र नागरिक समाजले उक्त सत्याग्रहमा समाजका संयोजक हेमविक्रम सिलवाल बस्ने जानकारी दिएको छ । सत्याग्रह बिहान ८ बजे काठमाडौंको शान्तिवाटिकामा सुरु हुनेछ ।   

समाजद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो देशलाई यस भयानक आर्थिक–राजनीतिक संकटको दलदल र असफल राष्ट्र हुनबाट समयमै जोगाउन हामी यही २०७६ साल मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्न बाध्य हुनुको विकल्प नरहेको कुरा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जानकारी दिँदै स्वतन्त्र नागरिक समाज सारा स्वदेश तथा विदेशमा रहनु भएका आम नेपाली जनतालाई यो देशको धर्म, संस्कृति, मूल्य मान्यता अनि परम्परा जोगाउन, देशमा संवैधानिक राजतन्त्र तथा हिन्दू अधिराज्य स्थापना गर्न पहिला सबै नेपाली भएर सोचौं र यस सत्याग्रहमा बृहत्त सहभागी जनाई आफ्नो दायित्व निर्वाह गरी सफल पारिदिनु हुन हार्दिक अनुरोध तथा आह्वान गर्दछौँ ।’ 

खबरदारीको कारण सरकार सुध्रिने कुनै लक्षण नदेखिएको र जनताको आवाजलाई बेवास्ता गरिएको आरोप लगाइएको छ । 

समाजले आफ्नो स्थापनाकालदेखि नै जनताको मौलिक हकहितका कुरा, भ्रष्टाचार विरोधी, प्रेस तथा वाक स्वतन्त्रता, गरिबी निवारण, देशमा राजनीतिक स्थिरता र राष्ट्रिय एकताको लागि राजसंस्था र नेपाललाई हिन्दू अधिराज्य स्थापना गर्ने सम्बन्धमा आवाज उठाई आएको जनाएको छ ।   

समाजका संयोजक हेमविक्रम सिलवालले फाष्ट ट्रयाकको नाममा २०७२ सालको संविधान जारी गरिएकोले उक्त संविधानलाई मुलुकले नचिनेको आरोप लगाए । उक्त संविधानले नेपाली जनताको हकअधिकार पनि सुरक्षित नगरेको दाबी गर्दै उनले समाजले वर्तमान सरकार गठन भएपछि देशमा बेरोजगारीको समस्या विकराल भएको, लुटपाट, बलात्कार र हत्याहिंसाकाजस्ता जघन्य अपराध बढ्दै गएको, मानवअधिकार हनन् भएको, न्यायलयमा हस्तक्षेप बढेको तथा राज्यबाटै संस्थागत भ्रष्टाचार भएको, शीर्ष नेतृत्वबाटे अनैतिक काम भएको आरोप लगाए ।   

त्यस्तै बरिष्ठ पत्रकार प्रेम कैदीले मुलुकको अर्थतन्त्र अहिले डामाडोल भएको सुनाउँदै भारतसँगमात्रै १६÷१७ खर्ब व्यापार घाटा रहेको बताए । विगतमा कांग्रेस सरकारमा हुँदा चार सयभन्दा बढि कलकारखाना सखाप पारेको उनको आरोप छ । उनले स्वतन्त्र नागरिक समाजको माग र सत्याग्रहप्रति आफ्नो साथ रहेको पनि बताए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *